23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

दोहोरी

दोहोरी, रसिलो शब्दहरुको प्रयोग गरी सवाल जवाफ गरेर गाईने गीतको एउटा प्रकार । अक्सर दोहोरी गीतमा लेख्य भन्दा पनि कथ्य भाषाका शब्दहरुको प्रयोग गरिन्छ, जसले गर्दा दोहोरी गीत सुन्न निकै रमाईलो ह्ुन्छ । दोहोरी गीत गाउँदा एउटाले प्रश्न गर्ने, अर्काले उत्तर दिने, प्रति प्रश्न गर्ने, एक आपसमा छेडछाड र घोचपेच गर्ने गरिन्छ । दोहोरी शब्दको अर्थ दोहोरो अर्थात दुबैतिरबाट भन्ने हुन्छ । अहिले नेपालको गीत संगीत बजारमा दोहोरी पनि धेरै प्रकारको पाईन्छ ।
परम्परागत दोहोरी, लोकपप दोहोरी, आधुनिक दोहोरी आदि । अहिलेको दोहोरी गीतहरुमा प्रयोग हुने शब्दहरु र तीनले उठान गर्न खोेजेको विषयवस्तुहरुमा पनि परम्परागत दोहोरी गीतमा भन्दा केही भिन्नता पाउन सकिन्छ । पहिलेको दोहोरी गीतहरुको विषयवस्तु अधिकांश त मायाँ प्रेम, हस्यौली(ठट्यौली संग सम्बन्धित हुन्थे । जुन अहिलेपनि धेरै हदसम्म छ । तर अहिलेका दोहोरी गीतहरुले मायाँ प्रेमका विषयवस्तुको अलावा सामाजिक राजनैतिक विषयवस्तुको पनि उठान गर्ने गरको पाईन्छ, जुन समय सापेक्ष सान्दर्भिक पनि छ । फेरी दोहोरी भन्ने वित्तिकै हाँसी मजाक र छेडछाड मात्र हुनुपर्छ भन्ने पनि होइन् । भावुक र मार्मिक शब्दहरुको प्रयोग पनि दोहोरीमा हुन्छ । तर अक्सर सबैले दोहोरी गीत भन्ने वित्तिकै मायाँ प्रेमसंग सम्बन्धित रमाईलो छमछमी नाच्न मिल्ने गीतहरुलाई नै सम्झिन्छन् । वर्तमानका पुस्ताहरु जति नै आधुनिक बन्ने प्रयास गरेपनि जीवनको कुनै न कुनै क्षणमा दोहोरीमा रमाएकै हुन्छन् ।
गीत संगीतको बजारमा दोहोरी गीतहरु आईरहन्छन्, गइरहन्छन् । कुनै गीत कहिले बजारमा आयो र गयो थाहा पत्तै हुँदैन । कुनै गीतले लामो समयसम्मै बजार तताउँछन् र विस्तारै सेलाउँछन् । कुनै दोहोरी भाकाहरु भने सदावहार पनि हुन्छन् । गीत संगीतको बजारमा अहिले कुन सर्जकको सिर्जनाले बजार तताएको छ ? दोहोरी पारखीहरु कुन दोहोरी गीतमा रमाईरहेका छन्, त्यो अलग पाटोको कुरा
भयो । तर तीन करोड नेपाली नागरिकलाई भने एउटा दोहोरीले हँसाउनु हँसाएको छ । गीत संगीतको बजारको दोहोरीले हैन, राजनीतिक बजारको दोहोरीले । कथित जनयुद्धका नायक पुष्पकमल दाहाल र नेपाली उखान टुक्काको सर्वज्ञाता विज्ञ सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आपसी दोहोरीले यतिबेला नेपाली राजनीतिको बजार पिटेको छ । राजनीतिक बजारमा एकले अर्कालाई भनाभन गर्नु, खुट्टा तान्नु, अरुलाई तल खसाएर आफु माथि उक्लन खोज्नु सामान्य कुरा हो । जहाँ कहिँको राजनीतिमा पनि यो हुन्छ । तर यतिबेला केपी र पिकेको आपसी छेडछाड र भनाभन युक्त दोहोरी जुन स्तरमा हुँदैछ, यदि यो साँच्चिकै दोहोरी गीत भएको भए युट्युबमा टूेन्डिङको सबैभन्दा उच्च स्थानमा हुन्थ्यो होला ।
