23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

तिहार र जुवा

छविदीप आले
[email protected]

………स्थानबाट ठूलो धनराशी सहित ……..जना जुवाडे पक्राउ ।
समय समयमा समाचार पत्रका पृष्ठहरुमा र सामाजिक सञ्जालमा यस्ता खबरहरु पढ्न हेर्न पाईन्छ । अबको केही समय सायद अझ बढी पाइएला ।

हिन्दु धर्मावलम्वीहरुको दोस्रो महान पर्व तिहार नजिकिँदै छ । बजार तिर तिहारको किनमेलको चहलपहल सुरु भैसकेको छ भने गाउँ घर तिरपनि तिहारको रमझमले छुन थालिसकेको छ । तिहार मनाउनुको पछाडि यसको आफ्रनै इतिहास र कथा छ । छुट्टै महत्व छ । हुन त प्रत्येक नेपाली चाड पर्वहरु मिठो मसिनो खाएर मनाइन्छ । तर विशेषगरी तिहारको कुरा गर्दा तिहारलाई रमाईलो गरेरै खाने पिउने रमाउने पर्वको रुपमा लिइन्छ । तिहारको सांस्कृतिक पक्ष वास्तवमै व्यापक छ । तिहारको सांस्कृतिक पक्षको कुरा गर्दा देउसी भैलोको कुरा अग्र पङ्तिमा आउँछ । त्यस्तै द्वितीया खुवाउने चलनका कुराहरु पनि छन् । कति चलनहरु छोडिँदै गएका पनि छन् भने कति नयाँ नयाँ कुराहरु जोडिँदै र थपिँदै गएका पनि छन् । तिहारको कुरा गर्दै गर्दा जसरी देउसी भैलो तिहारसंगै जोडिएर आउँछ, त्यसरी नै जोडिएर आउँछ जुवा र तास ।

जुवा तास खेल्ने प्रचलन कहिले कहाँबाट सुरु भयो भन्ने कुराको यकिन पङ्तिकारलाई नभए पनि यसको सुरुवात मनोरञ्जनकै उद्देश्यले गरिएको हो भन्ने कुरामा चाहिँ दुइमत छैन । पक्कै पनि मानव सभ्यताको विकाससंगै मनोरञ्जनको नयाँ नयाँ तरिकाहरु खोज्ने क्रममा जुवा तासको आविष्कार भएको हुनु पर्छ । हाम्रो पौराणिक धर्म ग्रन्थमा पनि जुवाको उल्लेख गरेको पाईन्छ । स्वयम देवी देवताले समेत समय व्यतित गर्न जुवा खेलेको प्रसंगहरु हाम्रो ग्रन्थमा पाईन्छ । जुवाकै कारणले महाभारतको युद्ध भएको कुरा थाहा नहुने मान्छे शायदै होलान् ।

शुरुवाती समयमा मनोरञ्जनको दृष्टिकोणले आविष्कार गरिएको भएपनि पछिल्लो समयमा जुवा तास एउटा गम्भीर सामाजिक विकृतिको रुपमा देखिएको छ । जुवा तासकै कारण कायौं घर परिवारको बेहाल भएको हामीले प्रत्यक्ष देखेका छौं । यसकै कारणले सामाजिक होहल्ला झै झगडा देखि लिएर हत्या सम्मको घट्ना भएको हामीले देखे सुनेका छौं । जुवाकै कारणले कङ्गाल भएका महोदयहरु पनि हाम्रै आसपास हुनु हुन्छ । शायद जुवाको नशा नै त्यस्तै हुन्छ होला । त्यसैले त युधिष्ठीर जस्ता धर्मराजले पनि आँखा देखेनन् । जुवा तासले आजसम्म कसैको भलो भएको छैन र पनि मानिसबीच यो प्रिय छ । भर्खर स्कुल कलेज पढ्दै गरेका किशोर किशोरी, युवा युवती हुन या चाहे प्रौढ या बृद्ध या केही नपढेको मजदुर होस् या चाहे लेखपढ गरेको जागिरे या राजनीतिज्ञ या राज्यको उच्च ओहोदाको व्यक्ति हरेक माझ लोकप्रिय छ,यो जुवा र तास भन्ने कुरा । प्रत्येक मानिसले आफ्नो जीवनमा जुवा तासको अनुभव एक न एक पटक पक्कै गरेको हुन्छ । बनाउनलाई खै कसले बनायो तर सबैको प्यारो छ । जुवा तास अचम्मको चिज छ ।

