सनातन धर्मका महान् दर्शनशास्त्री, वेदका वर्गीकरणकर्ता एवं अठार पुराणका रचयिता महर्षि वेदव्यासको पावन जन्मभूमि दमौलीमा यस वर्ष पनि व्यास जयन्ती तथा गुरु पूर्णिमा भव्यताका साथ मनाइयो । व्यास नगरपालिका, वेदअनुयायी प्रतिष्ठान, व्यास क्षेत्र शिव पाञ्चायन विकास कोष तथा स्थानीय धार्मिक एवं सामाजिक संघ–संस्थाहरूको संयुक्त अगुवाइमा साउन ११ देखि १३ गतेसम्म सञ्चालित त्रिदिसीय कार्यक्रमहरूले दमौलीलाई मात्र होइन, सिंगो देशलाई नै आध्यात्मिक ऊर्जा प्रदान गरेका छन् ।
महर्षि वेदव्यास नेपाली माटोमा जन्मिएका विश्वकै त्यस्ता महान् दार्शनिक र ऐतिहासिक पात्र हुन्, जसले संसारलाई ज्ञानको उज्यालो छरे । ऋषि पराशर र सत्यवतीको आध्यात्मिक समागमबाट जन्मिएका व्यासले ज्ञानलाई संकलन गरी मानव सभ्यतालाई ठूलो गुन लगाएका छन् । यस्तो महान् विभूर्तिको जन्म र साधनाभूमिलाई उजागर गर्ने प्रयास स्वरूप आयोजना गरिएका विशेष पूजाआराधना, साहित्यिक रचनावाचन, भजन प्रतियोगिता, सांस्कृतिक झाँकीसहितको भव्य शोभायात्रा र बालन नाच जस्ता कार्यक्रमहरू आफैँमा सराहनीय छन् ।
यस वर्षको उत्सव केवल पूजाआजामा मात्र सीमित रहेन, बरु यसले नयाँ पुस्तालाई आफ्नो इतिहाससँग जोड्ने पुलको काम ग¥यो । माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना हुनु र त्यसमा विद्यार्थीहरूको उत्सुकतापूर्ण सहभागिता रहनुले हाम्रो पौराणिक इतिहास र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण भइरहेको सुखद संकेत गर्दछ ।
यस्ता वार्षिक कार्यक्रमहरूले व्यास भूमिको ऐतिहासिक र पौराणिक महत्वलाई विश्वस्तरमा चिनाउन मद्दत पु¥याउँछन् । विद्वानहरूको सहभागिता र प्राज्ञिक प्रवचनहरूले दमौलीलाई केवल एउटा आन्तरिक धार्मिक स्थलका रूपमा मात्र नभई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न मार्गप्रशस्त गरेका छन् ।
अबको आवश्यकता भनेको यो ऐतिहासिक र आध्यात्मिक विरासतलाई वर्षको एक दिन मात्र स्मरण गर्ने परिपाटीबाट माथि उठाई दीर्घकालीन गुरुयोजनाका साथ व्यास भूमिको विकास गर्नु हो । स्थानीय सरकार र सरोकारवाला निकायहरूको यो संयुक्त र सराहनीय प्रयास आगामी दिनहरूमा अझै व्यापक बन्दै जाओस् र व्यास भूमिको वैश्विक महत्वले विश्वमञ्चमा उचित स्थान पाओस् भन्ने हाम्रो कामना छ ।
व्यास भूमिको गौरव र सांस्कृतिक पुनर्जागरण- सम्पादकीय
previous post
