Tanahun Awaj
समाचार

एसइई नतिजाको सन्देश र शैक्षिक असमानताको खाडल

शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले तनहुँ जिल्लाको शैक्षिक क्षितिजको यथार्थ चित्र सार्वजनिक गरेको छ । जिल्लाको समग्र नतिजा ६५.७५ प्रतिशत रहनु र यो राष्ट्रिय औसतको नजिक हुनु आफैँमा निराशाजनक नभए पनि यसभित्र लुकेको स्थानीय तहगत असमानता भने गम्भीर समीक्षाको विषय बनेको छ । एउटै जिल्लाभित्र, उस्तै भौगोलिक परिवेश र समान राज्यको लगानीका बीच स्थानीय तहहरूले प्राप्त गरेको नतिजामा देखिएको ठूलो उतारचढाव पुँजीकृत गर्नुपर्ने पाठ र सुधार्नुपर्ने कमजोरी दुवैको साझा दस्तावेज हो ।

प्रशंसनीय पक्ष के छ भने देवघाट गाउँपालिकाले ८० प्रतिशत विद्यार्थी ग्रेडेड गराएर जिल्लामै सर्वोत्कृष्ट स्थान हासिल गरेको छ । देवघाट, भीमाद, शुक्लागण्डकी, व्यास र म्याग्दे जस्ता स्थानीय तहहरूले जिल्लाको औसत नतिजालाई उछिनेर शैक्षिक सुधारको नेतृत्व गरिरहेका छन् । अझ, ऋषिङ, देवघाट, शुक्लागण्डकी, म्याग्दे, भीमाद र व्यासका कैयौँ विद्यालयहरूले शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल हुनुले सरकारी र निजी दुवै क्षेत्रमा उत्कृष्ट काम गर्ने जनशक्ति र इच्छाशक्ति रहेको प्रमाणित गर्छ । जिल्लाभरबाट ८ जना विद्यार्थीले प्राप्त गरेको ’४ जीपिए’ ले तनहुँमा मेधावी विद्यार्थीहरूको कमी नरहेको प्रष्ट पार्छ ।
तर, सिक्काको अर्को पाटो निकै चुनौतीपूर्ण र चिन्ताजनक छ । घिरिङ गाउँपालिका (४६.३४%), ऋषिङ (४८.२१%), र बन्दिपुर (४९.४८%) जस्ता स्थानीय तहहरू जिल्लाको औसत नतिजा भन्दा निकै पछाडि परेका छन् । आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन–ग्रेडेड) हुनुले यी क्षेत्रको जग नै कमजोर रहेको सङ्केत गर्छ । अझ दुःखद कुरा त, शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरू भएकै पालिकाभित्र जयदुर्गा मावि
(ऋषिङ), अरुण मावि र दीपशिखा मावि (बन्दिपुर) को नतिजा शून्य रहनुले हाम्रो अनुगमन र व्यवस्थापकीय कमजोरीको उदाङ्गो रुप प्रस्तुत गरेको छ । एउटै पालिकाभित्र एउटा विद्यालयले शतप्रतिशत नतिजा ल्याउँदा अर्को विद्यालय शून्यमा झर्नुले प्रधानाध्यापकको नेतृत्व, शिक्षकको जवाफदेहिता र स्थानीय सरकारको सुपरिवेक्षणमा गम्भीर प्रश्नचिह्न खडा गर्छ ।
“स्थानीय सरकारको क्षेत्राधिकारभित्र माध्यमिक शिक्षा आइसकेको वर्तमान अवस्थामा, नतिजाको यो खाडललाई केवल स्रोतसाधनको अभाव भनेर पन्छाउन मिल्दैन । यो स्पष्ट रूपमा व्यवस्थापकीय कुशलता र उत्तरदायित्वको अभाव हो ।”
यस नतिजाले स्थानीय सरकारहरूका लागि स्पष्ट घण्टी बजाएको छ । अब केवल भौतिक पूर्वाधार र भवन निर्माणलाई मात्र विकास मान्ने भ्रमबाट मुक्त भई ’शैक्षिक सुधार’ मा लगानी केन्द्रित गर्ने बेला आएको छ । उत्कृष्ट नतिजा ल्याउने देवघाटको सिकाई शैली, शिक्षण विधि र अनुगमन प्रणालीलाई कमजोर नतिजा आएका घिरिङ र ऋषिङ जस्ता पालिकाहरूले अनुशरण गर्न जरुरी छ ।
शून्य र कमजोर नतिजा ल्याउने विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिलाई जबाफदेही बनाइनुपर्छ । शिक्षक दरबन्दीको न्यायोचित वितरण, प्रविधिको प्रयोग र नियमित शिक्षण सिकाइको अनुगमन नै अबको बाटो हुनुपर्छ । नतिजा कमजोर आएका पालिकाहरूले यसलाई ’अपमान’ का रूपमा होइन, शैक्षिक क्रान्तिको ’अवसर’ का रूपमा लिएर आगामी वर्षका लागि विशेष सुधारात्मक प्याकेज घोषणा गर्न ढिलाइ गर्नु हुँदैन । शैक्षिक रूपमा सबल तनहुँ निर्माणका लागि पालिकाहरू बीचको यो खाडल पुरिनु अनिवार्य छ ।

Related posts

सकियो जोशीको चुनावी प्रचार अभियान

Deepak Joshi

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले
कार्तिक १४ मा संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ

admin

परिचय खोज्दै जेष्ठ नागरिकः

admin