20.7 C
Damauli
October 6, 2026
Tanahun Awaj
साहित्य

कविता-विद्या धन

विद्या धन
रमेश विकल

विद्या त्यो धन हो बाँडी कहिल्यै रित्तिन्न भण्डार हाम्रो
विद्याले सजियो भने मन यदि चाहिन्न मुहार राम्रो
अष्टावक्र पनि सुन्दर देखिए विद्या हुँदा साथमा
विद्या नभै हुन्न कोही राम्रो मुकुट भिरे नि माथमा

अल्छ्याईं नगरौं ऊँघी नबसौ, आर्जन गरांै यो धन
तनलाई मात्र होइन सबले सफा राखांै है मन
हामीलाई नम्र बनाउँछ यसले रिस थाम्न सक्ने पनि
बन्ने प्रयत्न गरौ हामी सबले विद्या धनले धनी

मनको क्लेष मेटाइ यसले पार्दिन्छ है सुघ्घर
तुल्याउँछ यसले हर जनको मनलाई झन सुन्दर
विद्या धन नहुने मानिसलाई अब कस्ले यहाँ गन्छ र ?
चोरी कसैले लान नसक्ने अरु कुनै धन छ र ?

देशमा मात्र होइन परदेशमा साथ राम्रो यसको अति
भएमा विद्यारुपि धन साथमा सुध्रिन्छ हाम्रो मति
नासिन्न कहिल्यै कसै गरे पनि अचम्मको यो धन
देखिन्छ सुन्दर त्यो मानिस जहिल्यै कुरुप भए नि तन
भोलीभन्ने हैन आजै सुरु गरौं विद्या धन आर्जन

साह्रै सजिलो बनाउँछ यसले जीवनको उपार्जन
जिउने कला सिकाउँछ यसले आनन्दले जीवन
बुझेर महत्व सबै जनले आर्जन गरौं यो धन

Related posts

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin

चट्याङ्ग चौतारी

admin

अँध्यारो जीवन

admin