29.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

बालश्रम विरुद्ध जुटौं

रमेश विकल

–पृथ्वी राजमार्ग हुँदै काठमाण्डौको यात्रा गर्दा त्रिशुली किनारमा गिट्टी कुट्दै गरेका बालबालिका पनि आजकल देख्न पाईँदैन ।
–देशभरका गलैचा उद्योगहरुमा हात कुहिने गरी गलैँचा बुन्दै गरेका बालबालिका देखिन छाडेका
छन् ।
यस्ता अन्य क्षेत्रहरु पनि छन्, जहाँ आजकल बालबालिका श्रम गर्दै गरेको देख्न पाईँदैन । यसको कारण हामी साच्चै बाल श्रमका विरुद्धमा भएर हो वा अन्य कारणहरु छन् ? अध्ययनको विषय हुनसक्छ ।
बुझ्न सकिने र देखिने गरेको तथ्य के हो भने नेपालमा बुन्ने गरेका गलैंचा अधिकांश विदेश निर्यात हुन्छन् र जुन देशले ति गलैंचा आयात गर्दछन्, ति देशले बालश्रम प्रयोग नभएको गलैचा मात्र आयात गर्ने गर्दछन् र हाम्रा गलैंचा उत्पादकहरु उक्त काममा बाल श्रमिक नलगाउन बाध्य भएका हुन् ।
त्रिशुली किनारमा गिट्टी कुट्दै गरेका बालबालिका नदेख्नुको कारण अब गिट्टी कुट्न मेसिन आएकाले हो । अर्थात कुनै गिट्टी व्यापारीमा अब मैले बालश्रम प्रयोग गर्नु हुँदैन भन्ने ब्रम्हज्ञान प्राप्त भएर होइन बरु मानिसबाट गिट्टी कुटाउँदा महँगो पर्ने भएर हो । आम अभिभावकमा शिक्षाको महत्व बोध हुँदै जाँदा उनीहरुले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेका लगाएत यी र यस्ता क्षेत्रहरुमा बालश्रमको प्रयोग कम हुँदै जानुका अरु कारणहरु पनि छन् । तर घरायसी कामदारको रुपमा बालबालिको प्रयोग गर्ने, होटलमा भाँडा माझ्ने लगाएतका काममा बालबालिकाको प्रयोग गर्ने क्रम खासै घटेको छैन । दशक लामो माओवादी युद्धमा बालसेनाको प्रयोग भएको र पछि अयोग्य लडाकुको रुपमा राज्यबाट पाउने सुविधाबाट बञ्चित भएको तितो सत्य हाम्रो सामु छ ।
यो सबै कुरा म किन गरिरहेको छु भने आज जुन १२ मा हामीले विश्व मानव समुदायसंगै बाल श्रमको विरुद्धमा विश्व दिवस मनाउँदैछौं । विश्व भरका सरकार, रोजगारदाता र मजदुर संगठन तथा नागरिक समाज तथा आम अभिभावकमा चेतना अभिवृद्धि गर्दै बालश्रम उन्मूलन गर्न सहयोग पुग्ने उद्देश्यले यो दिवस मनाउने
गरिन्छ ।
एकछिन् बालबालिका भनेका को हुन् र बालश्रम भनेको के हो ? भन्ने विषमया चर्चा गरौं अनि थप विषयमा चर्चा गर्नै जमार्काे गर्नेछु । बालबालिका भनेका अन्तर्राष्ट्रिय कानुन अनुसार १८ वर्ष मुनिका मानवजाती हुन् । बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि १८ वर्ष मुनिको मानवजातीलाई बालबालिका मानेको छ । बालश्रम भन्नाले तिनै १८ वर्षभन्दा कम उमेरका मानवजातीले गर्ने श्रम भनेर बुझ्नु सजिलो हुन्छ । तर अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)का अनुसार बाल श्रम “त्यो काम हो जसले बच्चाहरूलाई बाल्यावस्था, उनीहरूको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ“। आधुनिक अर्थमा अर्थात समायसापेक्ष अर्थमा भन्नुपर्दा वास्तवमा कुनै पनि प्रकारको काम जसले बच्चाहरूलाई स्कुल शिक्षा लिन रोक्दछ त्यो बाल श्रम हो । त्यस्तो काम जसले बच्चाहरूलाई स्कुल जाने अवसरबाट वञ्चित गर्दछ, अनि त्यो काम जसले बच्चाहरूलाई सानै उमेरमा स्कुल छोड्नु पर्दछ । यी सबै कामहरु वर्तमान सन्दर्भमा