दमौली/मंसिर २७ बाट तीन दिनका लागि तोकिएको नेकपा एमालेको ११ महाधिवेशन पाँचौं दिन मतदानबाट नेतृत्व चयन गर्ने प्रक्रियामा गएको छ ।
मंसिर २८ मा निर्धारित समयमा बन्दसत्र प्रारम्भ हुन नसकेर प्रभावित भएको महाधिवेशन विद्युतिय भोेटिङ मेसिनमा आएको समस्याका कारण थप ढिलाई हुँदा छैटौं दिनमा समापन हुने भएको छ ।
महाधिवेशनको पाँचौं दिन बुधबार विहान १० बजेबाट प्रारम्भ भएको मतदानमा राती ८ बजे यो समाचार तयार पार्दासम्म ११ सय मत खसेको निर्वाचन आयोगले जनाएको छ । औसत आधा घण्टामा एक जनाले मतदान गरी सक्ने अनुमान गरिएको भएपनि कतिपय प्रतिनिधिलाई २ घण्टासम्म समय लागेको बताइएको छ । यसरी हेर्दा विहिबार विहानसम्ममा मतदान सकिने अनुमान गर्न सकिन्छ । विद्युतिय मेसिन प्रयोग गरिएकाले मत गणनामा भने समय लाग्ने छैन । ८० वटा विद्युतिय मेसिनमार्फत देशभरबाट आएका २ हजार २ सय ६३ एमाले प्रतिनिधिले मतदान गर्ने समेत निर्वाचन आयोगले जनाएको छ ।

एमालेको अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र इश्वर पोखरेलको उम्मेदवारी परेको छ । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन् । यसैगरी पाँचजना उपाध्यक्षका लागि ११ जना, एकजना महासचिवका लागि २ जना, तीन जना उपमहासचिवका लागि ७ जना नौ जना सचिवका लागि २० जना निर्वाचनको मैदानमा होमिएका छन् ।
महाधिवेशन मार्फत केन्द्रीय सदस्य निर्वाचित हुने दौडमा तनहुँका आठ जना एमाले नेताहरु सामेल भएका छन् । केपी ओलीको प्यानलबाट किरण गुरुङ, केदार सिग्देल, भगवती न्यौपाने र कृष्णकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी इश्वर पोखरेलको प्यानलबाट प्रतापलाल श्रेष्ठ, पूर्णबहादुर गुरुङ, विष्णुभक्त सिग्देल र शोभा गुरुङ चुनावी मैदानमा छन् । यसैबीच ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले बताएका छन् । लुम्बिनी प्रदेशबाट ४० वर्ष मुनिका ३ तथा महिला ३ जना, मधेस प्रदेश ४० वर्ष मुनिका २ जना, मुस्लिम महिला एकजना, पिछिडिएको क्षेत्र महिला एकजना र प्रवास दक्षिण एसियाबाट एकजना गरी ११ जना सर्वसम्मत निर्वाचित भएको आयोगले जनाएको छ ।
