Tanahun Awaj
Uncategorized

संहिताले अल्मल्याएको सम्बन्ध विच्छेद

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
मुलुकी ऐनले आजको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन, यसमा सम्सोधन गरेर पनि आजको समाजको आवश्यकताको कानून बन्न सक्दैन भन्दै हाम्रो नेपाली पहिचान र मौलिकता बोकेको मुलुकी ऐनलाई विस्थापन गर्ने तर्कलाई अघि सारियो । यूएनडिपीको बैशाखी टेकेर उभिएका हाम्रो विज्ञ समूहले बनाएको सहिताले आजको नेपाली समाजलाई कति सम्बोधन गर्न सक्यो, कति सकेन । कति अल्मल्यायो नेपाली समाजले मूल्याङ्कन गर्न थालेका छन् । मुलुकी संहिता नेपाली समाजमा लागू भएको आठ महिनामा पहिलो संसोधन २०७६ बैशाख २ गते भयो । त्यो संसोधनले पनि सम्बन्ध विच्छेदको कानूनलाई हाम्रो आजको आवश्यकतालाई सम्बोधन गर्न सकेन । पीडितहरु हाम्रो कानूनले अनाहकमा हामीलाई अल्मल्यायो भन्ने दुखानुभूति गरिरहेका छन् ।

संम्बन्ध विच्छेदमा भएको पहिलो सम्सोधनः
मुुलुकी देवानी संहिता २०७४ मा पहिलो सम्सोधन कार्यान्वयनमा आएको आठ महिनापछि २०७६ बैशाख २ गते भयो । सम्बन्ध विच्छेद गर्ने कानून संसोधनमा परेको दफा ९६ मात्रै हो । भएको सम्सोधन भनेको ‘अदालत’ भन्ने शब्दको अगाडि ‘सम्बन्धित जिल्ला’ भन्ने शब्द थपिएको छ । त्यो बाहेक अरु कुनै संसोधन भएको छैन ।

अल्मलिएको सम्बन्ध विच्छेदः
संहिताले हाम्रो नेपाली समाजमा सहज बन्दै गएको सम्बन्ध विच्छेदलाई असहज बनाएको छ । पहिलो त दफा ९३ ले गरेको दुबैको मन्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने कानूनी व्यवस्थाको व्यवहारिक प्रयोग कसरी गर्ने स्पष्ट हुन अझै सकेको छैन । अथवा शुरुमै पतिपत्निले संयुक्त निवेदन लिएर जाँदा अदालतबाट निवेदनको कारवाही अगाडि बढेन । दफा ९६ ले गरेको व्यवस्था एक पक्षको निवेदनको हो । दुवै पक्षले चाहेर गएमा वादी प्रतिवादी नभैकन पनि संयुक्त निवेदनबाट सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था दफा ९३ ले गरेको कानून व्यवसायीहरुको बुझाई रहेको छ । तर यसको व्यवहारिक कार्यान्यन गर्न अदालतले अस्विकार गरेको छ । दोस्रो अल्मल्याई दफा ९८ को प्रतिबन्धात्मक व्यवस्थामा छ । त्यो एक बर्ष पछि सम्बन्ध विच्छेद गराई दिन पर्नेछ भन्ने व्यवस्था हो । यो व्यवस्थाले वादी प्रतिवादी मध्ये कुनै एक पक्षले दुःख दिन चाहेमा एक बर्षसम्म अल्मल्याई दिन सक्ने व्यवस्था कायम रहेको छ ।

अल्मलिने अवस्थाः
वादी प्रतिवादी मध्ये कुनै एकले सम्बन्ध विच्छेद गर्न नचाहेमा एकबर्षसम्म फैसला गर्नबाट कानूनले रोकेको छ । सम्बन्ध कायमै राख्न चाहेको हदसम्म त यो व्यवस्थालाई अल्मल्याएको बुझ्न हुँदैन । तर प्रतिउत्तर लगाएर तारिख छोड्ने, प्रतिउत्तरै नलगाउने, मिलापत्र गर्न नआउनेहरुको हकमा सम्बन्ध विच्छेदको यो व्यवस्थाले अल्मल्याएको छ । आजकल दोस्रो विवाह गर्न मन लागेपछि पहिलोलाई दुःख हैरानी दिने, मानसिक यातना दिने, सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्न प्रेरित गर्ने जस्ता प्रबृत्तिहरु बढ्दै गएको पाईएको छ । दोस्रो, विवाह गर्ने दुराषयका साथ आएको सम्बन्ध विच्छेदको हकमा भने एक बर्ष अल्मल्याउनुलाई स्वभाविक मान्न सकिन्छ । तर पनि एक बर्ष पछि अदालतले सम्बन्ध विच्छेद गराई दिनु पर्नेछ भन्ने वाक्याशंले न्यायकर्तालाई प्रमाण, परिस्थिति र परिवेशको मूल्याङ्कन गरी न्यायीक मनबाट निर्देशित भएर निर्णय गर्नबाट रोक लगाएको बुझिन्छ ।

निष्कर्षः
पतिपत्निको सम्बन्ध कायम रहने अवस्था विश्वासको धरातलमा मन मिलेको अवस्थामा मात्रै हो । जब विश्वासको संकट हुन्छ, दील टुट्न जान्छ, तब पतिपत्निको सम्बन्ध कायम राख्नु भन्दा विच्छेद गर्नु नै दुवै पक्षको लागि हितकर हुन्छ । परिवारका अन्य सदस्य वा तेस्रो पक्ष (विचौलिया) को दवावमा आएको स्वार्थ प्रेरित सम्बन्ध विच्छेदको पृष्ठभूमिको न्यायीक विवेचना गर्न न्यायमूर्तिलाई नदिई एकबर्ष पछि सम्बन्ध विच्छेद गराई दिनु पर्ने कानूनी व्यवस्था अव्यवहारिक छ । त्यसैगरी न्यायीक विवेचना विना नै एकबर्षसम्म फैसला गर्नबाट रोक्नु पनि न्यायलाई संहिताले अल्मल्याएको अवस्था हो । ढिलो चाँडो यो कानूनमा संसोधन हुनेनै छ ।

Related posts

सम्वादबाट समाधान खोजौंः नेका तनहुँ

admin

साधारण सभा सम्पन्न

admin

झुट्टा उजुरी दिनेबाट क्षतिपूर्ति भराइ पाउने

admin