28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

सामुदायिक विद्यालयको ओरालो यात्रा

रमेश विकल

हाम्रा सामुदायिक विद्यालयहरुको घट्दो शैक्षिक गुणस्तर बारे कुरा चल्नासाथ सबैको एउटै प्रतिक्रिया हुन्छ, शिक्षकहरु पढाउँदैनन् । बालबालिकाको राम्रो हेरचाह गर्दैनन् ।

तर के सामुुदायिक विद्यालयहरुको घट्दो शैक्षिक गुणस्तरमा शिक्षकमात्र दोषी हुन् त ? अरु अर्थात विद्यार्थी र अभिभावकको यसमा कुनै भूमिका छैन् ? ओदानका तिन खुट्टा भनिएका शिक्षक, अभिभावक र विद्यार्थी मध्ये शिक्षकरुपि एउटा खुट्टाले राम्रो काम नगरेका कारण मात्र सामुदायिक विद्यालयको ओरालो यात्रा प्रारम्भ भएको होला ? सम्पूर्ण रुपमा शिक्षक दोष रहित छन् भन्ने होइन तर शिक्षकलाई मात्र दोष थोपरेर अन्य पक्ष पन्छँदै सामुदायिक विद्यालय सुधारको कुरा गरेर मात्र अवश्य हुँदैन ।

–सदरमुकाम छेउको एक सामुदायिक विद्यालयको प्राथमिक तहमा गणित शिक्षण गर्ने शिक्षकले कक्षामा विद्यार्थीहरुलाई ज्यामितिय अवधारणा सिकाउन चाहेको एक हप्ता बढी भयो तर अझै उनले पाठ अगाडि अगाडि बढाउन पाएका छैनन् । भन्छन्ः प्रभाकारी सिकाइका लागि सबै विद्यार्थीसंग ज्यामितिय सामग्रि हुनु जरुरी छ तर विद्यार्थीहरु ज्यामितिय सामग्रीहरु नै ल्याउँदैनन् । कसैसंग स्केल छैन, कसैसंग प्रोटेक्टर छैन । कति अभिभावकलाई त उनले फोन पनि गरे । तर हप्ता वितिसक्दा पनि अभिभावकले आवश्यक सामग्री नपठाए पछि अरु नै पाठ पढाउन थालेका छन् ।

– अर्का शिक्षकको गुनासो पनि सुन्दा नाजायज लाग्दैन । उनको गुनासो छ कतिपय विद्यार्थी हातमुख धुने, दाँत माझ्ने, नुहाउने, सफा लुगा लगाउने गरेर आउँदैनन् । कपडा र शरिरबाट आएको दुर्गन्धले नजिक गएर कुनै कुरा बताउने अवस्था समेत रहँदैन । यस्तो अवस्थामा प्रभावकारी शिक्षण कसरी कसरी गर्न सकिन्छ ?

–निजी विद्यालयमा पढ्दासम्म छोरा छोरीको खाजाको व्यवस्था गर्ने, विद्यालय पु–याउन जाने, लिन जाने, कापी कलम भए नभएको हेर्ने, गृहकार्य गरे नगरेको हेर्ने अभिभावक तिनै छोरा छोरीलाई सामुदायिक विद्यालयका भर्ना गर्ना साथ ति सबै दायित्वबाट पन्छन्छ । खासगरी सामुदायिक विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकासंग कापी कलम र आवश्यक शैक्षिक सामग्री आवश्यक मात्रामा हुँदैन । भोक भोकै दिनभर आवश्यक शैक्षिक सामग्रीको अभावमा कसरी बच्चा पढ्न सक्छ ? र सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आओस् ? यदि सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने हो भने यी र यस्ता अन्य थुप्रै कुराहरमा हरेक अभिभावकले सोच्नु र आफुलाई परिवर्तन गर्नु जरुरी छ । अनि मात्र सामुदायिक विद्यालयको ओरालो यात्रा रोकिन्छ । शिक्षकलाई एकोहोरो गाली गरेर मात्र हुँदैन ।

Related posts

स्थानीय सरकारको बजेट सार्वजनिक

admin

समाज रुपान्तरण यस्तो सरकारबाट हुन सक्दैन

admin

ऋषिङका विभिन्न ठाउँमा विजुली

admin