Tanahun Awaj
समाचार

तनहुँ १ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय

फागुन–२१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट दलका १३ र स्वतन्त्र ३ गरी १६ जनाले मनोनयन दर्ता गरेका छन् । तनहुँ आवाजले आम मतदातालाई योग्य प्रतिनिधि छान्न र मतदान गर्न सजिलो होस् भनेर उम्मेदवारका बारेमा आम नागरिकले जान्नु पर्ने कु्राहरु प्रस्तुत गर्ने जमर्काे गरेको छ । यस पटक नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदबारका बारेमा संक्षिप्त जानकारी लिएर आएका छौं । –तनहुँ आवाज साप्ताहिक

पानी मान्छे अर्थात गोविन्द भट्टराई

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका भट्टराई व्यास ११ का वासिन्दा हुन् । नेपाल विद्यार्थी संघबाट राजनैतिक यात्र सुरु गरेका भट्टराई नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् ।

कांग्रेसभित्र इमानदार र वैचारिक नेताका रूपमा हेरिने भट्टराई तनहुँका दुर्गम गाउँलाई खानेपानी सुविधा युक्त बनाउन कम्मर कसेर लागेका र धेरै खानेपानी योजना उनको अगुवाईमा सम्पन्न भएकाले पानी मान्छ् नामले परिचित छन् । भट्टराई लामो समयसम्म पार्टीको संगठन निर्माणमा खटिए पनि कम अवसर पाउने नेतामा पर्छन् ।
घरघरमा खानेपानी सुविधा उपलब्ध गराउने कुराका अतिरिक्त उनको प्राथमिकतामा जिल्लाका दुर्गम बस्तीहरूलाई मुख्य राजमार्गसँग जोड्ने सडकहरूको कालोपत्रे र नयाँ पुलहरूको निर्माण पर्दछन् । युवाहरूलाई दक्ष बनाउन जिल्लामा थप प्राविधिक शिक्षालयहरूको स्थापना, दमौली अस्पतालको स्तरोन्नति गरी स्थानीय स्तरमै विशिष्टीकृत स्वास्थ्य सेवा (विशेष गरी डायलासिस र प्रसूति सेवा) उपलब्ध गराउन पहल, सिँचाइ सुविधा विस्तार गरी तनहुँलाई कृषिमा आत्मनिर्भर बनाउने र किसानका उत्पादनलाई बजारसँग जोड्नु तथा बन्दीपुर, व्यास
गुफा, र देवघाट जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरूलाई समेटेर पर्यटकीय सर्किटको विकास गर्नु र
युवालाई स्वरोजगार बनाउन आवश्यक तालिमको व्यवस्था भट्टराईको प्राथमिकताका काम हुन् ।
गोविन्द भट्टराईले आफूलाई ’काम गर्ने र जिल्लामै बस्ने नेता’ का रूपमा प्रस्तुत गर्दै आएका छन् ।

बजेट बनाउने आदेश पाएका वाग्ले

अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका स्वर्णिम वाग्ले तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदबार बनेका छन् ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेका छन् ।
विसं २०७४ मा राष्ट्रि य योजना आयोगका उपाध्यक्ष बनेका वाग्ले दुइ पटक सोही आयोगको सदस्य समेत भएका थिए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको न्यूयोर्कस्थित मुख्यालयमा प्रमुख आर्थिक सल्लाहकार र विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीको रूपमा लामो समय काम गरेका वाग्लेले दशकौँसम्म नेपाली कांग्रेसमा बौद्धिक योगदान पु¥याएका थिए ।
हाल रास्वपाको उपसभापति समेत रहेका वाग्ले अर्थतन्त्रको सुधार र स्थानीय स्तरमा उत्पादन तथा रोजगारी बढाउने एजेण्डा लिएर निर्वाचनमा होमिएका छन् । सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने, तनहुँलाई सूचना प्रविधि र डिजिटल शिक्षाको केन्द्र बनाउने लगाएतका एजेण्डा सहित निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।

सादा जीवनशैलीका जोशी

तनहुँ क्षेत्र नम्बर १ बाट आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशी युवा व्यक्तित्व र राजनीतिक उत्तराधिकारी हुन् ।

नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीका छोरा दिपकलाई आफ्नो बुबाको राजनीतिक विरासतलाई जोगाउने र विस्तार गर्ने मुख्य जिम्मेवारी छ ।
गत स्थानीय चुनावमा व्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी जोशी नेपाली कांग्रेसका वैकुण्ठ न्यौपानेसँग मात्र २५२ मतको झिनो अन्तरले पराजित भएका थिए ।
पेशाले दूरसञ्चार इन्जिनियर जोशी काठमाडौँस्थित न्यु मिलिनियम कलेजको प्रबन्ध निर्देशक हुन् ।
वैकल्पिक लोकतान्त्रिक प्रणालीका बारेमा वकालत गर्दै आएका जोशीले राज्य प्रणालीमा शुद्धीकरणको एजेण्डा बोकेका छन् । पुराना राजनीतिक दलहरूको विकल्पमा नयाँ र स्वतन्त्र विचार भएका व्यक्तिहरू संसदमा पुग्नुपर्नेमा जोड दिने जोशी पूर्वाधार र युवा स्वरोजगारका पक्षपाती हुन् ।
सादा जीवनशैलीका जोशी एमालेकी भगवती न्यौपाने, कांग्रेसका गोविन्द भट्टराई र रास्वपाका स्वर्णिम वाग्ले जस्ता ‘हेभीवेट’ उम्मेदवारहरूसँग प्रतिस्पर्धामा उत्रेका छन् । तनहुँको राजनीतिमा ‘जोशी समूह’ को एउटा छुट्टै अस्तित्व छ । जोशीले तनहुँको राजनीतिमा छुट्टै अस्तित्व भएको जोशी समूह र आफ्नो युवा तथा बौद्धिक छविलाई मिलाएर चुनाव जित्ने रणनीति बनाएको देखिन्छ ।