प्रतिनिधि सभाको विघटनसंगै नेपाली राजनीतिका दुइ हस्ती केपी शर्मा ओली र पीके दाहाल खुलेरै एक अर्काको कटाक्षमा उपस्थित भएका छन् । कहिले सांकेतिक रुपले त कहिले नामै किटेर एक अर्काको विरोध र दोषारोपणमा उत्रिएका छन् । एउटाले एक ठाउँमा आफ्ना आसेपासेहरुलाई बोलायो, अर्काेलाई मनलाग्दी भन्यो । फेरी अर्काे पक्षले अर्काे ठाउँमा आफ्ना मान्छेहरु भेला ग¥यो पहिलो पक्षलाई गाली ग¥यो । यसरी नै चलिरहेछ पीके र केपीको
दोहोरी ।
फरक के छ भने प्रायः दोहोरी गाउँदा एक अर्काको सम्मुख भएर गाउने गरिन्छ । यी दुइ कलाकार भने सम्मुख त परै जाओस् एक अर्काको नजिकै नपरी मुखै नहेरी छुट्टा छुट्टै ठाउँबाट दोहोरी गाउँदैछन् । धन्न सवाल जवाफचाहिँ मिलाउँछन् है । प्रधानमन्त्री ओली नेपाली भाषाका सर्वज्ञाता
भैहाले । उनलाई सवाल जवाफ गर्न गाह्रो हुने कुरै भएन । प्रचण्ड सारा नेपालीलाई झुक्याएर, झुठ बोलेर, भ्रमको खेती गरेर नेपाली राजनीतिमा स्थापित भएका, उनलाई पनि शब्द खेलाउन अप्ठेरो हुने कुरै भएन ।
प्रचण्ड र केपी ओलीको दोहोरीले नेपाल कम्युनिस्ट पार्टी भित्रको फोहोरलाई सतहमा ल्याएर छताछुल्ल पारिदिएको छ । यतिबेला उनीहरु एक अर्कालाई दोषा दोष गर्ने मात्र होइन्, एकले अर्काको कर्तुत निर्लज्ज भएर सुनाईरहेका छन् । केपी भन्छन्, प्रचण्डले यस्तो ग¥यो, प्रचण्डले त्यस्तो ग¥यो । फेरी प्रचण्ड प्रतिप्रश्न गर्छन, मैले यस्तो गरे, त्यस्तो गर्ने चाहिँ को ? बडो युद्धस्तरमा जाँदैछ, प्रचण्ड र केपीको दोहोरी । एउटाले अर्काेलाई बाँदर भन्न पनि भ्याएकै छ । फेरी अर्काेले विचलित भएका मानसिक रोगीको संज्ञा दिन पनि छुटाएको छैन । जे होस् यी दुइको दोहोरीले आम नेपालीलाई केपी र पिकेको सक्कली अनुहार चिन्ने भने मद्दत पु¥याएको छ है । मने, यी दुइको दोहोरी सुन्दा मलाई अचम्म र ताजुब चाहिँ के कुरामा लाग्छ भने, यी दुबै वैशाखमा हुने भनिएको निर्वाचनमा एकले अर्कालाई पराजित गर्ने कुरा दावाका साथ भन्छन् । एकले अर्कालाई आगामी निर्वाचनमा पत्तासाफ हुने भाविष्यवाणी
गर्छन ।
