जेन जी विद्रोह पछिको फागुन २१ मा सम्पन्न निर्वाचन परिणामले नेपाली राजनीतिको दशकौँदेखि कायम आलोपालोलाई भत्काइदिएको छ । २०४७ सालको परिवर्तनयता पालैपालो सत्ताको बागडोर सम्हाल्दै आएका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला शक्तिहरू दोस्रो र तेस्रो स्थानमा खुम्चिनु र जनयुद्धको रापतापबाट आएको हालको नेपाली कम्युनिस्ट पार्टीको हालत झन् नाजुक हुनुले एउटा स्पष्ट संकेत गर्छ— नेपाली जनता अब ‘परम्परागत राजनीति’ सँग थाकिसकेका छन् । अर्कातर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीको अनपेक्षित उदयले मतदाताले अब विकल्प खोज्न थालेको मात्र होइन, भेट्टाउन पनि थालेको प्रमाणित गरिदिएको छ । अनि यो निर्वाचन परिणामले ‘परिवर्तन सम्भव छ’ भन्ने त बतायो नै, साथै सत्ता र शक्तिको दम्भ बोकेकाहरूलाई जनताले कति निर्ममतापूर्वक पाखा लगाउन सक्छन् भन्ने पाठ पनि सिकाएको छ । निर्वाचनको यो नतिजा कुनै संयोग मात्र होइन, बरु वर्षौँदेखिको कुशासन, नीतिगत भ्रष्टाचार, र सेवा प्रवाहमा देखिएको असफलताप्रतिको नागरिक आक्रोशको विस्फोट हो ।
दशकौँदेखि एउटै पात्रले सत्ता र शक्ति कब्जा गरिरहँदा युवा पुस्तामा चरम निराशा पैदा भयो र पुराना भनिएका दलहरूको यो हविगत हुन पुग्यो । यतिमात्र होइन्, दल र तिनका नेताहरू जनताका समस्याभन्दा आफ्नै पार्टीभित्रको भागबन्डा र गुट व्यवस्थापनमा व्यस्त रहे । उता सत्ताको खेलमा मात्र केन्द्रित हुनु र भुँइतहका मानिसको आवाज बिर्सनुका कारण क्षेत्रिय दलहरु आफ्नो साख जोगाउन असफल भए ।
अब प्रश्न उठ्छ— के पुराना दलहरू अझै पनि उही पुरानै ढर्रामा चल्न सक्छन् ? पक्कै सक्दैनन् । त्यसरी नै चल्न खोजेभने पुराना दल अब एकादेशको कथा हुनेछन् । अब ‘हामीले प्रजातन्त्र ल्याएका हौँ’ वा ‘हामीले क्रान्ति गरेका हौँ’ भनेर मात्र पुग्दैन । पुराना भनिएका दलले बुझ्नुपर्छ, इतिहासको ब्याजले वर्तमानको भोक मेटिँदैन । विकास र समृद्धिका कुरा भाषणमा मात्र होइन, जनताले महसुस गर्ने गरी कार्यान्वयनमा लैजानुपर्छ ।
रास्वपाको उदयलाई ‘हावाको लहर’ मात्र ठानेर उपेक्षा गर्नु पुराना दलका लागि घातक सिद्ध हुनेछ । यो त एउटा ‘वेकअप कल’ हो। जनताले मतपत्रमार्फत एउटा नयाँ मार्गचित्र कोरिदिएका छन् । यो चित्रमा पुराना दलले आफ्नो रङ भर्ने हो भने उनीहरूले आफूलाई पूर्ण रूपमा ‘रिसेट’ र ‘रिफ्रेस’ गर्नैपर्छ ।
आत्म समिक्षा गर, पुराना दल-सम्पादकीय
previous post
