28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

कुरा बेथितीका

शिक्षक सेवा आयोग जस्तो संस्थाबाट राष्ट्रिय रुपमा सञ्चालित यति ठूलो कार्यक्रममा कसरी यस्तो त्रुटी सम्भव भयो ? के यो कर्मचारीको लापरवाही र वेथितीको पराकाष्ठा होइन ? के परीक्षा सार्दैमा मात्र शिक्षक सेवा आयोगको कमजोरीलाई भुल्न सकिन्छ ? कसले ग–यो यति ठूलो त्रुटी ? कसरी हुनु पुग्यो ? राष्ट्रिय रुपमा सञ्चालन हुने यति ठूलो परीक्षाको न्यूनतम संवेदनशिलतलाई पनि किन ध्यान पु–याउनु सकेन शिक्षक सेवा अयोगले ? कसले लिने यसको नैतिक जिम्मेवारी ?

छविदीप आले
[email protected]

“नेपाल हल्लै हल्लाको देश हो । यहाँ धेरै कुराहरु सुरसुरैमा, तालतलैमा हुन्छ ।” अलिक समय पहिला हो एकदिन चिया गफमा खै के प्रसंगमा हो एकजना सज्जन मित्रले यो कुरा भन्नु भएको थियो । त्यतिखेर होमा हो मिलाएर हाँसो हाँसो मै यो कुराको बीट मारियो । त्यस यता ति मित्रको त्यो कुरा खासै सोचाइमा आएको थिएन् । तर दुइ चार दिन भयो ति मित्रको कुराले भित्र भित्रै कताकता घचघच्याईरहेको महसुस भएको छ । चिया गफमा सुन्नको लागि ति मित्रको कुरा जति रमाइलो थियो, कतै हाम्रो देशको अवस्था वास्तवमा त्यस्तै त छैन ? के नेपाल साँच्चै हल्लेहल्लाको देश हुने हो त ? केही दिन देखि यि कुरा मेरो मस्तिष्कमा घुमिरहेको छ । प्रसंग हो शिक्षक सेवा आयोगले लिएको अध्यापन अनुमति पत्रको परीक्षाको ।

केही वर्षको अन्तरालपछि यही वर्ष शिक्षक सेवा आयोगले असोज ९,१० र ११ गते अध्यापन अुनमति पत्रको लागी परीक्षा सञ्चालन ग¥यो । त्यो पनि नितान्त नयाँ ढंगले, विगतको भन्दा विल्कुलै फरक अभ्यास । जुन आफैमा स्वागत योग्य र प्रशंसनिय थियो । परीक्षार्थीहरुमा पनि एक किसिमको कौतुहलता र जिज्ञासा थियो । सायद शिक्षक सेवा आयोग स्वयम् पनि एक किसिमको नयाँपन महसुस गरिरहेको थियो । तर असोज १० गते सञ्चालित मावि तहको अंग्रेजी विषयको परीक्षामा वस्तुगत प्रश्नपत्र तर्फ सेट घ मा समस्या आईदियो । वितरण गरिसकिएको प्रश्नपत्र फिर्ता माग्ने देखि अर्काे सेट दिने काम पनि भयो । अन्त्यमा शिक्षक सेवा आयोगको विश्वसनियता माथि नै प्रश्न उठेपछि आगामी कार्तिक २३ गने पुनः परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

मलाई घचघच्याईरहेको, मेरो मन मस्तिष्कमा खेलिरहेको र मैले नुबुझेको कुरा यही निर हो । शिक्षक सेवा आयोग जस्तो संस्थाबाट राष्ट्रिय रुपमा सञ्चालित यति ठूलो कार्यक्रममा कसरी यस्तो त्रुटी सम्भव भयो ? के यो कर्मचारीको लापरवाही र वेथितीको पराकाष्ठा होइन ? के परीक्षा सार्दैमा मात्र शिक्षक सेवा आयोगको कमजोरीलाई भुल्न सकिन्छ ? कसले ग–यो यति ठूलो त्रुटी ? कसरी हुनु पुग्यो ? राष्ट्रिय रुपमा सञ्चालन हुने यति ठूलो परीक्षाको न्यूनतम संवेदनशिलतलाई पनि किन ध्यान पु¥याउनु सकेन शिक्षक सेवा अयोगले ? कसले लिने यसको नैतिक जिम्मेवारी ? के आयोग प्रमुखले मान्छेबाट काम गर्दै जाँदा गल्ती भै हाल्छ भन्न् मात्र पर्याप्त हुन्छ ?

