
गत आइतबार “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइयो । यही दिन संयुक्त राष्ट्र संघको पहलमा संसारका बालबालिकाको सर्वाेत्तम हित हुने गरी तयार गरिएको दस्तावेज “बाल अधिकार महासन्धी” मा नेपालका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले हस्ताक्षर गरेका थिए ।
१८ बर्ष मुनिको मानव जातिलाई बालबालिका भनेर
परिभाषित गरेको महासन्धीले बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता गरी अधिकारका चार स्तम्भ उल्लेख गरेको छ । बाल बचाउ अन्तर्गत बाँच्न पाउनु, गर्भवती महिलाको विशेष स्याहार, सुरक्षित जन्म तथा जन्म दर्ता, खोप तथा स्वास्थ्य स्याहार, पोषणयुक्त खाना र सफा पानी आदि छन् । बाल विकासमा संसारका हरेक बालबालिकाले स्वच्छ वातावरणमा औपचारिक वा अनौपचारिक शिक्षा हासिल गर्न पाउने, खेल मनोरञ्जन र आराम गर्न पाउने, उचित स्वास्थ्य उपचार पाउने, माया ममता र हुर्काउने कार्यमा बाबु आमाको संयुक्त दायित्व हुने, उचित मार्गदर्शन र राम्रो पारिवारिक वातावरण पाउने कुरा पर्दछन् ।
बाल संरक्षण अन्र्तगत गर्भदेखि हुने विभेदबाट संरक्षण हुने उल्लेख छ । यसै गरी दुव्र्यवहार, उत्पीडन, हेला, अपमान, गाली कुटपिट र यातनाबाट बाल बालिकाले संरक्षण पाउने, यौन तथा श्रम शोषणबाट संरक्षण पाउने, युद्धमा संलग्नताबाट संरक्षण पाउने, बेचबिखन तथा ओसारपसारबाट संरक्षण, लागू पदार्थबाट संरक्षण पाउने तथा कानुनी संरक्षण पाउने उल्लेख छ ।
चौथो स्तम्भ बाल सहभागितामा जीवनमा प्रभाव पार्ने निर्णयहरुमा आफ्नो कुराको सुनुवाई गर्ने र सो को कदर गरिनु पर्ने, आस्था अनुसारको धर्ममा संलग्न हुन पाउने, संघसंस्था खोल्ने र सहभागि हुने, बालबालिकाको विचार र भावनाको कदर गरिनु पर्ने उल्लेख छ ।
महासन्धीको धारा २८ र २९ मा शिक्षा संम्बन्धी अधिकारहरु ब्याख्या गरिएको
छ । धारा २८ मा कम्तीमा प्राथमिक शिक्षा अनिवार्य निःशुल्क गराउनु पर्ने राज्यको दायित्व हुने उल्लेख छ । यसैगरी धारा २९ मा शिक्षा बालबालिकाको व्यक्तित्व क्षमताको विकासतर्फ निर्देशित हुनुपर्ने उल्लेख छ । प्राकृतिक वातावरण प्रति सम्मानको भावना विकास गर्ने कुरा तर्फ निर्देशित शिक्षा पक्ष राष्ट्रका बालबालिकाले पाउनु पर्ने उल्लेख गरिएको धारा २९ ले बालबालिकामा मानव अधिकार र मौलिक स्वतन्त्रताहरु तथा संयुक्त राष्ट्रसंघको बडा पत्रमा उल्लेखित सिद्धान्तहरु प्रतिको आदरभाव विकास भएको
नागरिक उत्पादन पक्ष राष्ट्रको शिक्षा नीति हुने परिकल्पना
गरेको छ । धारा २९ यसका
अतिरिक्त बालबालिकाको आफ्ना आमाबाबुप्रति, उसको आफ्नो सांस्कृतिक पहिचान, भाषा र मूल्यहरुप्रति, निज उत्पन्न भएको देशप्रति र निजको भन्दा भिन्न सभ्यताहरुप्रतिको आदर भावको विकास बालबालिकामा हुने गरी पक्ष राष्ट्रको शिक्षा निर्देशित हुनपर्ने भनेको छ । स्वतन्त्र समाज, सबै नागरिकहरु, जाति, राष्ट्रिय र धार्मिक समुदायहरु तथा आदिवासी मूलका मानिसहरु बीच समझदारी, शान्ति, सहिष्णुता, लैंगिक समानता र मित्रताको भावनामा उत्तरदायित्वपूर्ण जीवनको लागि बालबालिकाको तयारी पक्ष
राष्ट्रले गर्नु पर्ने उल्ल्ेख छ ।
महासन्धी पारित भएको झण्डै एक वर्षपछि सहमति जनाउँदै हस्ताक्षर गरेको नेपालले त्यस यता बालिबालिकाका पक्षमा केही