तिहारको पूर्वसन्ध्यामा मलाई यो आलेख तयार गर्न किन मन लागेको हो भने अरु समयमा भन्दा तिहारको समयमा जुवा र तासको विगविगी अलि बढी नै हुन्छ । सामान्य दिन काट्नको लागि खेलिने देखि लिएर करौडौंको बाजी हुन् थरी थरीको जुुवा, धेरै थरीको तर मैले यो आलेख तयार गर्नुको उद्देश्य नत जुवा तासको समर्थन गर्नु हो नत यसको विरोध नै ।

समय गतिशिल र परिवर्तनशिल छ । गतिशिल समयसंगै समाज पनि परिवर्तन हुँदै जान्छ । आजको नेपाली समाज हिजोको नेपाली समाज भन्दा धेरै कुरामा फरक छ । जीवन जिउने अभ्यासहरुमा धेरै परिवर्तन भएको छ । कति राम्रो कुराहरु जोडिएको होला कति नराम्रँो । तर फेरबदल जरुरी भएको छ । जुवा तास पनि नेपाली समाजमा जोडिन पुगेको यस्तै एउटा पाटो हो । वर्तमान नेपाली समाजको लागि तास एउटा अभिन्न पाटो जस्तै बनिसकेको छ । पहिला पहिला तास प्रसस्त पैसा हुनेले खेल्ने हो भनेर बुझिन्थ्यो । तर आजकल सामान्य भै सक्यो । आफ्नै परिवारका सदस्यहरुबीच , छरछिमेकीसंग सजिलै तास खेलिन्छ । बिना कुनै संकोच, किनभने यो नेपाली समाजको हिस्सा बनिसकेको छ ।

जुवा र तासको विषयलाई लिएर यति लामो भूमिक बाँध्नुको तात्पर्य चाहिँ के हो भने मैले सुरुमा उल्लेख गरेजस्तै समय समयमा जुवाडेहरु पक्राउ परेको खवर आइरहन्छ । तिहार जस्तो चाडमा झन अझ धेरै यस्तो समस्यामा प्रहरी र प्रशासनको पनि विषेश चासो रहेको हुन्छ । जुवा तास नियन्त्रणको लागि भटाभट जुवाडे पक्रनेकाम गरिएको हुन्छ । तर उपलब्धि खोइ ? प्रत्येक वर्ष तिहारमा ठाउँ ठाउँमा जुवा र तासको खाल जमेकै हुन्छ त । भन्नुको तात्पर्य के हो भने पक्रदैं थुन्दै गुर्नको म केही अर्थ देख्दिन । मैले यसो भन्दै गर्दा जुवा तास खुल्लमखुल्ला खेल्न पाउनु पर्छ , बन्देज लगाउनु हुँदैन भन्ने होइन । खाली के मात्र तर्क गर्न खोजेको भने यदि नियम र कानूनको डरलेमात्र यो कुराको नियन्त्रण सम्भव भएको भए धेरै पहिले नै नेपाली समाजबाट जुवा तास हटिसकेको हुन्थ्यो । तर नुहने रैछ भनेर प्रमाणित भैसक्यो । तसर्थ यसको नियन्त्रणको लागि खाली पक्रने र थुन्ने भन्दा पनि अरु विकल्पहरु के के हुन सक्छन् त्यता तिर ध्यान दिने पो हो कि ?

