28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

अग्रजलाई सम्मान गरौं-सम्पादकीय

आगामि सोमबार विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस मनाईदै छ । यस विषयमा चर्चा गर्नुभन्दा पहिले केही समय अगाडि सामाजिक सञ्जालमा चर्चित एउटा प्रसंगको चर्चा गर्न सान्दर्भिक हुनेछ । जसले पछिल्लो समयमा अग्रज नागरिक माथि बढ्दै गएको दुव्र्यवहारको नमिठो सन्दर्भ उजागर गरेको छ । दशैं आउन लाग्दा बृद्ध अवस्थाकी आमा परिवारका लागि झ्याउ हुन्छिन् र
छोराले साथै लगेर बृद्धाश्रममा छाडेर आउँछन् । फर्कने बेला उसले आमालाई आफूले खाना बस्नको राम्रो प्रबन्ध गरिदिएको, भन्दै लिन नआएसम्म घर नआउन आग्रह गर्दछ । केही दिनमै हातमा सानो पोको लिएर आमा ढोकामा आईपुग्छिन् । छोरो झर्किदै आफूले लिन नआउँदासम्म घर नआउन भनेको कुरा सम्झाउँछ । जवाफमा आमाले भन्छिन्, आज विहान कुनै मिठाई पसलेले बृद्धाश्रममा जेरी ल्याएर दियो । तँलाई सानो छँदा जेरी खुब मन पर्दथ्यो । त्यो सम्झेर एक्लै खानै सकिन र लिएर आएको । (जेरीको पोको छोरालाई दिंदै ल खा बाबु, म फर्किए ।)
सामाजिक सञ्जालमा यो प्रसंग नपढेको भएपनि बृद्ध भएका हजुरबुवालाई डोकोमा बोकेर फाल्न लगेको बुबालाई सानो छोराले बुबालाई हजुरबुवालाई फालेर आए पनि डोको, नफाल्नुस् है, पछि हजुरलाई हालेर फाल्न लैजान त्यो डोको चाहिन्छ, भनेको कथा हामी सबैले सुनेको वा पढेको हुनु पर्दछ । आज हामीले आफ्ना अग्रजहरुलाई सम्मान गर्न नसक्दा वा दुव्र्यव्यवहार गर्दा भोली हामी हाम्रो पछिल्लो पुस्ताबाट सोही खालको व्यवहारको भागिदार हुनुपर्दछ भन्ने कुरा हामीले भुल्नु हुँदैन । यदि हामी हाम्रा सन्तानबाट बुढ्यौलीमा आदर, सम्मान र मायाँ चाहन्छौं नभे अहिले हामीले अग्रजहरुको सम्मान गर्न जान्नु पर्दछ ।
अग्रजहरुको शारीरिक कमजोरीलाई उपहासको विषय बनाउने नयाँ पुस्ता पनि प्रसस्त छ । त्यसो गर्दा उनिहरुको मनमा ठेस पुग्दछ भन्ने कुरा मनन गर्नुपनि जरुरी छ । भन्छन्– ‘आगो ताप्नु बुढाको, कुरा सुन्नु बुढाको’ अनुभवबाट सिकेका अग्रज पुस्ताबाट हामीले सिक्न सकिने धेरै कुरा छ । त्यसैले उनिहरुका कुरा सुनौं उनिहरुलाई आदर र सम्मान गरौं । शरीरमा तातो रगत रहँदासम्म हाम्रा लागि अथक मेहनत गरेका हाम्रो अग्रज दुव्र्यवहार होइन, आदर र सम्मानका हकदार छन् । स्वास्थ्य सेवामा बढ्दै गएको पहूँच, जीवनको गुणस्तरमा बृद्धि, लगायत अन्य जीवन रक्षक परिवेश र सुविधाले मानिसको औषत आयु बढ्दै गएको छ । स्वभाविक रुपमा अग्रज उमेर समूहका मानिसहरुको संख्या पनि बढ्दै गएको छ । अनिसंगै उनिहरु माथि हुने दुव्र्यवहार पनि बढ्दै गएको छ । मायाँ, सद्भाव, आदर र सम्मानका हकदार अग्रजहरु माथि आफूले पनि नगर्ने र अरुलाई पनि नगर्न सचेत गराउनु हामी सबैको कर्तब्य हो । आउनुहोस् हामी पनि दिवस मनाउनुमा सार्थकता थपौं ।

Related posts

मानुङमा नेपालको झण्डा फहराइने

admin

आमाबाट पनि नागरिकता दिनु पर्ने परमादेश

admin

लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं

admin