यी त भए नैतिकताको पाटोको कुरा । अब अर्काे पाटोलाई पनि हेरौं । यहि परीक्षा सञ्चालन प्रश्न निर्माण गर्न विषय विषेशज्ञलाई पारिश्रमिक दिन मात्र कति रकम खर्च भयो होला ? प्रश्नपत्र देखि उत्तर पुस्तिका सम्मको छपाई र व्यवस्थापनमा कति खर्च भयो होला ? परीक्षा केन्द्र, परिवेक्षक भत्ता, सुपरिवेक्षक भत्ता, खाजा, ढुवानी अनि अरु कति हो कति विविध शिषकमा खर्च । यी सबै कुराहरुको विश्लेषण गर्ने हो भने असोज १० गतेको लागि मात्र राज्यको ढुकुटीबाट करोडौ रुपैयाँ खर्च भएको छ । जुन प्रत्येक नेपालीले आफ्नो गास काटेर तिरेको करबाट संकलित रकम हो । तर शिक्षक सेवा आयोगको लापरवाहीले गर्दा एक दिनमै राज्यको करोडौं रकम स्वाहा भएको छ । र शिक्षक सेवा अयोगको गल्तीको जरिवाना स्वरुप कार्तिक २३ गते पुनः करोडौंको हर्जाना तिर्नुपर्ने भएको छ । यसको जिम्मेवारी कसले लिन्छ ? के करोडौं नेपालीले तिरको करको पैसा यसरी नै गल्ती गर्दै एकै दिनमा स्वाहा बनाउन पाईन्छ, जवाफ कसले दिने ?

अब नैतिकता र आर्थिक पाटोलाई छोडेर आर्को पाटोलाई हेरौं । असोज ९ १० र ११ गते सञ्चालन हुने परीक्षाको लागि ६ र ७ गते देखि नै दमौलीका होटल र लजहरु बुक्ड थिए । अन्य केन्द्रहरुमा पनि सायद यहि हालत थियो । ८ गते राती ११ बजे सम्म पनि कति महिला परीक्षार्थीहरु काखमा दूधेबालक च्याप्दै कोठा खोजीदिन प्रहरीसंग आग्रह गर्दै थिए, भने कति रात कसरी काट्ने भन्ने अन्यौल लिएर दमौलीको सडकमा एत्रतत्र छरिइरहेका थिए । परीक्षाकै दिनमा पनि बच्चालाई दूध खुवाउन आधा परीक्षा छोडेर आउने धेरै महिला परीक्षार्थी हुनुहुन्थ्यो । कतिले जेनतेन स्याहर गर्ने मानिसको व्यवस्था सम्म गरेका थिए । लमजुङ र गोरखाका गाउँ गाउँ देखि तनहुँको दमौली सम्म आएर होटलमा कोठा लिएर परीक्षा दिँदा के कति खर्च भयो त्यो अलग पाटो । तर खोई, उनीहरुको समस्या र संवेदनशिलताको सम्बोधन ? अब कार्तिक २३ गते हुने परीक्षामा पनि यही समस्याहरु पुनः दोहोरिन्छन् । के उनीहरुको समस्या र संवेदनशिलतको जिम्मा कसैले लिन्छ ? अहँ लिँदैन । शायद त्यसैले होला ति सज्जन मित्रले भन्नु भएको नेपाल हल्लै हल्लाको देश हो यहाँ धेरै कुराहरु सुरैसुरमा तालै तालमा हुन्छ ।

हुनत शिक्षक सेवा आयोगको त्यो गल्ती भनौं या लापरवाही नेपालको लागि नौलो कुरा होइन । किनभने आयोगको परीक्षा लिएर १० वर्षसम्म नतिजा प्रकाशन नहुने देश पनि यही नेपाल हो । सत्र वर्षसम्म शिक्षक सेवा अयोगले नयाँ शिक्षक छनौटका लागि कुनै विज्ञापन प्रकाशन नगर्ने देश पनि यही हो । बनेर नसकिँदै पुल भत्कने देश पनि हाम्रै हो । कालोपत्रे भएको हप्ता नबित्दै उप्किने सडक भएको पनि यही देशमा हो । राज्यका उच्च ओहोदाको त कुरै बेग्लै उनीहरुका आसोपासे अगाडि पछाडिका सम्मलाई हाच्छ्युँ आउँदा विदेश पठाउन सक्ने देश पनि यही नेपाल हो । यस्ता धेरै बेथितीका कुराहरु छन्, जुन जुन केवल नेपालमा मात्र सम्भव हुन्छन् । त्यो बेथितीको प्रकोप नेपालबाट कहिले सकिन्छ ? यो कुरा या त उनै पशुपतिनाथलाई थाहा होला या त मौन भएर काठमाण्डौं नियाल्ने स्वयम्भू नाथलाई । यो बेथिती छिट्टै उम्मुलन होस् अल्लाहसंग दुवा गर्दछु । जिससले सबैलाई सहि मार्ग देखाउन । अस्तु

Related posts

ऋषिङ्गको कान्छेमा विद्युतिकरण सम्पन्न

admin

फोहोर व्यवस्थापनमा व्यानपाको नियम

admin

SEE काे परीक्षा स्थगन-सम्पादकीय

admin