23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

खुल्ला तीज प्रतियोगिताले दियो एकताको सन्देश

दमौली/नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीजका दिन दमौली एफ एम तथा दमौली खबर पत्रिकाको तर्फबाट आयोजना गरिएकोे खुल्ला तीज गीत प्रतियोगिताले मौलिकता र एकताको सन्देश दिएको छ । तीजको दिन दमौलीको खुल्ला मञ्च खचाखच भरिएको दर्शक दिर्घा र मञ्चले त्यसलाई पुष्टि गरेको छ । साथै अतिथिवक्ताको सहभागिताले मात्रै होइन भाषणले पनि त्यस्तै सन्देश दिएको थियो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो प्रतियोगितामा नगरप्रमुख बैकुण्ठ न्यौपाने सहभागितालाई असम्भव अनुमान गरिएको तथ्य स्वयम न्यौपानेको भाषणले पुष्टि गरिदियो । प्रायः एउटै मञ्चमा नदेखिने एउटै पार्टीका केन्द्रिय सदस्य भण्डारी र नेका तनहुँका पूर्वसभापति बैकुण्ठ न्यौपानेलाई यो प्रतियोगिताले एउटै मञ्चमा उभ्याइ दियो । त्यति मात्रै होइन, बैकुण्ठ न्यौपानेले आफूमा त्यस्तो पूर्वाग्रही भावना नभएको उद्घोष गर्दै शंकर जी भएको ठाउँमा मात्रै होइन, आज त म दीपक जीसंग भेट हुने विश्वासमा आएको थिएँ भनेर नेपाली काँग्रेस अब गुटगत विभाजनमा होइन एक भएर जानुपर्ने सन्देश दिए । त्यति मात्रै होइन, १५ बर्ष रघुनाथ पौडेल नेतृत्वको जोशी समूहसंग एक्लै जुधेका न्यौपानेले नेपाली महिलाहरुको विशेष पर्वमा जोशी समूहको तर्फबाट आयोजना गरिएको तीज गीत प्रतियोगितालाई पचास हजार सहयोग गर्ने वताएर आयोजक र स्रोतालाई पनि आश्चर्यमा पारेका थिए । केन्द्रिय सदस्य भण्डारी पनि के कम ? उनले पनि प्रतियोगि सहभागि टीमले गाएको गीतलाई सीडि बनाएर दमौली एम एमले बेला बेला बजाइ रहने व्यवस्था मिलाउन प¥यो भन्ने सुझाव दिँदै सीडि बनाउने खर्च आफूले व्यहोर्ने बताए ।

नेपाली काँग्रेस भित्रको प्रमुख दुई गुटका नायक हस्ती केन्द्रिय सदस्य शंकर भण्डारी र नेका तनहुँका पूर्व सभापति बैकुुण्ठ न्यौपानेको यो प्रयासलाई जोशी समूहको विश्वास जित्ने अर्थात बाँकी रहेका जोशी गुटलाई आफ्नो गुटमा समाहित गर्ने रणनीतिको रुपमा पनि दमौलीमा चर्चा गर्न थालिएको छ ।
महिलाहरुको विशेष पर्व तीज गीत प्रतियोगितामा मञ्चाशिन व्यक्तित्वमा व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैको मात्रै उपस्थिति देखिएको थियो । अधिवकांश पुरुष अतिथिको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी भने महिलालाई नै प्राप्त भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नेपाली काँग्रेस तनहुँका सचिव सहदेव अधिकारी नेकपा एमाले तनहुँ अध्यक्ष हरिराज कँडेल, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका अध्यक्ष विश्व वास्तोला, सस्थाका पूर्व अध्यक्ष नेपाल रेडक्रस तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतम, पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता परशुराम गिरी, तनहुँ उद्योग उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्र, महिला उद्यमी संघ नेपाल गण्डकी प्रदेशको उपाध्यक्ष निर्मला मल्ल, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतले सामाजिक चेतना अभिवृद्धि र नयाँ पुस्तामा आफ्नो पहिचानप्रति गौरव जागृत गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । हरिहरण पण्डितको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सचिव माधव खनाल गर्नुभएको थियो भने सञ्चालन अन्जु दाहालले गर्नु भएको थियो ।

Related posts

कार्यकर्ता कुँदाकुँद र नेतालाई छोपाछोपको दशैं

admin

प्यानलै विजेता पछिको एमाले तनहुँ

admin

६१औं स्थापना दिवस

admin