25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

त्यो पर्दैन

छविदीप आले [email protected]

‘अँ….. त्यो पर्दैन’, यो वाक्याँश मानिसले आफ्नो जिवनकालमा कुनै न कुनै समयमा कुनै न कुनै परिस्थितिमा प्रयोग गरेकै हुन्छ । हामी मध्ये अधिकाँशमा आफूलाई कम महत्वपूर्ण लागेको काम वा कुरालाई अँ…… त्यो पर्दैन भनेर टार्ने बानी हुन्छ । अझ अलि बढी अल्छि स्वभावका मानिसहरुमा त गर्नै पर्ने काम पनि अँ…त्यो त पर्दैन होला भनेर टार्ने प्रबृत्ति हुन्छ । जे होस् सारमा कुरा चाहि के हो भने मानिसमा आफूले कम आवश्यक ठानेको कम महत्व दिएको काम कुरोलाई त्यो गर्नु पर्दैन भनेर टार्ने वानी लगभग सबैमा नै हुन्छ ।
कुनै पनि काम अथवा कुरालाई त्यो पर्दैन भनिनु सामान्य कुरा हो । त्यो पर्दैनः अर्थात त्यो त्यति आवश्यक काम होइन, त्यतिधेरै महत्वपूर्ण छैन । तर पछिल्लो समय ‘त्यो पर्र्दैन’ भन्ने वाक्याँशले एउटा छुट्टै उचाई लियो, बेग्लै चर्चा पायो । सन्दर्भ हो प्रधानमन्त्रीको सपथ ग्रहण समारोहको । प्रधानमन्त्री केपी शर्मा ओली सदनमा विश्वासको मतमा पराजित भएपनि माधव कुमार नेपाल भनिनेहरुको ढाँड सुम्सुम्याउन र चित्त बुझाउन भने सफल हुनुभयो । जसले गर्दा नेपाली जनताले फेरी पनि उनै ओलीलाई सरकारको कार्यकारी प्रमुखको रुपमा स्वीकार गर्न वाद्य हुनुप¥यो । माधवकुमार त्यही पात्र जसले थोरै समय अगाडि मात्र खुलम्खुल्ला त्यो केपि ओली भनाउँदोसंग अब हात मिलाउन गईदैन । अब फेरी मिसिन्छ भनेर कसैले नसोचे हुन्छ भनेर गफ छाँटेका थिए । कुनै समय प्रचण्डसंग काँध मिलाएर हामी यहाँ छौं भन्दै सडकमा रोईला गरेर हिडेका थिए । अहिले प्रचण्डलाई सदनबाट सडकमा ल्याई पु¥याएर आफू भने लुरुक्क परी ओलीको शरण लाग्न पुगे । माधवकुमारको नाममा मात्र नेपाल रहेछ, मनमा चाहि रहेनछ । तिनै कुटिल पात्र माधवकुमारको साथ र सहयोगले गर्दा विश्वासको मतमा पराजित भैकन पनि खड्गप्रसाद ओलीलाई पुनः नेपालको ४३ औं प्रधानमन्त्री हुने सुअवसर प्राप्त भयो । तर प्रधानमन्त्री भएलगत्तै उनले सपथ ग्रहण समारोहमा जुन व्यवहार देखाए, त्यसले उनको दम्भ र अहंकार झनै बढेको कुरा स्पष्ट बताउँथ्यो । कुनै पनि सार्वजनिक पदमा बसेको व्यक्तिले सपथ ग्रहण गराउनेले भनेको कुरा हुबहू दोहो¥याउनु पर्दछ । यो सपथ लिने व्यक्तिको नैतिक धर्म, कर्तब्य हो । तर नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिई रहँदा ओलीले यो चलन र नियमको ठाडै उलंघन गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराई रहँदा, उनले इश्वर र प्रतिज्ञा शब्दको उच्चारण गर्न मानेन् । इश्वर शब्दको त उच्चारण मात्रै गरेनन् । प्रतिज्ञा गर्दछु भन्ने समयमा उनले ठाडै त्यो प्रदैन भन्न भ्याए । आफू कम्यूनिष्ठ विचारधाराको भएको हुँदा र कम्यूनिज्मले इश्वर भगवान धर्म जस्तो कुरा नमान्ने हुँदा यस्तो शब्द उच्चारण गर्न नखोज्नुलाई थोरै सहज रुपले बुझ्न पनि सकिएला । तर नेपालको प्रधानमन्त्री भएर नेपालीको नाममा प्रतिज्ञा गर्नुपर्दा ‘त्यो पर्दैन’ भन्नुलाई कसरी सहज रुपमा लिने ? कम्यूनिज्मको कुन सिद्धान्तले सिकाउँछ यस्तो कुरा ? हुन त घर घरमा शिबलिङ्ग स्थापना गर्ने, ठोरीमा राममन्दिर बनाउने, पशुपतिमा सुनको जलहरी राख्ने तर सपथ लिंदा इश्वर भन्न नरुचाउने कम्यूनिष्ठहरुलाई कति साँचो कम्यूनिष्ठ मान्नु, कति देखावटी मान्नु ? अझ दिग्दार लाग्दो कुरा राष्ट्रको प्रथम व्यक्तिको हैसियतले प्रधानमन्त्रीलाई सपथ ख्वाई रहँदा, प्रधानमन्त्रीले त्यो पर्दैन भनेर उनको पदीय मार्यादा माथि ठाडै प्रहार गर्दा पनि राष्ट्रपतिले ‘हिहि’ गरेर हाँसेर टार्दिन्छिन् । धन्य छौ महोदय तिमीहरुः देशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहलाई पनि साथीभाईको चियागफ जस्तो हलुका बनाई दियौ । हाय रे मेरो देशको नेता भनाउँदाहरु हो ।
