Tanahun Awaj
विचार/दृष्टिकोणसमाचार

बलिदानको अवमूल्यन नगर, कार्यशैली बदल-सम्पादकीय

जेन जेड युवाहरूको अभूतपूर्व र स्वतःस्फूर्त विद्रोह भएको एक वर्ष पूरा भएको छ । वर्षौंदेखि गुम्सिएको कुशासन, बेरोजगारी, महँगी र राज्य संयन्त्रको बेथितिविरुद्ध भदौ २३ गते सडकमा ओर्लिएका ७६ जना होनहार युवाको बलिदानको जगमा देशमा राजनीतिक परिवर्तनको नयाँ अध्याय सुरु भएको थियो । पुराना दलहरूको दम्भ, दलीय आसेपासे पोस्ने प्रवृत्ति र अकर्मण्यताबाट आजित भएका नागरिकले नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई–तिहाइको अभूतपूर्व जनादेश सुम्पे । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको पनि छ महिना पुग्न लागेको छ । तर, यति छोटो अवधिमै नागरिकमा पुनः निराशाको बादल मडारिन थाल्नु र सत्ता बदलियो, शैली कहिले बदलिने ? भन्ने प्रश्न उठ्नु अत्यन्तै चिन्ताजनक विषय हो ।
सुशासनको पहिलो र आधारभूत सर्त भनेको आम नागरिकको सहज जीवनयापन हो । तर विडम्बना, जेन जेड आन्दोलनले खोजेको सुशासनको अनुभूति सर्वसाधारणको चुल्होसम्म पुग्न सकेको छैन । पछिल्ला हप्ताहरूमा खाना पकाउने ग्याँसको चरम अभाव, डिपोहरूमा सर्वसाधारणको घण्टौँ लामो लाइन र मौलाउँदो कालोबजारीले आपूर्ति व्यवस्थापन र बजार अनुगमनमा सरकारको असक्षमता उजागर गरेको छ । दैनिक उपभोग्य सामग्रीको अचाक्ली मूल्यवृद्धिले न्यून आय भएका नागरिकको जीवन कष्टकर बनेको छ । त्यस्तै, हालैको बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला उद्धार, राहत र समन्वयमा देखिएको फितलो उपस्थितिले पीडितहरूलाई राज्यको अभिभावकीय भूमिकासम्म महसुस गराउन सकेन ।
त्यति मात्र होइन, नयाँ सरकारको राजनीतिक परिपक्वतामाथि नै गम्भीर प्रश्नहरू खडा भएका छन् । सत्तामा पुगेपछि सत्ताधारी दलका नेता तथा कार्यकर्ताहरूमा देखिएको बेलगाम, रुखो र संवेदनहीन अभिव्यक्तिले पुराना र नयाँ दलबीचको अन्तर धमिल्याउँदै लगेको छ । जनताका दैनन्दिन समस्या र आलोचनाप्रति उत्तरदायी हुनुको साटो सार्वजनिक मञ्चहरूबाट धम्कीपूर्ण, उत्तेजक र रुखा अभिव्यक्ति आउनु, विद्युत् महसुलमा कर वृद्धि गरिनु, र सर्वसाधारणको जीवनरक्षाको आधार बनेको स्वास्थ्य बिमाको भविष्य अन्योलमा पर्नुले सरकारलाई निरन्तर अलोकप्रिय बनाउँदै लगेको छ ।
दुई–तिहाइको शक्तिशाली जनमत पाउनुको अर्थ स्वेच्छाचारिता, असंवेदनशीलता वा दम्भ प्रदर्शन गर्ने छुट पाउनु कदापि होइन । ७६ युवाको अमूल्य बलिदान र जनताको विशाल भरोसाबाट उदाएको वर्तमान सरकारसँग आफ्ना गल्ती र कमजोरीहरू सुधारेर सही मार्गमा अघि बढ्ने समय अझै बाँकी छ । तर सरकारले के बुझ्न आवश्यक छ भने— जनअपेक्षा अनुसार सुशासन, सेवा प्रवाह र कार्यशैलीमा तत्काल सुधार गरिएन भने, जुन जनताले पुरानालाई पन्छाएर नयाँलाई सत्ताको साँचो सुम्पेका थिए, तिनै जनताले नयाँ भनिएकाहरूलाई पनि पाखा लगाउन धेरै समय लगाउने छैनन् । सरकारले बेलैमा चेतोस्, बलिदानको अवमूल्यन नगरी आफ्नो शैली र प्राथमिकता अविलम्ब बदलोस् ।

Related posts

शुसासन विकास तालिम

admin

घिरिङ्गका आमालाई उद्घोषण तालिम

admin

पत्रकार राना घाइते

admin