Tanahun Awaj
Uncategorized

प्रधानमन्त्रीलाई केही निम्छरा प्रश्नहरु–२

रमेश विकल

निर्मला पन्तको सन्दर्भमा अर्काे पनि प्रश्न गर्न मन लाग्यो । तपाई गोकुल बास्कोटाको घुस प्रकरणको टेपका विषयमा अनि यती समूहलाई जग्गा दिएको विषयमा जसरी बचाउमा कांग्रेसको पालामा भएको भनेर आफ्नो बचाउमा आउनु भयो, खोइ निर्मलाको परिवारलाई न्याय दिन्छु भनेर बोल्नु भएको ? खोई निर्मलाको पक्षमा बोल्नु भएको ? निर्मला पन्तहरु र निमुखा नेपालीको पक्षमा त तपाईंले बोलेको सुनिएन कहिल्यै ? व्यापारीको हित रक्षार्थ चन्द्रागिरी उक्लेर कविता वाचन गर्दै घण्टौं विताउने तपाईँले कहिल्यै एउटा विपन्न नेपालीको घरमा गएर केही मिनेट विताउनु भएको छ ? तिनका दुःखबारे सोध्नु भएको छ ? तिनीहरुको हित रक्षा हुने कुनै काम गर्नु भएको छ ? यो दुइ वर्षमा त त्यस्तो केहि देखिएन ? यसो भनि रहँदा म तपाईले भने जस्तो मुटु नभएको मान्छे लाग्न सक्छु । मलाई तपार्इँले खोजे जस्तो मुटु भएको मान्छे कहलिनु छैन । जसले सत्ताको भजन गाओस् । अन्ध समर्थन गरोस् । भन्दा श्रमिक वर्गको, विपन्न वर्गको े हित रक्षा गर्ने पार्टी भन्ने तर बचाउ र पक्ष पोषण चाहिँ सधै पूँजिपतिहरुको मात्र ?
सिण्डिकेट अन्त्यको गफ कहाँ गयो ? ३३ केजी सुन कहाँ गयो ? यती ग्रुपलाई पाथीभराको सयौं रोपनी जग्गा किन सित्तैमा दिएको ? अरु जग्गाको हकमा त कांग्रेसले पहिले नै दिएको भन्नुहुन्छ , त्यो त कांग्रेसले दिएको होइन नि ? फेरी कांग्रेसले गरेका गलत कामलाई तपाईँले निरन्तरता दिने भए किन नेकपा भनिरहुन प¥यो ? कांग्रेसको कार्यकर्ता भए भएन र ? कांग्रेसकै पालामा गोकर्ण रिसोर्ट लगाएतको जग्गा कौडीको भाउमा कुनै व्यापारीलाई दिने निर्णय भएको रहेछ रे । के तपाईँबाट नागरिकले गरेको अपेक्षा अघिल्ला सरकारले गरेका जायज ÷ नाजायज कामको निरन्तरता हो ? तपाई त मुलुक परिवर्तन गर्छु भनेर आउनु भएको होइन र ? तपाईँकै पार्टीकी नेतृ अष्टलक्ष्मी शाक्यले तपाईँले आफ्नो जन्मदिनमा केक काटेको विषयमा प्रश्न
उठाइन् । उनको प्रश्न थियो, यो हाम्रो संस्कार होइन । हामी त जन्मदिनमा उज्यालोको प्रतिक बत्ती बाल्छौं तर केक काटेर बलिरहेका बत्ती निभाउने परम्परा हाम्रो होइन । हाम्रो सोच र व्यावहार कता जाँदैछ भन्नेकुराको प्रर्दशन भएको उनेको बुझाई थियो । मेरो प्रश्न, तपाईले तपाईंकै भाषामा साम्राज्यवादी पश्चिमाहरुको जन्मदिन मनाउने शैलीको अनुसरण किन गर्न परेको ? नेपाली पत्रपत्रिकाले पश्चिमा शैली पछ्याउँदै समाचार लेख्दा सबैलाई तिमी भन्दा नेपाली संस्कार बिगारेको भनेर पत्रकारहरुलाई घारेहात लगाउने प्रधानमन्त्रीले उनै पश्चिमाको बर्थ डे शैली किन पछ्याएको ?
