दमौली/व्यास नगरपालिकाले एकिकृत जग्गा विकास कार्यक्रम लागू गर्ने भएको छ । नपाको रानीगाउँमा सातसय रोपनी क्षेत्रफल ओगटेको जग्गामा एकिकृत जग्गा विकास कार्यक्रम लागु गर्ने गरी सम्भाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय नगरपालिकाले गरेको छ । सोमबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरपालिकाले जनाएको छ । यसै गरी व्यानपाको नगर सभा माघ २८ र २९ गते गर्ने निर्णय समेत गरेको नपाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगरपालिकाले गत वर्ष जस्तै शहीद दिवसको अवसर पारेर दोस्रो खुल्ला व्यास अल्ट्रा म्याराथन प्रतियोगिता २०७५ समेत आयोजना गर्ने जनाएको छ । व्यास ५ को पर्यटकिय स्थल मानुङ देखि व्यास ८ को पुलिमराङसम्म सञ्चालन हुने म्याराथन आयोजनाका लागि नपाले नगर प्रमुखको अध्यक्षतामा मुल समारोह समिति समेत गठन गरेको छ । साथै वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठको संयोजकत्वमा दौड प्रतियोगिता व्यवस्थापन र सञ्चालन उपसमिति समेत वनाएको नपाले जनाएको छ ।
राष्ट्रिय भुकम्प दिवसको अवसर पारेर नपाले पौष २८ देखि माघ १८ सम्म विविध कार्यक्रमका साथ भुकम्प सुरक्षा दिवस २०७५ मनाउने निर्णय समेत गरेको छ । सोही बैठकले नगर क्षेत्रभित्रका काठका विद्युत पोल परिवर्तन गरी स्टील पोलहरु राख्ने समेत निर्णय गरेको छ । सो कार्यक्रम अन्तर्गत नगर भित्र तीनहजार पाँच सय दुईवटा पोलहरु वितरण गरिने छ ।