25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

हाम्रा प्रधानमन्त्रीलाई केही निम्छरा प्रश्नहरु

रमेश विकल

केही सयम अगाडि संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका काम कारवाहीका बारेमा जब प्रश्न ग¥यो, प्रधानमन्त्रीको जवाफ थियोः म यस्ता निम्छरा प्रश्नहरुको जवाफ दिइरहनु आवश्यक ठान्दिन । लोकतन्त्रका लागि लामो समय लडेको र १४ वर्ष जेल बसेको भनेर कहिल्यै नथाक्ने अनि आफुलाई लोकतन्त्रको पाठ कसैले सिकाउन नपर्ने बताइरहेन प्रधानमन्त्री ओलीलाई लोकतन्त्रमा प्रश्न गर्न पाउने नागरिक अधिकारका बारेमा बताइरहनु नपर्ने हो । आफ्ना प्रधानमन्त्रीलाई हामीले प्रश्न गर्न पाउनु पर्छ र उनले पनि ति प्रश्नहरुको आवेग र झुठको सहारामा होइन अनि प्रश्नकर्तालाई होच्याउने ढंगले होइन, सम्मान पूर्वक जवाफ दिनुपर्छ भन्ने म ठान्दछु । यो लोकतन्त्रमा विश्वास राख्ने संसारका सबै नागरिकको विचार र विश्वास पनि हो ।
मेरो र संसारका लोकतन्त्रमा विश्वास राख्ने नागरिकको विचार र विश्वास एक ठाउँमा छ तर हाम्रा प्रधानमन्त्रीलाई आलोचनाको आलोक मन पर्दैन । प्रश्न गरेको मन पर्दैन । त्यसैले उनी आफुलाई प्रश्न गर्ने माननिय सांसदहरुलाई निम्छरा प्रश्न गरेको भनेर खिसिट्युरी गर्छन् । प्रश्न गर्ने पेशा भएकाहरुलाई प्रश्न गरेकै कारण जागिरबाट अवकाशको पत्र थमाइ दिन्छन् । कहिले प्रश्नकर्ता र आलोचकहरु माथि अरिङ्गाल बनेर चिल्न आफ्ना कार्यकर्तालाई आदेश दिन्छन् त कहिले बघिनी बनेर झम्टन निर्देश गर्छन । उनैका प्रिय पात्रहरु आलोचक र प्रश्नकर्ताहरुलाई थला पर्नेगरी कुट्न कार्यकर्तालाई अह्राउँछन् । राज्य संञ्चालकहरुको यो अराजकता शायद संसारमा अन्यत्र कतै देख्न र सुन्न पाइँदैन । सरकारी अरिङ्गालले चिल्ने अनि बघीनीहरुले झम्टिने डरलाई पन्छाउँदै प्रधानमन्त्रीलाई यसपटक केही निम्छरा प्रश्नहरु गर्ने हिम्मत जुटाएको छु । यी प्रश्नहरु मेरा भन्दापनि आम नेपाली नागरिकका हुन्, जसले कुनै पनि माध्यमबाट उनलाई प्रश्न गर्न सक्दैनन् । आफ्नै मन्त्रीहरुले समेत भेट नपाउने प्रधानमन्त्रीलाई ती सर्वसाधारण नेपाली जोसंग अनगिन्ति प्रश्न छन्, तिनले भेट्ने र प्रश्न गर्न पाउने कुरै भएन अनि यसरी पत्रपत्रिका मार्फत प्रश्न गर्ने भेउपनि पाउँदैनन्, ति सबैका प्रश्नहरु हुन यि ।
प्रश्न एक, निर्मला पन्तको बलात्कारी हत्यारा ,कहिले भेटिन्छ ? अझै कति दिन दुर्गादेवी पर्खनुपर्ने हो, आफ्नी छोरीको बलात्कारी हत्यारालाई कानुन अनुसारको सजाय भएको देख्न ? तपाई सजिलै भनिदिनु हुन्छ, कि हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ । के तपाईंकी छोरी भएकी भए र उसको पनि निर्मलाको जसरी नै बलात्कार र हत्या भएको भए तपाईं त्यसो भन्न सक्नु
हुन्थ्यो ? फेरी प्रधानमन्त्रीका रुपमा तपाईं त देशभरका सबै नागरिकको अभिभावक होइन र ? अनि एउटा अभिभावकले कसरी त्यस्तो भन्न सक्छ ? नेपाली जनतालाई अचम्म लागेको छ, ताज्जुब लागेको छ, आश्चर्य लागेको छ । उक्त हत्याकाण्डमा संलग्न भनिएका बम दिदी बहिनीको बचाउमा जसरी लाग्नु भयो अनि आफ्ना विश्वास पात्र गोकुल बास्कोटाको अडियो टेप काण्डमा जसरी उनको प्रतिरक्षामा उत्रनु भयो,यस्तो लाग्यो तपाईँ प्रधानमन्त्री होइन् प्रधान न्यायाधीस हो,जसले को निर्दाेश र दोषी छ भनेर फैसला गर्छ । के कार्यकारी प्रमुखले यस्तो कार्य गर्न सुहाउँछ ?

