Tanahun Awaj
समाचार

दाहाल सरकारका सय दिन

	प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारोहण गरेको चैत्र २० मा सय दिन भएको छ । पुष १० एमाले, रास्वपा, राप्रपा लगाएत दलको समर्थनमा प्रधानमन्त्री नियुक्त दाहालले सत्तारोहणको सय दिन पूरा भएको अवसरमा चैत्र २० मा १० पृष्ठ लामो ३७ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । 
	सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा समेटिएका विषयलाई प्रभावकारी, परिणाममुखी र समयबद्धरुपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित सरोकारवाला निकायको सहभागितामा एकीकृत कार्ययोजना तयार भएको उल्लेख छ । दाहालले सरकारको उपलब्धिमा पौषसम्मको शोधनान्तर स्थिती ९७.१० अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तमा यो बढेर १३३.२१ अर्ब रुपैयाँ भएको उल्लेख गरेका छन् ।
	देशका १४ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण कार्य प्रारम्भ भएको, बहालवाला तथा पूर्व विशिष्टको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता ल्याइएको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको, क्रिकेट प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरेको लगाएतलाई दाहालले आफ्नो सय दिने उपलब्धीको रुपमा व्याख्या गरेका छन् । 
	उपलब्धी भनिएका कतिपय काम हेर्दा खाली पान्ना भर्नका लागि उल्लेख गरिएका जस्ता लाग्छन् । किनभने ति नियमित हुने काम हुन्, जुन पुष्पकमल प्रधानमन्त्री भएर भएका होइनन् । अरु नै कुनै व्यक्ति प्रधानमन्त्री भएका भएपनि ति काम हुन्थे, जस्तै विमानस्थल उद्घाटन । दाहाल प्रधानमन्त्री भएका कारण नेपाली क्रिकेट टिमको प्रदर्शन राम्रो भएको होइन । न त विद्युत उत्पादन २६ सय मेघावाट पुग्नुमा दाहालको सय दिने कार्यकालको कुनै भूमिका छ अनि न रासायनिक मलको खरिदका लागि टेण्डर हुनुमा । 
	यस्ता कुरालाई उपलब्धी मान्न छोडेर महंगीको मारमा पिल्सेका नागरिकको पक्षमा यो काम गर्न सक्यौं, विग्रंदो आर्थिक अवस्था सुधारमा यि काम भए भन्न पाएको भए शायद हुन्थ्यो । आर्थिक वर्ष सकिन लाग्दा विकास खर्चको दयनिय अवस्थामा यो सुधार भयो । जस्ता कुरा उपलब्धीमा राख्ने कहिले ? आम नागरिकले जिज्ञासा राखेका छन् । 

Related posts

वी पी विचार समाज तनहुँ छैटौ अधिवेशनको संघारमा, काँग्रेस कार्यकर्तामा नेतृत्वको विद्रोही मानसिकता

admin

परिचय खोज्दै जेष्ठ नागरिकः

admin

एसईई–२०७८, तनहुँमा १८० विद्यालयका लागि ४६ केन्द्र

admin