म जिल्ल पर्छु,एक आपसका यति विघ्न कर्तुतहरु आफ्नै मुखले ओकली सकेपछि, सारा नेपालीले मिलेर बस भन्दापनि चुम्बकको समान धु्रवबीच विकर्षण भएजस्तो एउटा एकातिर अर्काे अर्काेतिर फर्किएर बाझाबाझमा उत्रिसकेपछि अब फेरी पनि निर्वाचनमा आफुले जित्छु, अर्काेले हार्छ भनेर कसरी सोच्न सकेका ? सोच्नु त मनको कुरा भयो, खुल्लम खुल्ला के नैतिकताले भन्न सकेका ? खैर केही छैन कमरेड मनको लड्डु घीउसंग खान पाईन्छ । आघाईन्जेल खान पाईन्छ । आगामी वैशाखमा यदि निर्वाचन भइहालेछ भने केपीले प्रचण्डको पत्तासाफ गर्नेछन् वा प्रचण्डले केपीको गर्नेछन्, त्यो भोलीको दिनमा चुनावपछि थाहा भै हाल्नेछ । अहिले भने एउटा नीति कथा सम्झिहालें ।
परापूर्व कालमा दुई ब्राम्हण युवा विद्या आर्जन गरी गुरुकुलबाट घरतर्फ फर्कंदै थिए । यात्रा लामो भएकोले एकै दिनमा घर पुग्नु सम्भव थिएन । दिन पनि ढल्किन लागेकोले उनीहरुले एउटा घरमा बास बस्ने निधो गरेछन् । गुरुकुलबाट फर्केका ब्राम्हणहरुलाई बास दिँदा पुण्यपनि मिल्ने र दुइचारवटा ज्ञानगुनका कुरा पनि सिक्न पाईने हुँदा घरबेटीले पनि सहर्ष उनीहरुलाई वास दिएछन् । नुहाई धुवाई र आफ्नो दैनिक पाठ पुजा पछि ब्राम्हण युवाहरु भोजनका लागि विराजमान भए । तर जब उनीहरुले आफुहरुलाई दिइएको भोजन देखे उनीहरुले सोच्नै सकेनन् छक्क पर्नु कि रिसाउनु किनभने उनीहरुको भोजन स्वरुप भिजाइएका चना, काटिएको पराल र हरियो घाँस टक्र्याईएको थियो ।
आफ्नो यो स्तरका अपमान देखेर दुबै ब्राम्हण अति क्रोधित भएर यसको कारण
सोधे । तब घरबेटीले बडो सालिन भएर उत्तर दिँदै भने “ब्राम्हण महाराज यसमा मेरो कुनै दोष
छैन । मैले त सबै हजुरहरुले भने बमोजिम नै गरको हो । तपाईँहरु मध्ये एउटा नुहाउन जाँदा अर्काेले आफुलाई सबै विद्याको ज्ञान भएको र सर्वश्रेष्ठ तर अर्काे वुद्धिहीन पशु बराबर भएको, आफु विना ऊ कोही पनि नभएकोले आफुलाई मिष्ठान्न भोजन गराएर अर्कोलाई पशुको दानापानी दिएपनि हुन्छ भन्नु भयो । फेरी अर्काै नुहाउन जाँदा नुहाएर आएकोले अर्काे ब्राम्हणका बारेमा त्यस्तै विचार प्रकट गर्नु भयो । तपाईँहरु दुबैले एकले अर्कालाई पशु बराबर नै भन्नु हुँदो रहेछ । तसर्थ पशुको लागि यथोचित आफुले सक्दो भोजनको व्यवस्था गरेको हुँ ।”
कमरेडहरु,विचार गर्नुस् एउटाले अर्काेलाई पत्तासाफ गर्छु भनेर जुन स्तरले तपाईँहरु एक अर्काको विरुद्ध उत्रनु भएको छ, यहि पारा हो भने तपाईँहरुले एक अर्काको होइन नेपाली नागरिकले चाहिँ तपाईँहरु दुबैको पत्तासाफ गर्नेछन् । होस् गर्नुस् कमरेड कतै तपाईँहरु दुवैको हातलपनि नीति कथाका ब्राम्हणद्वयको जस्तो नहोस् ।

Related posts

सम्बन्ध विच्छेद कानून र हाम्रो अभ्यास

admin

पैयास्वाँरामा स्वास्थ्य सेवा

admin

SEE परीक्षाफलले उब्जाएको प्रश्न

admin