23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

सम्पत्ति खरिद, विक्री र कानुन

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
अदालतमा पर्ने मुद्दाहरु अधिकाँश सम्पत्तिसंग सम्बन्धीत हुन्छन् । त्यसमा पनि अंशियाराको तर्फबाट हालिने र हलाइने मुद्दाको संख्या पनि धेरै देखिन्छ । हालिने मुद्धामा न्यायको खोजी भएको पाइन्छ । हलाईने मुद्धाहरुमा प्रायः मुद्धाको पक्षको स्वार्थ भन्दा पनि मुद्धा हलाउनेको स्वार्थ बढी हावी भएको पाइएको छ । अनाहकमा मुद्धाको झनझटमा पर्नबाट जोगिनका लागि अब अनिवार्य रुपमा कानुन बमोजिमको सुक्रीविक्रीमा ध्यान दिनुपर्ने भएको छ ।
अंसियाराको मन्जुरी लिनुपर्नेः
अंशियारा बीच बण्डा लाग्ने सगोलको सम्पत्ति खरिद विक्री गर्दा अंशियाराको लिखित मन्जुरीनामा लिनुपर्ने बाद्यात्मक व्यवस्था कानुनले गरेको छ । लिखित मन्जुरी नलिएको भएतापनि लिखितको किनारामा साक्षी बसेको अंसियाराको मन्जुरी भएको कानुनले मान्ने छ । लिखित मन्जुरी पनि नभएको, लिखतको किनारामा साक्षी पनि नबसेको अवस्थामा भएको खरिद विक्रीका विरुद्धमा उजुरी परेमा त्यस्तो लिखत कमजोर हुन्छ ।
मञ्जुरी लिनु नपर्ने अवस्थाः
घरको मुख्य व्यक्तिले घर व्यवहार चलाउनका लागि चल सम्पत्ती सबै विक्री गर्न सक्ने व्यवस्था छ । त्यसैगरी अचलको हकमा आधा सम्पत्ति विक्री गर्दा कुनै पनि अंशियाराको मन्जुरी लिनु नपर्ने व्यवस्था गरेको छ ।
हक नपुग्ने विक्री बदर हुनेः
आफ्नो हक पुग्ने भन्दा बढी सम्पत्ती विक्री गर्न पाईदैन । हक नपुग्ने सम्पत्ती विक्री गरेमा हक पुग्नेले कानुन बमोजिमको प्रक्रिया पुरा गरी त्यस्तो विक्रीलाई बदर गराउन
सक्नेछ ।
खरिद विक्रीमा कमजोरीः
कानुनले खरिदविक्री हुने सम्पत्तीको हकवालाको लिखित मन्जुरी हुनुपर्ने भनेको छ । तर लिखित मञ्जुरी लिने गरिएको छैन । खरिदविक्रीको लिखत तयार गर्ने लेखापढी व्यवसायी र लिखत पारीत गर्ने अधिकारीले लिखित मञ्जुरी वा लिखत साक्षीमा अंसियाराको नाम राख्ने रखाउने प्रबन्ध नमिलाउँदा अथवा वेवास्ता गर्दा पारिवारीक मन्जुरीमा भएका खरिद विक्री पनि कच्चा हुने, अथवा अदालतमा मुद्धा खेप्नु पर्ने झन्झटमा सेवाग्राहीहरु पर्ने गरेका छन् ।
सम्पत्ती कच्चा ठहरे क्षतिपूर्तिः
आफूले खरिद गरी लिएको सम्पत्ति कच्चा ठहरी भोग गर्न नपाएमा त्यस्तो साहूले आफूलाई जग्गा विक्री गर्ने असामीबाट परेको थैली र सो को सयकडा दशका दरले व्याज समेत जग्गा विक्री गर्ने असामीबाट कपाली सरह असुल उपर गरी लिन पाउने व्यवस्था छ । यसरी असुल उपर गरी लिन पाउने क्षतिपूर्ति बदर भएको सम्पत्तिको विगो, रजिष्ट्रेशन दस्तुर र कानुन बमोजिमको व्याज मात्र क्षतिपूर्ति स्वरुप पाउने व्यवस्था छ ।
निष्कर्षः
कानुनले तोकेको क्षतिपूर्तिले जग्गा किन्ने साहूको क्षतिपूर्ति हुँदैन । विशेषतः लेखापढी व्यवसायी र रजिष्ट्रेशन पास गर्ने अधिकारीले हकवालाको लिखित मन्जुरी वा लिखत साक्षी राख्न विशेष ध्यान दिँदा मुद्दा पर्नबाट जोगाइन्छ ।

Related posts

सांसद, मन्त्री खुस्काइदिने कानुन

admin

असार–१५- ढाँटको निम्तो, खाइ पत्याउने

admin

हाम्रो सिकाइ किन कमजोर ?

admin