फागुन ३, २०७४ मा तपाईँ प्रधानमन्त्री हुँदा संसदको सपथ समेत खाइसक्नु भएको थिएन । के संसदको सपथ नखाएको अर्थात संसद नै नभएको मानिस प्रधानमन्त्री बन्न मिल्छ ? तपाईको पार्टी तत्कालिन एमाले बहुमत नजिक थियो । तत्कालिन माओवादी केन्द्रसंग पार्टी एकता गर्ने निश्चित जस्तै थियो । यसो गर्दा तपाईसंग झण्डै दुइतिहाई सांसदको साथ रहन्थ्यो अर्थात तपाई प्रधानमन्त्री बन्ने निश्चित नै थियो । यस्तो अवस्थामा सांसद पदको सपथ समेत नखाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने किन हतार गर्नुभएको ? संविधानिक व्यवस्थाको उल्लङ्घन किन ? अरुलाई संविधान र कानुनका पाठ सिकाउने तपाईले चाहिँ कानुन र संविधानको प्रावधानको पालना गर्नु पर्दैन ? तपाईँलाई संघीयता विरोधी भन्ने कि नभन्ने ? संघियता विरोधी नभए किन प्रदेश सांसदहरुको आफ्नो प्रदेशको नामाकरण र राजधानी तोक्ने अधिकारमा अंकुश लगाउँदै यस्तो नाम राख र राजधानी यहाँ तोक भनेर प्रदेश सरकार र सांसदहरुलाई पार्टीले निर्देशन गरेको ? प्रदेश सरकारहरुलाई किन निकम्मा बनाएको ? हुन त नेपाललाई संघियतामा लैजाने कुरा बयलगाडामा चढेर अमेरिका जानु जस्तै हो भन्ने तपाईँ बाट संघियताको पक्षमा सकारात्क कामको आशा गर्नु व्यर्थ होला । तर संघियतालाई आत्मसाथ गरेको संविधानको व्यवस्थामा टेकेर कार्यकारी प्रमुख बनेका तपाईबाट हामीले खोज्ने त संविधान अनि संघियता अनुकुलको आचरण होइन
र ?
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ परेकाले तपाईको पार्टी र संघिय तथा प्रदेश सरकारमा समेत महिला सहाभागिताको विषयमा प्रश्न गर्न मन लाग्यो । जब पार्टीका महिला नेतृहरुले संविधान र पार्टी विधानले दिएको ३३ प्रतिशत सहाभागिताको कुरा गर्छन्, तपाई त्यसलाई आइएनजिओको पैसामा ट्याउँट्याउँ नगर्न निर्देश गर्नु हुन्छ । संविधानले भनेको छ, हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य छ । अनि तपाईंको पार्टी विधानले पनि सोही कुरा सकार गरेको छ । तर तपाईंको पार्टीको हाइकमाण्ड भनिने ९ सदस्यीय सचिवालयमा एक जना पनि महिला नेतृत्वले ठाउँ पाउन सकेनन् अर्थात अध्यक्षका रुपमा तपाईंले दिन चाहनु भएन । अर्काै शक्तिशाली निकाय स्थायी समितिमा कूल ४५ सदस्य रहने व्यवस्था छ तर त्यसमा पनि पम्फा भुसाल र अष्टलक्ष्मी शाक्यमात्र अटाए । मेरो गणित कमजोर छैन भने यो त पाँच प्रतिशत पनि भएन । तपाईंले परम्परागत र प्रतिगामी शक्ति भनेको कांग्रेसको केन्द्रीय समितिमा हुने ८५ मध्ये १७ सदस्य महिला छन्, जुन २० प्रतिशत हो तर प्रगतिशिल भन्ने तपाईंको पार्टीको चार सय४१ केन्दीय समितिमा जम्मा ७२ अर्थात १६.३३ प्रतिशत महिला मात्रै छन् ।
अब सरकारमा महिला सहभागिताको कुरा गरौं । तपाईंले नेतृत्व गरेको संघिय सरकारमा जम्मा २३ सदस्य छन्, जसमा जम्मा ३ जना महिला मन्त्री छन् र यो १३ प्रतिशत मात्र हो । ६ वटा प्रदेशमामा तपाईंकै पार्टीको सरकार छ तर कुनै प्रदेशको मुख्यमन्त्री महिला छैनन् । बागमती प्रदेशमा एउटापनि महिला मन्त्री छैनन् । के महिलाको पर्याप्त सहभागिता विना तपाईंले भनेको समृद्ध नेपाल सुखी नेपाली बन्न सक्छ ? आधाबढी जनसंख्यालाई हेला –होचो गरेर देश अगाडि बढ्न सक्छ ?
यी र यस्तै धेरै प्रश्नको जवाफ तपाईंसंग खोज्नु छ । पछि कुनै बेला ति प्रश्नपनि राखौंला । अस्तु ।

Related posts

किरियापुत्री भवनलाई सहयोग

admin

सम्झनामा गिरिजा बाबु

admin

रसुवामा देखिएसंगै ७७ जिल्लामा पुग्यो कोरोना संक्रमण

admin