30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

क्षत–विक्षत बनाइयो गुणादी महेन्द्रपुरलाई

बलभद्र खनाल

तत्कालिन राजा महेन्द्रले नेपाललाई भारत र चीनबाट बेग्लै पहिचान भएको राज्य हो भन्ने कुरा अन्तर्राष्ट्रिय जगतलाई चिनाउन दुबै देशमा नभएको पञ्चायती व्यवस्था लागू गरी देश विकास गर्ने उद्देश्यका साथ अगाडी बढेका थिए । बीपी कोइरालाको प्रधानमन्त्रीत्व कालमा परराष्ट्र मन्त्री बनेका डा. तुलसी गिरी तथा मन्त्री बनेका विश्ववन्धु थापा र न्यायपालिका, कार्यपालिका, व्यवथापिकाका पुराना अनुभवि मानिसहरु साथमा लिएर २०१७ साल पौष १ गते प्रजातन्त्रलाई कु गरेर पञ्चायत व्यवस्था लागू गरेका थिए । उनले सत्र सालको परिवर्तन पछि ऐन तथा नियमहरु बनाएर विभिन्न सुधारहरु गरेका थिए । नेपाललाई पाँच विकास क्षेत्र र चौध अञ्चलमा विभाजित गरिएको थियो । देशको विकासको लागि आफ्नो देशको बजेट र मित्र राष्ट्रहरुको सहयोगबाट विरगञ्ज चिनी कारखाना, हेटौडामा कपडाउद्योग, बुटवल धागो उद्योग, नेपालगञ्जमा कपास कारखाना, गंैडाकोटमा कपडा कारखाना, काठमाण्डौंमा बाँसबारी छाला जुत्ता कारखाना, भक्तपुरमा इट्टा कारखाना र जनकपुर चुरोट कारखानाहरु निर्माण गराएका थिए । अरनिको राजमार्ग, पृथ्वी राजमार्ग निर्माण गराएका थिए । चौधै अञ्चलका विभिन्न ठाउँमा विद्यालयहरु खोलिएको थियो । काठमाण्डौमा ट्रली बस र साझा यातायातको सुविधा पनि मिलाएका थिए । कुलेखानी लगाएत विभिन्न क्षेत्रमा विद्युत उत्पादन भएको थियो ।

राजा महेन्द्रले पहाडमा बसोबास गरेका मानिसहरुलाई तराइमा लगेर बसोबास गराई नेपालको सिमा सुरक्षा गरेका थिए । अधिराज्य भरी ४ हजार गाउँ पञ्चायत र नगर पञ्चायत गठन गराएका थिए । तनहँु जिल्लामा ४१ गाउँ पञ्चायत गठन गरिएको थियो । यी मध्ये पूर्वमा व्यासले १८ पुराण रचना गरेको मादी सेतीको दोभान( दमौली ), पश्चिम जामुने भञ्ज्याङ गाउँ पञ्चायत, दक्षिणमा सेती नदी, उत्तरमा मादी नदी यती चार किल्ला भित्र ब्राम्हण, मगर, नेवार, क्षेत्री, कामी दमाई, सुनार, सार्की, दरै, बोटे, कुमाल, गरुङ जस्ता जातजाति बसोवास गरेको क्षेत्रलाई गुणदी महेन्द्रपुर गाउँ पञ्चायत नामाकरण गरी ९ वडामा विभाजित गरियो । वडा नं १ मा कालुराम थापा, २ मा मोलीलाल सुनार, ं ३ मा ऋषिराम वाग्ले,४ मा गेहेन्द्रराज खनाल, ५ मा रामचन्द्र खनाल, ६ मा सूर्यनाथ खनाल,ं ७ मा प्रेमबहादुर आले, ८ मा पद्मराज खनाल र ९ मा खउबहादुर सुनारी मगर वडाध्यक्ष निर्वाचित हुनु भयो । तिनै मध्येबाट गेहेन्द्रराज खनाल प्रधानपञ्च र खउबहादुर सुनारी उपप्रधानपञ्च तथा जिल्ला प्रतिनिधिमा रामचन्द्र खनाल चयन हुनु भयो । मासिक तलब रु ३० पाउने गरी लेखकलाई गाउँ पञ्चायतको सचिवमा नियुक्त गरियो । त्यतिबेलाका पञ्चहरुले घर धुरी कर उठाउने, रेडियो तथा बन्दुकको लाइसेन्स नविरण गर्ने काम गर्थे । सिफारिस दस्तुर रु ३ लिने चलन थियो ।

पञ्च नेताहरुले गाउँबेसी गर्ने, पंधेरा वा कुवामा जाने, वल्लोपल्लो गाउँ जाने बाटाहरु जनसहभागिता जुटाएर मर्मत गर्ने गर्दथे । जिल्लाबाट आएको अनुदान योजनाहरु २५÷५०्र÷ ७५ प्रतिशतले जनताको सहभागिता गराई योजना सम्पन्न गराउँथे । पञ्चहरुको तलब, भत्ता वा पारिश्रमिक केही थिएन तर गाउँ घरमा कसैको वस्तुले खेती नोक्सानी गरिदियो भने त्यहाँ गएर विगो ठेकी नोक्सानी वालालाई दिलाईदिन्थे । कसैको बाँध–कुलो, सन्धी सर्पनमा खिचलो भए पनि उनीहरु नै गएर मिलापत्र गराइ दिन्थे । प्रधानपञ्च छविलाल थापाको पालामा जिल्लाबाट आएको अनुदान रु ५हजार सबै वडाको सहभागिता जुटाई गाउँ पञ्चायत भवन र काञ्जी हाउस निर्माण गरिएको थियो । भोजराज खनालको पालामा अनुदान तथा स्थानीय श्रम जुटाएर महेन्द्र प्राथमिक विद्यालयको भवन निर्माण गरिएको थियो ।

तनहुँको सदरमुकाम बन्दिपुरबाट दमौली सारेपछिको निर्वाचनमा महेन्द्रपुर गापंका १ र २ वडालाई दमौलीमा र बाँकी वडाहरुलाई जामुने गापंमा गाभियो । दुई दशकपछिको निर्वाचनमा ४ कोष टाढाको सिशाघाट, बाहुन पोखरा तथा केशवटारलाई व्यास नगरपालिकामा गाभियो तर दुई किलोमिटर परको गुणादी महेन्द्रपुरलाई म्याग्दे गाउँ पालिकामा लगेर क्षत विक्षत बनाइयो ।

Related posts

लायन्स क्लबको नेतृत्वमा भण्डारी

admin

मानवतावादी जाँ हेनरी ड्युनाप्रति श्रद्धासुमन

admin

प्रेस युनियन तनहुँको ध्यानाकर्षण

admin