बर्तमान समाज आधुनिक छ । आधुनिक समाजले स्वतन्त्रता खोज्छ । यस्तो समाजलाई नियम र कानूनको डर देखाई चेप्न खोज्दा त्यसले उल्टो असर गर्छ । समाजमा यस्ता धेरै कुराहरु जुन कानुनले नगर भन्छ तर भै रहेकै छ । यौन व्यवसाय नेपालको लागि गैर कानुनी हो तर के यौन व्यवसाय चलिरहेको छैन ? जुवा तास नखेल भन्छ कानुनले तर मानिसहरु खेलिरहेकैै छन् त । यस्ता कुराहरुलाई दवाएर नियन्त्रण गर्ने प्रयास गर्नु भन्दा समाधानको बैकल्पिक उपाय अपनाउने तिर ध्यान पुग्नु जरुरी छ । त्यसो भएको खण्डमा मात्र समाजको लागि फलदायी हुन सक्छ । हिजो राणा शासन हुँदा पनि राणाहरुले निश्चित समयको लागि जुवा फुकुवा गर्थे रे भन्ने कुरााहरु सुन्न पढ्न पाईन्छ । वर्ष दिनमा एक पटक आउने चाडमा दुइचार पैसा खर्च गर्छु, रमाईलो गर्छु भन्न अहिलेको मानिसले किन नपाउने ? सत्य असत्य या त दैवलाई थाहा होला या त उनैलाई जुवाडे समाउँदै हिड्ने प्रहरी प्रशासनका जवानहरु पनि चाडवाडमा छुट्टी नपाए चौकी भित्रै तास खेलेर दिन काट्छन् भन्ने पनि सुनिन्छ । यदि हो भने पुलिसलाई नै पक्रन चाहिँ कसलाई पठाउने ? त्यस कारण यस्तो नराम्रो संस्कृतिलाई नियन्त्रण गर्नु छ भने दवाउनु हैन पगाल्न सक्नु पर्छ ।

कतिपय अवस्थामा हाम्रो कानुनपनि अलिअन्याय लाग्दो छ । क्यासिनो पनि त जुवा घर हो । तर क्यासिनो गएर जुवा खेल्ने त पक्राउ परेको सुनिँदैन । पक्राउ पर्ने त यहि बाहिरफेर खेल्ने जुवाडे नै हुन् । तिनले खेल्ने पाउने भए यीनले किन नपाउने ? के क्यासिनोले राज्यलाई कर तिर्ने भएर हो ? त्यसो भए यी काट्कुटे जुवाडेलाई पनि कर लगाएर मज्जैले खेल्न दिँदा हुन्छ त ? सरकार बेलाबेलामा प्रशासन लगाएर गाउँ गाउँमा भट्टी भट्टी चाहार्दै लोक्कल रक्सी नष्ट गराउँदै हिँड्छ । तर त्यही भट्टीमा बेचिने वियर, रम, भोडका त नष्ट गराउँदैन किन ? लोकल रक्सीले कर नतिर्ने भएर या स्वास्थ्यको दृष्टिकोणले ? स्वास्थ्यको दृष्टिकोणले हो भने मापदण्ड बनाउनु प¥यो । हैन भने यो पनि रक्सी त्यो पनि रक्सी । एउटा बिक्री गर्न मिल्ने अर्काे नमिल्ने हुन्छ र ? जुवा तासको सन्दर्भ पनि झण्डै झण्डै यस्तै हो । यहाँ पनि कर तिर्ने र पहुँच हुने निर्वाध खेल्छन् । विचरा निरिहहरु चाहीँ भटाभट पक्राउ पर्छन । जसले गर्दा उनीहरुमा नखेल्ने भन्दा पनि अझ शसक्त ढंगले खेल्ने इच्छा जागृत हुन्छ । त्यसैले यदि साँच्चै नै प्रशासनले यो तिहारमा जुवा तास नियन्त्रण गर्न चाहन्छ भने दवावकारी भन्दा अन्य वैकल्पिक उपायहरु सोच्ने तर्फ ध्यान दिँदा सफलता मिल्ला कि ?

Related posts

खाद्य सुरक्षा, हाम्रो आवश्यकता

admin

देउराली नगर र झापुटार जोड्न पक्की पुल

admin

कांग्रेसले अब कम बोल्ने, बढी सुन्ने

admin