खतरनाक बालश्रमहरु हुन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ) का अनुसार विश्वभरि सयौँ करोड केटाकेटीहरू विभिन्न प्रकारका काममा संलग्न छन् जुन कारणले उनीहरू पर्याप्त शिक्षा, स्वास्थ्य, मनोरञ्जन जस्ता आधारभूत स्वतन्त्रता प्राप्त गर्नबाट वञ्चित रहेका छन् । हरेक दिन वाल अधिकारहरूको हनन भइरहेको छ । बालबालिकालाई माग्ने काममा लगाउने, शसस्त्र द्वन्द्वमा प्रयोग गर्ने, लागू पदार्थको ओसार पसारमा प्रयोग गर्ने, वेश्यावृत्तिमा लगाउने, सवारी साधनहरुमा सहचालकको रुपमा प्रयोग गर्ने, ठूला मेसिन औजारहरु चलाउने काममा लगाउने जस्ता काम रोकएका छैनन् । सन २००२ देखि बाल मजदुर विरुद्ध विश्व दिवस को रुपमा मनाउन थालिएको यो दिनले बाल श्रम समस्या औंल्याउन र बाल श्रमिकहरूलाई मद्दत गर्न तथा विभिन्न देशका सरकार, स्थानीय निकाय तथा अधिकारीहरू, अन्तर्राष्ट्रिय नागरिक समाज, समाजका अगुवाहरू, मजदुरहरू र रोजगारदाता संघ संस्थाहरूलाई बालश्रमका विरुद्ध एकाताबद्ध हुन सहयोग गर्दछ ।
यसमा कुनै दुइमत छैन कि संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा बालबालिका हितमा काम गर्ने धेरै सङ्गठनहरू बाल श्रम रोक्न प्रयास गरिरहेका छन् । तर विश्व समुदायलाई बालश्रम मुक्त तुत्याउन माथि भनिएका संस्थाको प्रयासमात्र पर्याप्त
हुँदैन । यसमा हामी आम मानिसले पनि हातेमालो गर्नु पर्दछ । खासगरी बालश्रमको प्रयोग गर्दै आएका रोजगारदाताहरुले आफैलाई प्रश्न गर्नुपर्ने कुरा के हो भने कतै हामी बालश्रमको प्रयोग गरेर उनीहरुमाथि गम्भीर अपराध त गरिरहेका छैनौं ? आफ्ना छोराछोरीलाई राम्रो शिक्षा र सुविधा दिनेभन्दा अरुका बालबालिकाको मर्यादित जीवन जिउने अधिकार खोसी रहे का त छैनौ ं? आफ्नालाई मानवमूल्य सिकाउँदै गर्दा छिमेकका बच्चाको मानव–मू्रल्य बुझ्ने अवसर छिनीरहेका त छैनौं ?
हामी सबैले बुझ्नुपर्ने सत्य यो हो कि बाल श्रमबाट बाहिर निस्केको बालबालिकाले उसको आत्म– मूल्य चिन्छ । उनीहरूले सामान्य जीवन, मानव अधिकार र मर्यादित जीवन बिताउन थाल्नेछन् । यी बच्चाहरूले देश र विश्वको आर्थिक र सामाजिक विकासमा पनि योगदान पु¥याउँन सक्छन् । बालश्रमका विरुद्ध धेरै कानून बनेका छन् । तर हामीले कागजमा सीमित ति कानुनलाई कार्य व्यवहारमा ल्याउन र विश्वलाई बालश्रम मुक्त बनाउन पहल गर्नुछ ।
हामी भन्ने गर्दछौं कि बालबालिका भनेका भविष्यका कर्णधार हुन् । यदि हामीले आफ्नो कथनलाई आकार प्रदान गर्ने हो भने भविष्ष्यका कर्णधारको भविष्य पनि सुरक्षित गर्नुपर्छ । त्यसैले आउनुहोस्, हामी सबै मिलेर बाल श्रम रोक्ने कार्य गरौं, बच्चाहरूको अधिकार सुरक्षित गरौं, तिनीहरूलाई शिक्षाको न्यानो घाम दिऊँ । त्यो घाम तापेका आजका बालबालिका साँच्चै भोलिको विश्वका कर्णधार बन्न
सक्छन् । संसारलाई चिन्न, जान्न र दिशा निर्देश गर्न सक्छन् । संसार चिनेको, जानेको र संसारलाई दिशा निर्देश गर्न सक्ने बालक हाम्रो चाहना अवश्य हो, त्यसैले आजैबाट बालश्रम मुक्त समाज निर्माणमा सहयोग गरौं ।

Related posts

अस्तित्वको साझेदारी

admin

नियत र कार्यान्वयनको परीक्षा-सम्पादकीय

Deepak Joshi

अनुदान वितरणः तनहुँको ऐना

Deepak Joshi