दमौली/देवघाट गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना र गाउँपालिकाको सहयोगमा वडा नम्बर–२ व्यागनमा उक्त कार्यक्रम भएको हो ।

सार्वजनिक सुनुवाईमा सहभागीबाट आएका जिज्ञासाको जवाफ दिँदै देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले पालिकावासीको माग र आवश्यकताका आधारमा बजेट निर्माण तथा योजनालाई प्राथमिकता दिइरहेको बताए । अध्यक्ष थापाले देवघाटलाई धार्मिक, पर्यटन र कृषि क्षेत्रको नमुना बनाउने लक्ष्य राखिएको उल्लेख गरे ।
गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले कर्मचारीहरू ’शासक नभई सेवक’ भएर खटिनुपर्नेमा जोड
दिए । उनले आन्तरिक राजस्व न्यून उठ्दा केही कार्यक्रममा प्रभाव परेको समेत उल्लेख गरे ।
कार्यक्रममा सहभागी अधिकांश सहभागीले पालिकामा भएका विकास निर्माणका काम सन्तोषजनक नरहेको गुनासो गरेका थिए । यसका साथै सहभागीहरूले प्रविधियुक्त शिक्षा र आधुनिक पशुपालन प्रविधिको आवश्यकता औँल्याएका थिए । जनगुनासो सुनेपछि पालिकाका सम्बन्धित शाखा प्रमुखहरूले नागरिकका माग अुनसार काम गर्दै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा पालिका उपाध्यक्ष भूवनसिं गुरुङ, विभिन्न वडाका अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
