
गल्बुवेसी/छाब्दी प्रवेशद्वार टोल विकास संस्थाले टोलवासीको सुरक्षाका लागि सिसि क्यामेरा जडान सम्पन्न गरेको छ ।
टोल विकास संस्थाका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार चोरी डकैती र सुरक्षालाई ध्यान दिँदै टोलमा १२ बटा सीसी क्यामेरा जडान गरिएको हो । तिमिल्सिनाका अुनसार घर बाहिर राखिएका धाराका टुटी हराउने, भुलवस बाहिर परेका सामान हराउने तथा कतिपय अवस्थामा घरभित्रै चोरी हुने गरेपछि सीसी क्यामेरा जडान गरि टोल वासीको सम्पत्ती सुरक्षाको उपाय अपनाइएको हो ।
टोलविकास संस्थामा ९० परिवार रहेको उल्लेख गर्दै टोल विकास संस्थाका उपाध्यक्ष हरिबहादुर थापाले क्यामेरा जडान पछि ढुक्कले निदाउन सकिएको बताए । थापाले भने, टोलमा ९० परिवार आवद्व छन् ।
तर क्यामेराले सयभन्दा बढी परिवारको सुरक्षामा सहयोग गरेको र क्यामेरा जडान यता चोरीका घटना भएको छैन ।
गल्बुबेसी टोल सुधार आमा समूहकी अध्यक्ष सिता गोदारले क्यामेराको उपस्थिति देखेपछि चोरी, डकैती, तोडफोड वा आपराधिक मानसिकता भएका व्यक्तिहरू डराउने भएकाले सम्भावित अपराधहरू स्वतः कम हुने बताईन् । समूहकी पूर्व अध्यक्ष गंगादेवी गुरुङले छाब्दी मार्ग तथा भित्री सडक र गल्लीमा हुने अपराधीक घटना नियन्त्रण आएको वताईन ।
चोरी तथा अन्य आपराधिक घटना नियन्त्रणमा क्यामेरा सहयोगी भएको भन्दै यसले टोल वासीमा सुरक्षाको अनुभुती भएको बताइन् । कुनै घटना वा दुर्घटना भइहालेमा प्रहरीलाई अपराधी पहिचान गर्न, घटनाको सत्यतथ्य पत्ता लगाउन र अदालतमा प्रमाण पेस गर्न सजिलो हुने,आमा समूहकी कोषाध्यक्ष चन्द्रीदेवी तिवारीको विश्वास छ ।
मुख्य चोक, गल्ली र टोलहरूमा क्यामेरा हुँदा स्थानीय बासिन्दा, विशेष गरी महिला, बालबालिका र आफु जस्ता ज्येष्ठ नागरिकहरूले सुरक्षित महसुस गरेको टोल विकास संस्थाका पूर्व अध्यक्ष नारायण गिरीको अनुभव छ । टोलभित्र तीव्र गतिमा चलाइने सवारी साधन, जथाभावी पार्किङ वा दुर्घटना गराएर भाग्ने सवारीको सजिलै पहिचान गर्न सकिने भएकाले आफुलाई सीसी क्यामेरा जडान उपयुक्त लागेको स्थानीय बाबुराम जीसीले बताए ।
टोल विकास संस्थाका सचिव गणेश गुरुङ टोल सुरक्षाका अतिरिक्त सीसी क्यामेराले फोहर मैला व्यवस्थापनमा समेत सघाएको बताउँछन् । सचिव गुरुङका अुनसार रातिको समयमा जथाभावी फोहोर फाल्ने व्यक्तिहरूको पहिचान गरी टोललाई सफा र व्यवस्थित राख्न मद्दत सीसी क्यामेराले मद्दत गरेको छ ।
स्थानीय तीर्थबहादुर अधिकारीले क्यामेरा जडानले हराएका सामान वा व्यक्तिको खोजतलास समेत सहयोग पुग्ने बताए । अधिकारीले हराएका बालबालिका, ज्येष्ठ नागरिक वा बहुमूल्य वस्तुहरू कुन दिशातिर गए वा कसले लग्यो भन्ने कुरा फुटेज हेरेर पत्ता लगाउन सकिने भएकाले यो उपयोगी हुने उल्लेख गरे ।
व्यास नगरपालिकाको एकलाख ८० हजार रुपैयाँ तथा टोल विकास संस्थाको ५९ हजार रुपैयाँ गरी दुइलाख ३९ हजारको लागतमा क्यामेरा तथा मनिटर जडान गरिएको जानकारी गराउँदै अध्यक्ष तिमिल्सिनाले समग्रमा टोलको सुरक्षा अवस्था सुदृढ बनाउनुका साथै सामुदायिक उत्तरदायित्व र अनुशासन कायम राख्न क्यामेराले ठूलो सहयोग पु¥याउने बताए ।
