Tanahun Awaj
Uncategorized

छायाँ सरकारको आयु

रमेश विकल

–नेपाली कांग्रेसले गत महिना वर्तमान सरकारका काम कारवाहीको निगरानी गर्न प्रमुख प्रतिपक्षी दलको नाताले छायाँ सरकारको गठन ग–यो । त्यस लगतै सरकारी नेकपाका कार्यकर्ताहरुले छायाँ सरकारको आयु ५० वर्ष होस् भनेर सामाजिक सञ्जालहरुमा आफ्नो अभिमान पोखे । नपोखुन पनि किन यतिबेला उनीहरुको पार्टीको दुइतिहाइको सरकार छ । जो कोहीले चाहेर यो ढल्ने वा गल्ने वाला छैन ।

सरकारी नेकपाका ति कार्यकर्ताहरुको सामाजिक सञ्जालमा व्यक्त शुभेच्छा (?) भित्र मुलतः दुइवटा कुरा लुकेको छ । पहिलो त प्रतिपक्षलाई होच्याउने, निम्छरो देख्ने, सदनमा बोल्दा बोल्दै निर्धारित समय भन्दा पहिले नै माइक काट्ने अनि कुरा गर्दा हामीसंग दुइतिहाई छ भन्ने तर काम गर्न नसकेको भनेर आलोचना गर्दा प्रतिपक्षले काम गर्नै दिएन भनेर दुत्कार्ने नेतृत्व उनीहरुकै छ । जुन सिकाइमा हुर्कियो, जुन कुराले दीक्षित भएर हुर्कियो त्यही अनुसारको अभिव्यक्ति हनु त स्वाभाविक नै भयो । आलोचकहरुलाई ठेगान लगाउन विभिन्न स्वतन्त्रता विरोधी विधेयक सरकारले ल्याउँदा आँखा चिम्लेर स्वागतमा ताली पिट्ने सरकारी अरिंगालहरुलाई आफुले त्यही ठेगान लगाउन लागिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै प्रतिपक्षले निर्माण गरेको छायाँ सरकारलाई ५० वर्ष आयुको होस् भनेर भनिरहेका छौं भन्ने थाहा नभएको कुराले चाहिं आम नेपालीलाई आश्चर्यमा पारेको हुनुपर्छ । न भए आफ्नो आलोचना नसहने तर अर्कालाई खिसिट्युरी गर्न पाईन्छ ?

दोस्रो र कांग्रेसजनका लागि महत्वपूर्ण कुरा चाहिँ कांग्रेस भित्रको भद्रगोल हो । अब अन्य दलका कार्यकर्तालाई के लागेको छ भने यस्तै भद्रगोल कायम रहे कांग्रेस कहिल्यै सत्तामा पुग्न सक्दैन । अनि सदावहार प्रतिपक्ष हुने नै भयो । हुनपनि संविधानले देशलाई नयाँ संरचनामा लगे पनि कांग्रेसले आफ्नो संगठनलाई सो अनुकुल बनाउने जाँगर गरेको छैन । यसले आम नागरिकमा कांग्रेस संघियता विरोधी हो कि भन्ने भान पर्न थालेको छ । विधानले आठ तहको पार्टी संगठनको परिकल्पना गरेको छ तर यतिबेला कांग्रेसका जिल्ला कार्यसमिति र केन्दीय कार्य समिति गरी दुइवाट निर्वाचित निकाय मात्र छन् , संगठनका नाममा ।

महाधिवेशन भएको तीन वर्ष हुन लाग्दासम्म दुई महिनामा गठन भै सक्नुपर्ने विभाग र समिति बनाउन सकेको छैन कांग्रेसले । पार्टी जीवनको लागि सबैभन्दा महत्वपूर्ण नेपाल विद्यार्थी संघको पाँच महिना देखि केन्द्रीय समिति नै छैन । तरुण दलको अवस्था उस्तै छ । अरुको के कुरा केन्द्रीय कार्य समितिले अझै पूर्णता पाएको छैन । प्रतिनिधि सभाको निर्वाचन क्षेत्र घटेका छन् तर कांग्रेसका क्षेत्रीय सभापतिहरु पहिले जति नै छन् । झण्डै चारहजार स्थानीय निकायका सभापतिहरु छन् जबकि देशमा अहिले जम्मा ७५३ स्थानीय तह छन् । यसले पार्टी संगठन निर्माणमा नकारात्मक असर पारेको छ ।

स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरु पनि आफु कांग्रेसबाट निर्वाचित प्रतिनिधि भएको भुले झैं गरेर आफुलाइ बलियो बनाउने, आफ्नालाई जागिर खुवाउने धन्दामा लागेका छन् । यतिबेला पार्टी कमजोर भएको छ । मैले राम्रो काम गरेर पार्टीलाई बलियो बनाउनु पर्छ भन्ने तिर कमै जनप्रतिनिधि लागेका देखिन्छन् । वालुवाटार जग्गा काण्ड देखि वाइडबडी जहाज काण्ड सम्म सबैमा सभापति देउवालाई मुछेर सरकार आफु र आफुभित्रका भ्रष्टहरुलाई जोगाउने खेलमा लगेको छ तर कांग्रेस त्यसको शसक्त प्रतिवाद गर्दैन । जापानकमा राजदुत रहेकी आफ्नी सासुलाई फिर्ता नवोलाउने सर्तमा देउवा ओली सरकार प्रति नरम छन् भनने आरोप पनि छ, त्यसको पनि प्रतिवाद हुन सकेको छैन । यस्त ाअनगिन्ती घटनाहरु छन् जसले कांग्रेसलाई रक्षात्मक बनाउँदै लगेको छ । संसदमा लुते प्रतिपक्ष भन्नेमा कांग्रेस दरिएको छ । यी सबैलाई हेर्दा कांग्रेसको सत्तारोहण अब सजिलो छैन भन्ने अनुमान लगाउन सकिन्छ । सरकारी नेकपाका कार्यकर्ताको टिप्पणीलाई सकारात्मक रुपमा लिने हो भने कांग्रेस अब तिमिले आफुलाई दुरुस्त नगराउँदा तिम्रो भविष्य छैन भन्ने अर्थमा लिनुपर्ने हुन्छ ।

Related posts

कृषकलाई पशुपालन अभिमुखिकरण

admin

ए यस्तो पो……..

admin

परिषद पार्षदमा तनहु केन्द्रबाट दयाराम गौतमलाइ ४० र नारायणप्रसाद शर्माले ३१ मत एक मतदाताले दुबै उम्मेदारलाइ दिए मत

admin