25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

सुरुवातीको नौ बर्षपछि धाराबाट पानी, सबै उपभोक्ताको धारामा पानी पुग्न अझै समय लाग्ने

सतिस्वाँरा/योजना शुरुवात भएको नौ बर्षपछि सतिस्वाँरा, मिर्लुङ्ग क्षेत्रका उपभोक्ताले धाराबाट पिउने पानी खाने भएका छन् । सतिस्वाँरा मिर्लुङ्ग लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सिताराम बानीयाले दिनुभएको जानकारी अनुसार २०७२ सालबाट शुरु भएको समिरी योजना मुलुकमा संघीयता आएपछि केही समय अल्मलिएको थियो । उपभोक्ता समितिमा नयाँ नेतृत्व आएपछि तदारुकताकासाथ काम हुँदा २०८१ साल बैशाखको दोस्रो हप्ताबाट पोखरीछाप, बाँकेपसल लगायतका उपभोक्ताले समिरी योजनाबाट क्रमशः धाराबाट पिउने पानीको सुविधा पाउने भएका छन् ।
सतिस्वाँरा मिर्लुङ्ग लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सो क्षेत्रका पाँच सय सत्तरी घरपरिवारमा पिउने पानीको सुविधा प्रदान लागेकोछ । हालका लागि पाईपबाट पिउने पानी गाउँगाउँमा पु¥याई परिक्षणका रुपमा धाराहरु राखिएको अध्यक्ष धर्मराज अधिकारीले बताउनु भयो ।

पोखरीछापमा घरको आँगनमै धाराबाट पिउने पानी झरेपछि खुशी हुँदै अस्थाइ धाराबाट पानी थाप्दै स्थानीय उपभोक्ता ।

तस्बिरः सीताराम बानियाँ

यो खानेपानी योजना सफल हुँदा बासपानी, रयाले, खड्का गाउँ, पैयास्वाँरा, पोखरीछाप, असीमुरे, सिराउने गाउँ/बाँकेपसल, सम्जुर, बकैले, तल्लो समजुर, कर्मिडाँडा, सिस्ने, तीनघरे, चनौटे क्षेत्रका बासिन्दा पिउने पानीको सुविधाबाट लाभान्वित हुन्छन् ।
मिर्लुङ्ग सतित्वाँराका उपभोक्तालाई पिउने पानीको लागि राजनीतिक व्यक्तिको नाम लिंदा उपभोक्ताले पानी ख्वाउने नेताको पहिचान बनाएका गोविन्द भट्टराईको नाम लिन्छन् । योजना माग्न प्रक्रिया सिकाउने, उत्साह, उत्प्रेरणा जगाउने र सुख्खा क्षेत्र घोषणा गराइ योजना पार्नेमा सो क्षेत्रका उपभोक्ताले इन्जिनियर हरिदत्त पौडेलको नाम लिन्छन् । ठीक त्यसैगरी यो योजनालाई ढिल्लासुस्ति गर्ने, पानी पुग्दैन भनेर हतोत्साहि गराउने इन्जिनियरको रुपमा वामदेव पौडेलको नाम लिन्छन् । सत्ताराजनीतिको पहूँचलाई दुरुपयोग गरेर लामो समय तनहुँमा कार्यरत रहन सफल इन्जिनियर वामदेव पौडेलले कार्यालय प्रमुखलाई समेत गुमराहमा राखेर कमिशनको प्रलोभनमा ठूलो योजनालाइ चाहिदो बजेट माग नगर्ने र साना योजनामा बजेट माग्न उपभोक्तालाइ उत्प्रेरित गरेर समिरी भन्ने सतिस्वाँरा मिर्लुङ्ग लिफ्ट खानेपानी योजनालाइ पानी पुग्दैन भन्दै इ. वामदेव पौडेलले उपेक्षा गरेको आरोप छ ।
उदाहरणका रुपमा बन्कटा लगायतका नयाँ र साना योजनाहरूमा बजेट पारेर मूल योजनामा कम बजेट पारेर अलपत्र पार्न खोज्दा ढिलाइ भएको उपभोक्ता समितिका पदाधिकारीहरु मध्येकै आरोप छ । इ. वामदेव पौडेलले आफ्ना कारणले ढिला भएको नभई बजेटको अभावले ढिला भएको प्रष्ट पार्नुभयो । उपभोक्ताले भनेको ११ करोडको स्टमेट हो भन्दै इ. वामदेवले चरणबद्ध निकासा हुने क्रममा यस बर्ष पच्चीस लाख बजेट निकासा भएको बताउनु भयो ।
इन्जिनियर वामदेव पौडेलले पुरानो समितिको निष्कृयताले पनि ढिलासुस्ती भएको प्रष्ट पार्दै वर्तमान समितिको सक्रियताका कारण पछिल्लो समयमा तिब्रगतिमा योजनाको कार्य अगाडि बढेको बताउनु भयो । सचिव सिताराम बानीयाले अघिल्लो समितिले उपभोक्ताबाट जनश्रमदान भनि नगद दश लाख उठाएर जम्मा पाँच लाख ५६ हजार मात्रै बैंक जम्मा गरेर बाँकी रकम अनियमितता गर्नु योजना ढिला हुनुको अर्को कारण भएको बताउनु भयो ।

Related posts

२८औं विश्व आदिवासी दिवस मनाइयो

admin

तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी

admin

केन्दीय सदस्यलाई बधाई

Deepak Joshi