सकारात्मक प्रयासहरु थाल्यो । बालबालिका सम्बन्धी ऐन, २०४८ र नियमावली २०५१ निर्माण भयो । केन्द्रिय तथा जिल्ला बालकल्याण समिति गठन भएका छन् भने बालबालिका सम्बन्धी मन्त्रालय नै स्थापना भएको छ । स्थानीय सरकारहरु कूल बजेटको १० प्रतिशत बालबालिकाको लागि खर्च गर्ने गरी छुट्टयाउन बाध्य भएका छन् ।
यति मात्र होइन नेपालको संविधान २०७२ को
धारा १३(३) मा समानताको हक अन्र्तगत राज्यले बालबालिकाको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुनद्वारा विशेष व्यवस्था गर्न सक्ने प्रावधान राखिएको छ । धारा १७ मा शिक्षा तथा संस्कृति सम्बन्धी हक उल्लेख भएको छ भने, धारा २२ मा बालबालिकाका हक, धारा ३५(९)मा राज्यले बालबालिकाको उनतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्न सक्ने प्रावधान
राखिएको छ । बालमैत्री विद्यालय राष्ट्रिय कार्य ढाँचा, २०६७ जारी भएर कार्यान्वयनमा समेत आइसकेको छ ।
तर सुरक्षित जन्मको अधिकारबाट ग्रामिण क्षेत्रमा जन्मने बालबालिकाहरु बञ्चित छन् भने खोप तथा स्वास्थ्य स्याहार, पोषणयुक्त खाना अनि सफा पानी पाउने अधिकारबाट पनि बालबालिकाहरु बञ्चित नै छन् । बाबुआमासंग बस्न पाउने बालबालिकाको अधिकार सम्बन्धका सामाजिक सञ्जालमा आएको “आज बाबुआमासंग छोराछोरीका लागि समय छैन र होस्टेल लगेर राख्छन्, भोली बाबुआमाका लागि छोराछोरीसंग समय हुने छैन र बृद्धाश्रममा लगेर राख्नेछन्” भन्ने भनाईबाट व्यस्तताका नाममा बाबुआमाले आफ्ना बाल बालिकाको अधिकार कसरी हनन गरिरहेका छन् भन्ने स्पष्ट पार्छ । विरामी हुँदा उचित स्वास्थ्य उपचार नपाउने बालबालिकाको संख्या त झन कति छ कति । गर्भ देखि नै हुने विभेदबाट खास
गरी बालिकाहरु प्रताडित छन् । यौन शोषणका अनेकौं रुपहरु हामीले देखिरहेका छौं भने श्रम शोषणको अवस्था पनि त्यस्तै भयावह छ । बालबालिकाको बेचबिखन, लागूपदार्थ ओसारपसार तथा जोखिमपूर्ण काममा बालबालिकाको प्रयोगको अवस्था पनि डरलाग्दो नै छ ।
जीवनमा प्रभाव पार्ने निर्णयहरुमा बालबालिकाको सुनुवाई गर्दैनौं बरु आफ्ना कुरा राख्न खोज्ने बालबालिकालाई खुकुरी भन्दा कर्द लाग्ने भनेर हप्काउँछौं । हाम्रा शिक्षण संस्थाहरु अझै बालमैत्री हुन सकेका छैनन् । उनीहरु अनुकूल सिकाई वातावरण र भौतिक
संरचना हुनु बाल मैत्री हुनु हो, कुटपिट नगर्नु मात्र होइन ।
समग्रमा भन्नु पर्दा बालअधिकार भनेको बालबालिकाको निम्ति स्वस्थ भएर बाँच्न, सर्वाङ्गीण विकास गर्न, खुसी हुन, नभै नहुने न्यूनतम आवश्यकताहरु पाउनु नै बालअधिकार हो । बच्चालाई कस्तो बनाउने भन्ने उसकै बाबुआमाको हातमा हुन्छ । त्यसैले हरेक बाबुआमाले आफ्ना बच्चालाई साथै राखेर हेरुन,के आफ्ना बच्चाले हिँडको बाटो सहि छ ?
खुलेर सपना देख्ने र त्यो सपनालाई साकार रुप दिने ल्याकत राख्ने बालबालिका बनाउन हामीले उनीहरुलाई कुनै किसिमको हानीबाट सुरक्षित तुल्याउनु छ, प्रत्येक बाल बालिकालाई विद्यालय पु¥याउनु छ र बालबालिकाका लागि सुन्दर संसार निर्माण गर्नु छ । र यसका लागि उनीहरुमाथि पर्याप्त लगानी गर्नुछ । बाल दिवसका अवसरमा सबै बालबालिकामा अझ विशेष गरी नेपाली भूमीमा रहेर भोगेकालाइ शुभकामना ।