
दमौली/व्यास नपा १२ वस्ने तीन युवाले सिद्धेश्वरी माविमा अध्ययनरत बालबालिकालाई स्वीटर वितरण गरेका छन् ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा अविनाश पन्त, विष्णु पाण्डे र विश्वामित्र लौंडारीले विद्यालयमा अध्ययनरत ३० विद्यार्थीलाई स्वीटर वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाले सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा पनि यस्ता खाले सहयोगहरु प्राप्त भइरहने विश्वास व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सहयोगी युवाहरुका प्रति अभार व्यक्त गरे र सहयोगले विद्यार्थीको सिकाईमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

सानो भएपनि सहयोग गर्न सकेको उल्लेख गर्दै विष्णु पाण्डेले प्राप्त सहयोगले विद्यार्थीको सिकाइमा सहयोग पुग्ने आशा व्यक्त गरे । उनले आफुहरुले तीहारका अवसरमा देउसी भैलो खेलेर जम्मा भएको रकमले विभिन्न आठ विद्यालयका आवश्यकता भएका विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुर्खाली तथा विद्यालय व्यवस्थापन समितिकी सदस्य बसन्ती थापाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक ज्ञानेन्द्र जिसीले गरेका थिए ।
