दमौली/नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको सहयोगमा तनहुँका पत्रकारहरुलाई एआई तथा मोबाइल पत्रकारिता तालिम प्रदान गरिएको छ । बुधबारदेखि शुरु भएको दुई दिने तालिमको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीबाट भएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव कृष्ण न्यौपानेले बताउनु भयो ।

प्रमुख अतिथि त्रिपाठीले प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप पनि परिवर्तन भएको चर्चा गर्नुभयो । कृत्रिम बुद्धिमत्ता र मोबाइल प्रविधिको सही प्रयोगले सूचना प्रवाहलाई अझ प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सक्ने धारणा राख्दै त्रिपाठीले स्थानीय तहका गतिविधि, विकास निर्माण र जनसरोकारका विषयलाई आमनागरिकसम्म पु¥याउन आधुनिक पत्रकारिता अपरिहार्य छ भन्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णप्रसाद लम्सालले डिजिटल युगमा पत्रकारहरूले नयाँ सीप हासिल नगरे सूचना क्षेत्रमा पछाडि पर्न सक्ने तर्फ सजग गराउँदै राज्य र सञ्चारक्षेत्र बीचको सहकार्यबाट विश्वसनीय र तथ्य परक सूचना प्रवाह सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारीले प्रदेश सरकारले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सोनी शर्माले सूचना प्रविधिको विकासले अवसरसँगै चुनौती पनि ल्याएको भन्दै गलत सूचना (मिसइन्फर्मेसन) नियन्त्रणमा पत्रकारहरूको भूमिका अझ महत्वपूर्ण बनेको बताउनुभयो ।
शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल तथा पूर्व अध्यक्षहरू प्रेमप्रसाद पौडेल, डम्बरबहादुर अधिकारी र ओमकार आचार्यले पनि तालिमले जिल्लाका पत्रकारहरूलाई समयानुकूल सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाभरका करिब ४० जना पत्रकारको सहभागिता रहेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो । तालिममा प्रशिक्षक जीवन भण्डारीले सहजीकरण गर्नुहुनेछ ।
