दशबर्षे सशस्त्र विद्रोह र १९ दिने आन्दोलनको बलमा मुलुकमा गणतन्त्र स्थापना भयो । मुलुकमा गणतन्त्र स्थापना गरेर क्रान्तिकारी परिवर्तन गरी विकासको अग्रगामी छलाङ्ग मारी दशबर्षमा स्वीजरल्याण्ड बनाउने प्रतिबद्धता जनाएका हरुले मलुकमा शासन गरेको २०६३ जेठ १५ गतेबाट हिसाब गर्दा पनि आज १७÷१८ बर्ष भएछ ।
मुलुक दश बर्षमा स्वीजरल्याण्ड वा सिंगापुर केही पनि बन्न सकेन । देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, अनियमिता, उद्यम, व्यवसाय, उद्योग गर्ने प्रतिकूल वातावरणले नेपाली युवाहरु विदेश पलायन भैरहेका छन् । बाह्र कक्षा पुरा गरेपछिका किसोर युवाहरु अधिकाँशलाई देशमा लोकसेवा लड्ने, निजामति सेवामा प्रवेश गर्ने, सेना पुलिस, आर्मिमा प्रवेश गर्ने कसैको सोंच पलाउन सकिदैन । आज अधिकांश नेपाली युवाको मुखबाट म त विदेश जाने हो भन्ने सुन्न पाइन्छ । कोहि कमाउन, कोहि पढ्न त कोहि सुरक्षित भविष्यको खोजिमा विदेशीने क्रम जारी छ । अझ भनौ बढ्दो छ ।
कमाउन जानेहरु त फलानो त दुबै, कतार साउदी, मलेसिया, यस्तै यस्तै खाडी मुलुकमा पस्यो रे भन्ने सुन्ने गरेका छौं । जो कमाएर आफ्नै देश फर्कने सोंचमा भेटिन्छन् । तर राम्रो भविष्यको खोजीमा युरोप, अमेरिका, अष्ट्रेलिया पलायन हुने अधिकांश मिलेसम्म उतैको नागरिक बनेर सोंचमा भेटिन्छन् ।
+२ पढ्दै गरेका बिद्यार्थीहरुलाई तपाईं +२ पछि के गर्नु हुन्छ भनेर प्रश्न गरियो भने ९०% को जवाफ ’आइलटिएस, पिटिइ आदी गरेर विदेश जान्छु’ हुन्छ । जसको परिणामस्वरूप टियुमा घटे विद्यार्थी जस्ता समाचारहरु पढ्न, सुन्न र देख्न पाइराखेका छौं । भिषा लागेन भने कतिले त जिन्दगीनै समाप्त भएजस्तो गर्छन् । हतास मानसिकतामा हुन्छन् । बाँकी भविष्य जिउनु भन्दा समाप्त गर्नु विकल्प हो जस्तो गरी अभिव्यक्तिहरु दिने गरेका सुन्न, बुझ्न देख्न पाईन्छ ।
हिजो नेपाल भन्दा अति विकसित राष्ट्रहरू अमेरिका र अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु स्टुडेन्ट भिषामा गए रे भन्ने सुन्न पाइथ्यो । सायद त्यहाँ पढाई राम्रो भएर होला भन्ने भ्रम त तब तोडियो जब नेपाली विद्यार्थीहरु जुन देशले स्टुडेन्ट भिषा दिन्छ त्यसै तर्फ आवासीय सोंच र योजनाका साथ लाग्न थाले । विद्यार्थीको मात्र के कुरा कुनै विकशित राष्ट्रले २०+ लाख भरेपछि भिषा दिने नियम ल्यायो भने आधा नेपाल खालि हुन्छ । किन भन्ने प्रश्नमा देशमा सिस्टम नभएको, लुटतन्त्र चलेको गुनासो सुनिन्छ ।
सिस्टम होस् पनि कसरी, नेपालमा नेपाली जनता भन्दा धेरै नेता र कार्यकर्ता छन् । गणतन्त्रको आडमा उत्पादीत उपिँयाहरुले देशलाई चुसेकोचुसेइ छन् । संविधानको नाममा हामिले हत्यारा र अपराधीको मात्र प्यारो बनेको आममाफीको व्यवस्था ल्यायौं । संघियताको रुपमा कार्यकर्ता भर्ती केन्द्र बनेको प्रदेशको स्थापना गरी देश अझ ऋणमा डुबायौं । आज अदालत, कर्मचारी, प्रहरी प्रशासन राजनीतिक भर्ती केन्द्र बने । राजनीति व्यवसाय र राजनीतिज्ञ मानव शक्ति व्यवस्थापन गर्ने ठेकेदार जस्ता व्यवसायी बने । यिनले देशभित्र मात्रै होइन, विदेशमा समेत नेपाली नागरिकलाई भुटानी बनाई पठाउन लाखौंको कारोवार गरेका घटनाहरु आमसञ्चार, अदालत हुँदै कारागारसम्म पुगेको छ ।
त्यसैले होला सायद नेपाली जनता, भुटानी शरणार्थी बनि व्यवसायीहरुलाई लाखौं बुझाएर अमेरिका पस्ने लोभमा परेका । नेपालमा हालसालै खुलेको अमेरिकाको डिभी चिठ्ठा भरेर उतै जाने सपना देखेका । चोर बाटो भएपनि अरुको देश पसेर उतै बस्ने आशा बुनेका । रोजगारीको आशामा खाडी छिरेका । पढाईको नाममा लाखौ खर्चेर युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा लगायतका मुलुक पसेका ।
नेपाली युवाहरुले मुलुकमा गणतन्त्र ल्याएको नेपाललाई सुईजरल्यान्ड बनाउने सपना देखाएर हो । नेपाललाई सिंगापुर बनाउने सपना देखाएर हो । गणतन्त्र ल्याइदिएको १७÷१८ बर्षमा न त नेपाल स्वीजरल्याण्ड बन्यो । न त सिंगापुर नै बन्यो । सबैका सामु जगजाहेर छ कि मलुक नो युथ ल्याण्ड चाही बनाएर यी गणतन्त्रवादी क्रान्तिकारी परिवर्तन गरी अग्रगामी छलाङ्ग चाही मारे ।
गणतन्त्रवादीहरुको क्रान्तिकारी परिवर्तन चाही मान्नै पर्दछ, यिनले काण्डैकाण्ड मच्चाए । ललिता निवास काण्ड, बाईडबडी कान्ड, ७० करोड काण्ड, भुटानी शरणार्थी काण्ड, नागरिकता काण्ड, आममाफी काण्ड, स्वास्थ्य सामाग्रि काण्ड, आदि आदि । जननिर्वाचित गणतन्त्रमा देशले आफ्नो स्वाभिमान र अस्तित्व जोगाउन नै अब कठिन भएको छ ।
सुईजरल्यान्ड कि नो युथ ल्यान्ड ?
previous post