Tanahun Awaj
समाचार

कांग्रेसको किचलो- दुबै पक्षका आ–आफ्नै महाधिवेशन कार्यतालिका

रमेश विकल
नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेस इतिहासकै गम्भीर साङ्गठनिक संकटबाट गुज्रिरहेको
छ । साङ्गठनिक सर्वोच्चता र शक्ति सन्तुलनको होडमा संस्थापन पक्ष र देउवा–कोइराला पक्ष आमनेसामने भएका छन् । एकै दलभित्र दुई वटा महाधिवेशन कार्यतालिका, दुई वटा साङ्गठनिक अभ्यास र दिनहुँजसो अदालत धाउने होडबाजीले असोज तेस्रो साता घोषणा गरिएको १५औँ महाधिवेशनको भविष्य निश्चित र सौहार्दपूर्ण बन्ने सम्भावना न्यून देखिएको छ ।
विवाद समाधानका लागि भन्दै दुवै समूहले आ–आफ्ना साङ्गठनिक गतिविधि अघि बढाएका छन् । संस्थापन पक्ष साङ्गठनिक सर्वोच्चता स्थापित गर्न असोज १६ देखि १९ सम्म काठमाडौँको भृकुटीमण्डपमा १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका कार्यान्वयनमा ल्याएको छ ।
असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ पालिका अधिवेशन र असोज १० मा प्रदेश÷प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तय गरिएको छ ।
पार्टी फुट रोक्न संस्थापन पक्षले पछिल्लो कार्यसम्पादन समिति बैठकमार्फत १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई यथास्थितिमा १५औँ महाधिवेशनमा सहभागी हुन दिने र क्रियाशील सदस्यता नवीकरणको बाध्यकारी नियममा छुट दिने लचक निर्णय गरेको छ ।
विशेष महाधिवेशन र त्यसपछिका प्रक्रियालाई अवैध ठहर गर्दै असोज तेस्रो साता वडा अधिवेशन थाल्ने र मङ्सिरमा छुट्टै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका देउवा पक्षले सार्वजनिक गरेको छ । यसले सौहार्दपूर्ण वातावरणमा असोज तेस्रो साता महाधिवेशन हुने सम्भावना प्रायः शून्य देखिन्छ ।
देउवा पक्षले गगन–विश्वप्रकाशले वार्ताको पहल नै गरेनन् भन्ने आरोप लगाउनु र संस्थापन पक्षले आफ्ना निर्णय स्वीकार्न दबाब दिनुले संवादको ढोका थुनिएको स्पष्ट पार्छ ।
देशका बहुसंख्यक वडा र पालिकामा संस्थापन पक्षले एकपक्षीय रूपमा अधिवेशन प्रक्रिया अघि बढाए पनि असन्तुष्ट समूहको बहिष्कारका कारण धेरै ठाउँमा साङ्गठनिक भिडन्त र समानान्तर संरचनाको स्थिति छ । तल्लो तहमा कार्यकर्ताहरू एक–अर्कालाई वैधानिक र अवैधको पगरी गुथाउँदै आरोप–प्रत्यारोपमा व्यस्त छन् । वस्तुगत परिस्थिति विश्लेषण गर्दा दुवै पक्षका आ–आफ्ना सबल र दुर्बल पक्षहरू छन् ।
साङ्गठनिक र जनमतको हिसाबले गगन पक्ष भारी छ । आम कार्यकर्ता, युवा पुस्ता र देशभरका अधिकांश वडा–पालिका तहका प्रतिनिधिहरूमा रूपान्तरणको नारा दिएका गगन थापा र विश्वप्रकाश शर्माको पकड बलियो छ । विशेष महाधिवेशनपछि प्राप्त साङ्गठनिक रापताप र प्राविधिक बहुमत गगन पक्षको मुख्य शक्ति हो ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दा, निर्वाचन आयोगका प्राविधिक प्रावधान र १४औँ महाधिवेशनबाट निर्वाचित पुरानो संस्थापनको कानुनी हैसियत देउवा पक्षको मुख्य हतियार हो । देउवा समूहभित्रै ३१ जना भन्दा बढी केन्द्रीय नेताहरू गगन पक्षको प्रक्रियामा समेटिन तयार भएपछि देउवा क्याम्पमा केही साङ्गठनिक चिरासमेत परेको छ ।
असोज तेस्रो साता गगन पक्षले एकपक्षीय रूपमा महाधिवेशन सम्पन्न गरेमा त्यसले दललाई आधिकारिक रूपमा विभाजनको औपचारिकता दिनेछ । अदालतको अन्तिम निर्णय नआएसम्म र दुवै पक्षबीच पावर–शेयरिङको कुनै राजनीतिक सहमति नजुटेसम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन एकताको उत्सव नभई वैधानिकताको कानुनी र राजनीतिक लडाइँमै सीमित हुने देखिन्छ ।

Related posts

क्षमता अभिवृद्धि तालिम

admin

बाह्रौ दिनमा नवौं तनहुँ महोत्सव समापन:कृषि, पर्यटन विकासको थप प्रबद्धन

admin

पहिरोले विद्यार्थी प्रभावित

admin