प्रश्न दुइ, एनटीसीको फोरजी काण्ड जसमा नेकपाकै नेतृ रामकुमारी झाँक्रीले ५ अर्वमा हुने काम २१ अर्वमा गराइएको भनेर प्रश्न गरेकी छन् । विपक्षीले गरेको भए पूर्वाग्रह राखेर गरेको प्रश्न भन्न हुन्थ्यो , यो प्रश्न त तपाइँकै दलको नेताले गरेको हो । ५ अर्बमा हुने कामको लागत बढाएर २१ अर्ब किन पु¥याएको ? कि तपाईलाई यो विषयमा थाहा थिएन् ? थियो भने भ्रष्टाचार आफु पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने तपाईले यसमा संलग्न को–कोलाई कारवाही गर्नु भयो, जान्न पाए हुने ? होइन जान्नु भएको थिएन भने तपाईको राज्य सञ्चालनको क्षमतामा प्रश्न उठाउन पाउने कि नपाउने ? किनभने सम्बन्धित मन्त्रालय त तपाईंको विश्वास पात्रको हातमा थियो नि ?
प्रश्न तीन, भारतबाट आयातगरिने तरकारीको विषादी परिक्षण रोकेको । तपाईको राष्ट्रवाद कहाँ गयो त्यतिबेला ? भारतले नेपालको लिपुलेक र कालापानी क्षेत्र समेटेर आफ्नो राजनैतिक नक्सा सार्वजनिक गरेको पनि चार महिना वितिसक्यो । यस बिचमा नक्सा निकाल्नु कुन ठूलो हो र त्यो त हामी छिन् मै गर्छाैं जमिन फिर्ता ल्याउने हो भन्ने भाषण गर्नु बाहेक अरु के गर्नु भयो ? नेपाली जनताले थाहा पाएका छैनन् । यस बारेमा के भएको छ भनेर प्रश्न गर्न पाइने कि नपाइने ?
पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाइएको किन ? पहिला बुढी गण्डकी जलविद्युत आयोजनाका लागि भनेर जम्मा पारिएको प्रतिलिटर रु ५ का दरले उठाएको अरबौं रुपैयाँ कहाँ गयो थाहा छैन । पहिले पनि पूर्वाधार विकासको नाममा नेपालीले प्रतिलिटर रु ५ कर तिरकै हुन, त्यसले नपुगेर फेरी त्यहि नाममा थप प्रतिलिटर रु ५ कर उठाएर ब्रम्हलुट गर्ने खोजेको भनेर भन्न पाइने कि नपाइने ?
प्रश्न चार,मानवशास्त्री डा. मेरी डेसेन जो आफै अमेरिकी हुन् र वासिङ्टन युनिभर्सिटीमा अनुसन्धाताका रूपमा छन् उनका भनाइमा, देशको आर्थिक व्यवस्था नवउदारवादतिर लैजान, पश्चिमा प्रभुत्व कायम राख्न र पुँजीवादी मार्गहरू खोल्न बिछ्याएको जाल हो, एमसिसी । त्यसो भए तपाइँ किन एमसिसी पास गर्न मरिहत्ते गरिरहनु भएको छ । के तपाईँसंग यसको उपयुक्त जवाफ छ ? कांग्रेसले नियुक्त गरेका राष्ट्रिय सभा सदस्य तपाईलाई उपयुक्त लागेनन् र हटाउनु भयो । उही कांग्रेसले नियुक्त गरेका प्रदेश प्रमुख तपाईँका लागि अनुपयुक्त भए र हटाउनु भयो तर सबैले अनुपयुक्त भनेको एमसिसी किन पारित गर्न खोज्दै हुनुहुन्छ ? अरु सबैकाम कांग्रेसले गरेका काम गलत तर यो मात्र तपाईँका लागि कसरी उपयुक्त लाग्यो ?
यी र यस्तै तपाईलाई निम्छरा लाग्ने प्रश्नहरु मसंग बाँकी नै छन् । आगामी अंकहरुमा सोध्ने छु । अहिलेलाई यत्ति नै ।

Related posts

असहिष्णु बन्दै सत्ताधारीहरु र सिङ्गो सरकारी संयन्त्र

admin

वेल्फेयर ट्रष्टबाट सुरक्षा सामाग्री प्रदान

admin

नेकपाको एकता टुंङ्गियो -नेतृत्वमा महिला सहभागिता दयनिय्

admin