हुन त ओलीले त्यो पर्दैन भनेर बोलीले मात्र अहिले भनेका हुन् । व्यवहार त पहिले उनको पहिलेदेखि त्यो पर्दैन खालकै थियो । निर्मला पन्तको हत्याराको समाउन प¥यो, त्यो पर्दैन । ३३ किलो सुनकाण्डका अपराधीहरुलाई समाउनु प¥यो, त्यो पर्दैन । ७० करोडको घोटाला गर्नेहरुलाई कानुनको दायरामा ल्याउनु प¥यो, त्यो पर्दैन । माहामारीसंग जुद्ध गाह्रो भयो, स्वस्थ्य सामाग्रीको जोहो गर्न प¥यो, अस्पतालमा बेड थप्नु प¥योः त्यो पर्दैन । बेसार सेसार तातो पानी खाई दिए हुन्छ । देशमा सुशासन ल्याउनु प¥यो, एउटा पद्धति स्थापना गर्नु प¥योः त्यो पर्दैन । काम चलिराखेकै छ त । के चालि राखेकै छ, के चाहिँ पर्छ त ? आफ्नो आसेपासे, हुक्का चम्चेहरुको चित्त बुझाउनु पर्दछ, आफ्नाहरुलाई चाहि कानुनबाट जोगाउनु पर्दछ, आफ्नो विरुद्ध बोल्नेहरुको बोली चाहि बन्द गर्नु पर्दछ । सके अरिंगाल सरी जाई लाग्नु पर्दछ । आफूले गरेको सानो सानो कामलाई ठूलो ठूलो प्रचार गर्नु पर्दछ । सरकारको नियमित गतिविधि र काम कारवाहीलाई पनि केपी सरकारको ऐतिहासिक उपलब्धि भनेर भ्रम छर्नु पर्दछ । बाँकी विकास निर्माणको काम भन्या त भै हाल्छ नि । भारतले रंग लगाएर पठाएको रेल ल्याएर राखिएकै छ, पानी जाहाजको कार्यालय भएपनि खोलिएकै छ, मोटरबोट चढेर देखाएकै छ । भत्किएका बस्तीहरु रंगशालाहरु बनाउन कलाकारहरु छँदैछन् । केही गाह्रो साह्रो प¥यो भने आफ्नो गास कटाएर पैसा उठाई उठाई उठाई पठाउन खाडीमा गएका जवान छँदैछन् । गाँठी काम भनेको त ककसलाई कसरी कसरी चित्त बुझाएर हुन्छ, आफू ठाउँमा बसी राख्नु प¥यो, बाँकी कुरा त जो होगा, देखा
जाएगा । हैन त हजुर ?
मेरो प्यारो प्रधानमन्त्री ज्यू, तपाईले सपथ खाई रहँदा हाम्रो नाउँमा गर्नु पर्ने प्रतिज्ञालाई जसरी सजिलै त्यो पर्दैन भन्नु भयो नि, तपाई किन त्यस्तो भन्नु भो, त्यो त तपाईलाई नै थाहा होला । तर मलाई चाहि नितान्त रुपमा यो तपाईको दम्भ र घमण्ड नै हो भन्ने लागेको छ । म भन्दा माथि कोही छैन भन्ने अहंकार नै हो भन्ने लागेको छ । यतिसाह्रै घमण्डी र अहंकारी पनि नबन्नुस् प्रधानमन्त्री ज्यू । कि तपाईकै अहंकारले तपाईको पतन होस् । हुन त तपाई जस्तो वामपन्थी विचारधाराको मान्छेलाई धर्मको उदाहरण दिएर अर्थ छैन होला तर पनि राम मन्दिर, धरहरामा शिवलिंग आदि सम्पदा यही धर्मको कुरा पनि अलिअलि नै सही मान्नु हुँदो रहेछ जस्तो लागेर भन्न मन लाग्यो, रावण जस्तो महा तपस्वी, ज्ञानी पराक्रमी, सुरवीरको पनि पतन आफ्नै अहंकारले गर्दा भएको थियो भने तपाई त विचरा एउटा सामान्य मानिस न पर्नु भयो । समय छँदै आफूलाई नियन्त्रण गर्नुहोस्, तपाईको छेउछाउ सँधै ओली कि जय भन्ने हुनुमान मात्र नहुन पनि सक्दछन् तपाईका विरोधीहरु अलिकति लालच दिएपछि राल चुहाउँदै लुरुक्क पर्ने माधव कुमारहरु मात्रै नहुन पनि सक्दछन् । सर्प पाल्न पैसा दिएर दुई चार जनाको चित्त बुझाउन सकिन्छ । तर जनताको चित्त बुझाउन काम गरेर देखाउन सक्नु पर्दछ । ओलीको बोली मात्र होइन, व्यवहार र काम गराई पनि सबैको चित्त बुझ्ने खालको हुन्छ । अहिले त परिस्थिति तपाई कै अनुकूल भयो भनौं या बनाउनु भयो । तर भोलि फेरी जनताको दैलोमा फर्केर जाने दिन नजिक
आउँदैछ । विचार पु¥याउनुस है भोलि फेरी चुनावी मैदानमा उत्रदै गर्दा उम्मेदवार कपि शर्मा ओलीको नाम देखेर मान्छेले नाक खुम्च्याउँदै अहँ …… भयो यो त अब पर्दैन न भनुन् ।

Related posts

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता आवश्यक

admin

सन्त नेताको सम्झना-सम्पादकीय

admin

शनिवार काँग्रेस भेला

admin