महिला स्वरोजगारमा जोडः न्यौपाने

नेकपा एमाल तनहुँ १ की उम्मेदवार भगवती न्यौपाने एमालेमा प्रभावशाली महिला नेता हुन् । छोटो समय करिब दुइ महिना मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रुपमा काम गरेकी न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनीसँग राष्ट्रिय सभामा एमालेको मुख्य सचेतक र संसदीय दलको नेताको रूपमा काम गरेको अुनभव समेत छ ।

विद्यार्थी राजनीतिबाट उदाएकी न्यौपानेले झण्डै ९ वर्ष नेकपा एमाले तनहुँको जिल्ला सचिव भएर काम गरिन् । उनी अखिल नेपाल महिला संघ (अनेमसंघ) तनहुँको दुई कार्यकाल अध्यक्ष समेत रहेकी थिइन् ।
स्थानीय विकास, राष्ट्रिय गौरवका आयोजना र सामाजिक सुरक्षामा केन्द्रित अभियान लिएर उनी निर्वाचनमा होमिएकी छन् । पालिका र वडा तहका कच्ची सडकहरूलाई बाह्रै महिना चल्ने गरी पक्की वा स्तरोन्नति गर्ने, तनहुँलाई धान, फलफूल तथा तरकारी पकेट क्षेत्रको रूपमा विकास गर्ने, सिँचाइ सुविधा नपुगेका फाँटहरूमा लिफ्ट सिँचाइ वा कुलोको व्यवस्था गरी उत्पादन बढाउने उनका प्रमुख एजेण्डा हुन् ।
’शीत भण्डार’ निर्माण गर्ने, तनहुँका ऐतिहासिक कोट र गढीहरूको जीर्णोद्धार गरी आन्तरिक पर्यटनको आधार बनाउने, तनहुँको मुख्य अस्पताललाई सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध हुने गरी आधुनिक अस्पतालमा रूपान्तरण गर्ने, सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधार गरी प्राविधिक शिक्षामा जोड दिने, महिलाहरूलाई सीपमूलक तालिम र सहकारीमार्फत स्वरोजगार बनाउने उनका थप एजेण्डा हुन् ।

सामाजिक वस्तुस्थितिका जानकार ढकाल

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट तनहुँ १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका विद्यानाथ ढकाल लामो समय नेकपा (एमाले) मा रहेर राजनीति गरेका व्यक्ति हुन् । ढकाल एमालेको तनहुँ जिल्ला सचिव जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका नेता हुन् ।

नेकपा एमाले विभाजित भएपछि नेकपा (एकीकृत समाजवादी) मा लागेका ढकालले २०७९ को आम निर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट तनहुँ क्षेत्र नं. १ क) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
अहिले नेपाली कम्युनिस्ट पार्टीमा ढकाल सोही पार्टीको तर्फबाट आगामी निर्वाचनका लागि प्रतिनिधि सभाको साझा उम्मेदवार बनेका हुन् । आफ्नो पार्टीले वैचारिक रूपमा स्पष्ट र निष्ठावान नेताका रूपमा चिनिन्छन् । ढकाललाई तनहुँमा एक ’शालीन’ र ’भलादमी’ नेताको रूपमा पनि चिनिन्छ । लामो समय वाम आन्दोलनमा सक्रिय रहे पनि पद र अवसरको हिसाबले ओझेलमा परेका नेताका रूपमा कार्यकर्ताले उनलाई चिन्दछन् ।
सुशासन, जनमुखी विकास, र समावेशी राजनीतिलाई आफ्नो चुनावी मुद्दा बनाएका ढकालले भ्रष्टाचारको अन्त्य र जिल्लाको समग्र विकासमा विशेष जोड दिने गरेका छन् ।
स्थानीय स्तरमा कार्यकर्तासँग प्रत्यक्ष जोडिएका नेता ढकाल तनहुँको भौगोलिक र सामाजिक वस्तुस्थितिबारे राम्रो जानकारी राख्छन् । कांग्रेस, एमाले र नयाँ शक्तिको रूपमा उदाएको रास्वपासँगको प्रतिस्पर्धा उनका लागि निर्वाचनको चुनौती बनेको छ ।

Related posts

संगठन सुदृढ गर्न कांग्रेसको जारा अभियान

Deepak Joshi

निजी विद्यालयको छात्रबृत्ति वितरणप्रति नगरको चासो

admin

सत्तागमनसंगै कांग्रेसमा बढ्दै किचलो: बहिर्गमन, गठबन्धन र महाधिवेशनमा मतभेद

admin