22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

द्वन्द्व यौन हिंसा दिवश-सम्पादकीय

भोली विक्रम संवतको असार ५ गते, इस्वीको जुन १९ । खासगरी द्वन्दका क्रममा यौन हिंसामा पर्नेहरुका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्व समक्ष उनिहरुको आवाज सुनाउनलाई हरेक वर्ष जुन १९ तारिखमा संयूक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ संसारभर ।
नेपालले दशकलामो द्वन्द व्यहो¥यो । उक्त द्वन्दका क्रममा खासगरी युवतीहरु यौन हिंसाको शिकार बने । अहिले पनि यौन हिंसाको शिकार भएर ज्यान समेत गुमाउनेको नाम लिनु पर्दा मैना सुनारको नाम लिने गरिन्छ । थुप्रै मैनाहरु द्वन्दको चपेटामा परे र यौन हिँसको शिकार भए । शिकार गर्नेहरु यो वा उ भन्ने रहेन । चाहे त्यो राज्य पक्ष होस् चाहे विद्रोही सबै यौनहिंसा गर्नमा कम रहेनन ।
द्वन्दका क्रममा कतिले यौन हिंसाको शिकार भएर ज्यान गुमाए वा कति त्यसको शिकार बनेर द्वन्दको समापन भएको भनिएको डेढ दशक वित्न लाग्दा पनि पिडामै बस्न बाध्य छन् भन्ने कुराको एकिन तथ्याङ्क त छैन तर त्यस्ता धेरै युवतिहरु छन् जो यौन हिंसाको शिकार भए र अहिले पनि समाजमा सम्मानपूर्ण जीवन यापनका लागि संघर्ष गरिरहेका छन् । यौन हिंशाको शिकार बनेर आमा बन्न पुगेकी एउटी युवतीको यातनापूर्ण वर्तमान त छँदैछ, उनीबाट जन्मेका बच्चाले पनि समाजमा पहिचान अनि कानुनी संरक्षण संघर्ष गरिरहेका छन् । पहिचान र संरक्षण नहुँदा उनीहरु बेचविखनमा पर्ने, मानव तस्करीको शिकार हुने तथा जोखिम युक्त काममा लाग्ने सम्भावना रहन्छ, जुन बालअधिकारको विरुद्ध छ । यौन हिंसाको शिकार भएर असुरक्षित गर्भ पतन गरेका कारण यौन तथा प्रजनन स्वास्थ्य समस्या भोगेका युवतीपनि प्रसस्त होलान् ।
दीर्घकालसम्म मानिसको जीवनमा नकारात्मक प्रभाव पार्ने यौन जन्य हिंसाको शिकार हुनबाट हामीले अबको पुस्तालाई जोगाउनै पर्छ । मायाँ र लडाईमा जेपनि गर्नुहुन्छ भन्ने गलत आख्यानको शिकार अबका युवती बन्नु हुँदैन । निर्दाेषहरु माथि हुने यौनहिंसा अब सदाका लागि बन्दहुनु पर्छ । देशमा कुनैपनि खालको द्वन्द नहोस् हाम्रो कामना । द्वन्द भयो नै भएपनि यसका समान्य नियमहरुको पालना द्वन्दरत पक्षले गरेर द्वन्दमा यौन हिंसाको उन्मूलनमा सहयोग गरुन्, हाम्रो शुभाकांक्षा ।

Related posts

नबदलिएको अनुसन्धान कार्यशैली

admin

कांग्रेस सभापतिद्वारा विभिन्न विभाग गठन तनहुँका भण्डारी, भट्टराई र वाग्ले समेटिए

admin

नेपाल रेडक्रस गण्डकी प्रदेशको दोस्रो बार्षिक साधारण सभा

admin