20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

श्रीकृष्ण शिक्षा-सम्पादकीय

भाद्र ३ गते भोली, भाद्र कृष्ण पक्षको अष्टमी तिथी । यो दिन संसारभरका हिन्दु धर्मावलम्बीहरु भक्ति, कर्म र ज्ञान योगका प्रणेता भगवान श्रीकृष्ण्को जन्म दिन पुजा–आराधना तथा भजन किर्तन गरेर, ब्रत वसेर मनाउँछन् । हिन्दु धर्म ग्रन्थहरुको अनुसार भगवान कृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्र कृष्ण पक्षका अष्टमी तिथीको मध्यरात भएको हो । बहिनी देवकाको कोखबाट जन्मेको सन्तानले आफ्नो संहार गर्ने थाहा पाएको कंशले देवकालाई बासुदेवसंगको विवाह लगतै कडा पहराका साथ जेलमा थुनेको थियो । उनै देवकाको आठौं सन्तानका रुपमा जेल भित्र श्रीकृष्णको जन्म भएको विश्वास गरिन्छ । बाल्यकाल देखि नै अनेकौं लिलाहरु गर्दै आएका उनले महाभारत युद्धमा धर्मराज युधिष्ठिरको पक्षमा अर्जुनको सारथी बनेर सहभागी भएका थिए । महाभारत मार्फत श्रीकृष्णको सन्देश छ, सत्ता अहंकारले मानिसलाई गलत मार्गमा लैजान्छ र अन्ततः त्यसको परिणाम विनाश हुन्छ ।
श्रीकृष्णको सन्दर्भमा एउटा कुरा यहाँ उल्लेख गर्नैपर्ने हुन्छ, जसले उनको कर्मका प्रतिका सम्मान दर्शाउँछ । श्रीकृष्ण बालकै छँदाको प्रसंग छ । उक्त प्रसंगमा सबरी नामकी पात्र छन्, जो मानिसको अन्तिम संस्कार सम्बन्धी काम गरेर आफ्नो गुजारा चलाउँछिन् । गोकुलवासी सबरीको अनादर गर्छन् र सबरी गोकुल आउनुलाई अनिष्टको संज्ञा दिन्छन् । एक दिन भोकप्यासले व्यथित सबरी आफुलाई गोकुलवासीले घृणा गर्ने जान्दा जान्दै खानाको खोजीमा गोकुल आउँछिन् । गोकुलबासी उनीमाथि जाइलाग्न खोज्छन् । सोही समयमा आईपुगेका बालक कृष्ण गोकुलावासीलाई सम्झाउँदै भन्छन्, जन्मसंस्कार, विवाह संस्कार तथा हामी जीवित रहँदा गर्ने अन्य संस्कारमा सहभागी हुने वा गराउने मानिसलाई हामी सम्मान गर्छाैं तर मृत्यु संस्कार गर्नेलाई किन घृणा ? उनी थप्छन्, हामी गाईको पालन पोषण गर्छाैं, कोही खेती किसानी गर्छन, कोही व्यापार गर्छन् । मानिसका आफ्ना आफ्ना पेशा हुन्छन् । सबैको कामको आ–आफ्नो महत्व हुन्छ । यस्तोमा मृत्यु संस्कारमात्र किन घृणाको पेशा भयो ? के कुनै काम ठूलो र कुनै काम सानो हुन्छ ? श्रीकृणका कुराले गोकुलवासीको आँखा खुल्छ र सवरीप्रतिको घृणा घट्दै जान्छ ।
अरु पनि थुप्रै कुराहरु छन्, जो हामीले कृष्णको जीवनीबाट सिक्न र ग्रहण गर्न सक्छौं । आवश्यकता अनुसार मित्रता सबैसंग गर्नु पर्दछ । सानो–ठूलो त कर्मले हुने हो, त्यसैले असल कर्म चिनेर सोही अनुसार कर्म गर्नुपर्छ । असम्भवै असम्भवबीच रहेर पनि सम्भाव्यताको खोजी निरन्तर गरिरहने मान्छे अवश्य सफल हुन्छ । अत्यन्त दुःखको अवस्थामा पनि विचलित नभई आफ्नो धर्म, संस्कृति, संस्कार नछाडी निरन्तर अडिग रहने व्यक्ति नै सफल हुन्छ भन्ने शिक्षा हामीले श्रीकृष्णको जीवनीबाट ग्रहण गर्न सक्छौं । सज्जनहरुको रक्षा र दुष्कर्म गर्नेहरुको विनाश गरी धर्म रक्षा गर्न युगौं युग जन्म लिने उद्घोष गर्ने कृष्णको जीवन चरित्रबाट हामी र हाम्रा राजनैतिक नेतृत्वले केही सिक्न र सिकेका कुरा व्यवहारमा लागू गर्न सके शायद हामीले भन्ने गरेको राम राज्य हुने थियो ।

Related posts

पेशागत दक्षताका लागि द्विपक्षीय समझदारी

admin

तनहुँमा स्थानीय निर्वाचन, असन्तुष्टिले पूर्व दृष्य बदलिने आंकलन

admin

सर्वाेच्चले माग्यो राष्ट्रपति पौडेलको उपचार व्यहोर्ने निर्णयको प्रमाणित प्रति

admin