23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

फोहर फेरी मादीमा ?

व्यास नगरपालिकाको नगर कार्यपालिकाको चैत्र १९ वसेको बैठकले नगर पालिका अन्तर्गतको फोहरमैला विसर्जन केही समयका लागि मादी नदी किनारमा गर्ने निर्णय गरेको छ । उक्त बैठकको निर्णय नं ७ मा भनिएको छ, व्यास नगरपालिका अन्तर्गतको फोहोरमैला विसजर्नका लागि व्यास नपा वडा नं १३ स्थित बुद्धसिंह मार्ग अन्तर्गत फुटेको ढुङ्गाको खाडल प्रयोग गरिँदै आएकोमा स्थानीयबाट वैकल्पिक स्थान खोज्न माग भइ आएकोले अर्काे व्यवस्था नहुँदासम्म व्यास–३ भतेरी स्थित मादीनदीमा तटबन्ध गरी खाडल परेको स्थानमा, नदीमा फोहोर मैला प्रवाह नहुनेगरी फोहोर मैला विसर्जन गर्ने, हाललाई फोहोरमैला छनोट प्रकृया स्थगन गरी स्थानीयसंग समन्वय गर्ने र आवश्यक पूर्वाधार निर्माण गर्न गराउन कार्यालयलार्य निर्देशन दिने निर्णय गरियो ।
वर्षायाम नजिकिँदै गर्दा फोहर व्यवस्थापन गर्ने ठाउँ घनावस्तीको नजिक रोज्नु कति उपयुक्त हुन्थ्यो भन्ने प्रश्न अवश्य यो निर्णयले उठाएको छ । हालसम्म फोहर व्यवस्थापन गर्दै आएको ठाउँ फुटेको ढुङ्गाको खाडलले त्यस क्षेत्रका नागरिकको जीवनमा नकारात्मक असर परेकै कारण शायद विकल्पको खोजी गर्न आग्रह गरेका हुन् । यो त झन दमौली बजारको एकदम नजिक छ । अब झरी याममा त फोहरको दुर्गन्धमात्र होइन त्यहाँका झिँगा र लामखुट्टे पनि बजारसम्म आउन सक्छन् । र यसले महामारी निम्त्याउने खतरा रहन्छ । यो सबै जान्दाजान्दै किन यस्तो निर्णय गरियो ? प्रश्न गर्ने र तत्काल फोहर व्यवस्थापनको उपयुक्त विकल्प खोज्न दवाव सिर्जना गर्ने बेला भएको छ । बेलैमा नागरिक सचेत नहुने हो भने महामारीको सामना गर्न तयार हुनुपर्ने हुन्छ ।
महामारीको सामना गर्ने कि फोहरको छिटो व्यवस्थापनाको व्यवस्थाका लागि आवश्यक बहस र दवाव दिने तपाईँ हाम्रो हातमा छ । कामना गरौं, दवाव र आन्दोलन अगाडि नै नपाले उपयुक्त व्यवस्था गर्नेछ । नागरिक सबै मिलेर फोहोर व्यवस्थापनको उपयुक्त स्थान खोज्न सघाऔं, हाम्रो पनि भलो हुनेछ ।

Related posts

रगत दिउँ, आशा जगाउँ- सम्पादकीय

admin

समय अनुसारको जनप्रतिनिधि

admin

हामीले गरेको कानुनी अभ्यास

admin