Tanahun Awaj
समाचार

इन्टरनेटः प्रविधि र मानव मूल्यबीचको सन्तुलन

आयुष पोखरेल

अस्ति मंगलबार विश्वभर ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइयो । सूचना प्रविधिको यो युगमा इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर, यसको बढ्दो र अनियन्त्रित प्रयोगले केही गम्भीर प्रश्नहरू उब्जाएको छ— इन्टरनेटले हामीलाई जोड्दैछ कि झन् एक्लो बनाउँदैछ ? यसले हाम्रो सिर्जनशीलता बढाउँदैछ कि नष्ट गर्दैछ ?
आजको समयमा इन्टरनेटको दुरुपयोगका कारण बालिका हिंसाका घटना बढेका छन्, पठन संस्कृति लोप हुँदै गएको छ र मानिसहरूको सामाजिकीकरण गर्ने क्षमतामा ह्रास आएको छ । यस्तो चुनौतीपूर्ण घडीमा इन्टरनेटलाई ‘पासो’ होइन, ‘औजार’ बनाउनु आवश्यक छ । इन्टरनेटको अँध्यारो पक्षले समाजका विभिन्न तहमा असर पारेको छ ।‘साइबर बुलिङ’, अनलाइन उत्पीडन र गोपनीयताको हननले महिला र बालिकाहरूलाई असुरक्षित बनाएको छ ।
गहिरो अध्ययन र पुस्तक पढ्ने बानीलाई टिकटकका छोटा भिडियो र फेसबुकका ‘स्क्रोलिङ’ले विस्थापित गरिदिएको छ । अर्काे शब्दमा यसले पठन संस्कृतिमा गहिरो संकट निम्त्याएको छ ।
कोठाभित्र बसेर संसारभरका मानिससँग जोडिने होडमा हामीले आफ्नै परिवार र छिमेकीसँगको जीवन्त सम्बन्ध गुमाउँदै गएका छौं । यसले हाम्रो सिर्जनशीलताको क्षयीकरण गरेको छ । अब व्यक्तिगत सिर्जनशिलताको आवश्कयता नै नरहने अवस्था आएको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र तयारी सामग्रीमा अत्यधिक निर्भर हुँदा मानिसको आफ्नै मौलिक चिन्तन र सिर्जना गर्ने क्षमता भुत्ते हुँदै गएको छ । सुरक्षित र सकारात्मक इन्टरनेट प्रयोगका उपायहरू पनि नभएका होइनन् तर त्यतातर्फ हाम्रो ध्यान पुग्न सकेको छैन । हामीले बुझ्नु पर्छ कि इन्टरनेट आफैमा खराब होइन, यसको प्रयोग गर्ने हाम्रो तरिका मात्र गलत हुन
सक्छ । यसलाई सुरक्षित बनाउन के गर्न सकिन्छ भनेर विमर्श र छलफल अब अत्यावश्यक भैसकेको छ ।
प्रविधिको प्रयोग कसरी गर्ने भन्ने मात्र होइन, कुन कुरा सही र कुन गलत हो भनेर छुट्याउन सक्ने क्षमताको विकास गर्नु आजको आवश्यकता हो । विद्यालय स्तरमै ‘डिजिटल एथिक्स’बारे शिक्षा दिनुपर्छ । सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत विवरणहरू साझा गर्दा सचेत हुनुपर्छ । बलियो पासवर्ड राख्ने, ‘टु–फ्याक्टर अथेन्टिकेसन’ प्रयोग गर्ने र शंकास्पद लिङ्कहरूमा क्लिक नगर्ने बानी बसाल्नुपर्छ ।
चौबीसै घण्टा अनलाइन बस्नुको सट्टा निश्चित समय इन्टरनेटबाट टाढा बस्ने अभ्यास गर्नुपर्छ । यसले हाम्रो मानसिक स्वास्थ्य सुधार्न र पठन संस्कृति ब्युँताउन मद्दत गर्छ ।
बालबालिकाले इन्टरनेटमा के हेरिरहेका छन् भन्ने कुरामा निगरानी राख्नुपर्छ, तर नियन्त्रण गरेर होइन, संवाद र विश्वासको माध्यमबाट । इन्टरनेटलाई केवल मनोरञ्जनका लागि मात्र नभई नयाँ सीप सिक्न, अनुसन्धान गर्न र आफ्नो प्रतिभालाई विश्वमाझ पु¥याउन प्रयोग गर्नुपर्छ ।
इन्टरनेट एक विशाल महासागर हो, जहाँ रत्न पनि पाइन्छ र फोहोर पनि । हामीले के निकाल्ने भन्ने कुरा हाम्रै हातमा छ । आगामी सुरक्षित इन्टरनेट दिवसले हामीलाई प्रविधिको दास होइन, मालिक बन्न प्रेरित गरोस् । जब हामी प्रविधिलाई विवेक र संयमताका साथ प्रयोग गर्छौं, तब मात्र यो सुरक्षित, समावेशी र सिर्जनशील हुन सक्छ ।
(पोखरेल CSIT का विद्यार्थी हुन् ।)

Related posts

बीपीवाद बोकेको काँग्रेस बनाउने अभियानमा धैर्यतापूर्वक संगठित रहन जोशीको आव्हान

admin

घरबिहिनको निर्माणका लागी आर्थिक सहयोग जुट्दै

admin

घिरिङका कृषकको साथमा कोईका

admin