Tanahun Awaj
Uncategorized

पूर्कोट चन्दनीको घाँटु नाँचको सम्झना

हरिमान श्रेष्ठ

तनहुं भानु–७, साविक बसन्तपुर-८, चन्दनी नजीकै कोट गाउँमा गुरुङहरुको बस्ती छ। यस गाउँको गुरुङहरुको अरु जातिको भन्दा छुट्टै धार्मिक, सामाजिक र सँस्कृति छ। सँस्कृतिहरु मध्येमा एउटा हो घाँटू नाच। यहाँ यो नाच माता तीर्थ औंशीदेखि सुरु गरिन्छ। यहाँ दिन भर काम गरि साँझ खाना खाइओरी घरको कामकाज भ्याई १५ दिन सम्म सिकाइन्छ। साना साना कन्याहरु नाच्न छानिन्छ र एक जना राजा र एक जना रानी बनाइन्छ। यिनीहरुलाई सिंगारेर पुजा गरी राम्रो बनाइन्छ । घाँटू गीत परशुराम राजा र चम्पावती रानीको कथाको आधारमा गाइन्छ। यस्ता गीतहरुमा नाच्दानाच्दै राजारानी दुवैलाई देवी चढ्छ र दुवैको आँखा बन्द छुन्छ भन्ने किमबन्दती छ। गीतका गायकहरु पनि कारुणिक र हृदय विदारक भई शोकाकुल अवस्था सिर्जना हुने गरि गाउँदा दर्शक समेत धुरुधरु रुने अवस्था आउँछ ।हाम्रो यस गाउँमा नाचिने घाँटू सतीघाँटू नाच हो। यस नाच नाच्ने घरआगन सुबेदार बाजेको हो। हाल यो घर पुरानो भई भत्केकोले कुनै निशानानै छैन। अहिलेको रोधीको भवन तथा आमा समूहको भवनमा भोज खाने चलन छ।यो नाचमा एक जना गुरूबा वा गुरूआमाको निर्देशनमा हुन्छ। गुरूबाले गितबाटै मंगल चरण गाई घाँटू देवी जगाउने, नृत्य सिकाउने, सती जगाउने, सती ढलाउने आदि काम गर्दछन्। यो नाच बैसाख पूर्णिमा अर्थात् चण्डी पूर्णिमाको भोलिपल्ट चन्दनी बजारमा प्रदर्शन पनि गराइन्छ । यस समयमा पनि केही दर्शक समेतलाई घाँटूदेवी चढ्ने गर्दछ। यो नाच्दा खैजेडीको ताल वा गीत बिग्रियो भने नर्तकीहरु वेहोश भइरहने विश्वास गरिन्छ। त्यस पछि छिट्टै दिन पारेर घाँटू धुरिन्छ। यसैको उपलक्ष्यमा खेतको रोपाईं शुरू नहुंदै धेरै टीम देशालीहरु, गाउँका संपूर्ण इष्टमीत्र, छरछिमेकलाई आमन्त्रण गरी घाँटूको खाने खुवाउने गरिन्थ्यो। आजभोलि वसाईं सराईको कारणले यस्ता हाम्रा अमूल्य सँस्कृति लोप हुने हो कि ?

Related posts

राष्ट्रसंगै हाम्रो सम्मान बढ्छः नेपाल

admin

कष्टकर छ माइक्रो बसको यात्रा

admin

MOTHER TONGUE

admin