Tanahun Awaj
विचार/दृष्टिकोणसमाचार

रक्तदाताहरुलाई धन्यवाद -सम्पादकीय

“रक्तदान जीवन दान” हामीले बारम्बार सुन्दै आएको स्लोगन हो यो । विभिन्न कारणले शरिरमा रगतको मात्रा कम भएर जीवन र मरणको दोसाँधमा रहेका नागरिकको जीवन बचाउन हामी मध्ये जो कोहिले गरेको रगत दान महत्वपूर्ण हुन सक्छ । मानिसको जीवन बचाउनका लागि गरिने रगतदान सप्ताह, पुराण वा अन्य कुनै धार्मीककार्य गरेर गरिने दान भन्दा ठूलो दान हो । रक्तदान वास्तवमा महादान हो ।
रक्तदाता अर्थात तिनै महादान कर्ताको सम्झना र सम्मानमा विश्वभर भोली शुक्रबार, जुन १४ मा “रक्तदाताहरुलाई धन्यवाद दिँदै रक्तदाता दिवसको २० वार्षिकोत्सव” भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनका आह्वानमा सन् २००४ देखि मनाउन थालिएको यो दिवस मानव रक्त समूह पत्ता लगाउन वैज्ञानिक कार्ल ल्याण्डस्टिनरका जन्मदिन जुन १४ को अवसर पारेर मनाउने गरिन्छ ।
शरिरमा भएका सेल र टिस्युहरुलाई आवश्यक अक्सिजन उपलब्ध गराउने कामका अतिरिक्त रगतले शरिरमा भएका सेलहरुलाई आवश्यक पोशक तत्व जस्तै एमिनो एसिड, फ्याट्टी एसिड तथा ग्लुकोज उपलब्ध गराउँछ । शरिरलाई विभिन्न रोग तथा संक्रमणबाट जोगाउने काममात्र होइन रगतले हाम्रो शरिरको तापक्रमलाई सन्तुलित राख्न समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यतिमात्र कहाँ हो र ? रगतको माध्यमबाट हाम्रा दिमागमा केही समयमात्र अक्सिजन पुगेन भने त्यहाँका सेलहरु मर्न थाल्दछन् र हामीलाई गम्भीर स्वास्थ्य समस्या देखा पर्न थाल्दछ ।
जीवनदान गर्ने यो पुण्य काममा सहभागी बनौं । १८ वर्ष पूरा भई ६० वर्ष ननाधेका तथा कम्तिमा ५० केजी तौल भएका हामी सबैले रक्तदान गरेर कसैलाई जीवन दिन सक्छौं । तपाईँ हाम्रो केही थोपा रगतले कसैको जीवन रहन्छ भने त्यो काम किन नगर्ने ? रगतका अभाव मुक्त भएर आवश्यक परेका बेला सहजै रगत पाउने वातावरण वनाउनु हाम्रो पनि कर्तव्य हो । यो कर्तव्यबाट हामी नचुकौं र रक्तदान गरेर जीवनदान गर्नेहरुलाई धन्यवाद भन्न सम्मान गर्न पछि नहटौं ।

Related posts

व्यासलाई प्लास्टिक झोला मुक्त बनाइने

admin

वी पी विचार समाज तनहुँ छैटौ अधिवेशनको संघारमा, काँग्रेस कार्यकर्तामा नेतृत्वको विद्रोही मानसिकता

admin

‘कोभिडका कारण भएको सिकाई क्षति आपूरणका लागि विभिन्न प्रयासहरु गरिरहेका छौं’

admin