Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

विधिको शासन र प्रधानमन्त्रीको आव्हान

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
संघीय लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्री खड्गप्रसाद ओलीले २०८२ जेठ ११ गते आईतवार ललितपुरमा आयोजित एमालेको वाग्मती स्तरीय वडाध्यक्षहरुको भेलालाइ सम्बोधन गर्दा ‘जेठ १५ गते विहान ११ बजेदेखि २ बजेसम्म काठमाण्डौ एमालेको नियन्त्रणमा हुनुपर्दछ’ भनि दिएको अभिव्यक्ति आलोच्य भएको छ । खड्गप्रसाद ओली अहिले मुलुकको प्रधानमन्त्री हुन् । एमालेको अध्यक्षको हैसियतले पनि दिन नहुने अभिव्यक्ति दिँदा ओली आलोचित भएका हुन् ।
विधिको शासनः
नेपालको संविधानले भाग २९ मा राजनीतिक दल सम्बन्धी व्यवस्था गरेको छ । सो भाग अन्तरगत धारा २७० मा राजनीतिक दललाइ प्रतिबन्ध लगाउन बन्देज लगाएको छ । सो धारामा धारा २६९ ले राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानुन वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ भनेको छ । मुलुकी अपराध संहिताको भाग १ परिच्छेद ३ मा कसैले कसैलाई कुनै कसूर गर्न दुरुत्साहन दिनु हुँदैन । दुरुत्साहन दिने व्यक्तिलाइ कानुनले सजायभागि बनाएको छ ।
दलको गतिविधिमा रोकः
राजनीतिक दल सम्बन्धी ऐनले दलको कामकारवाहीमा रोक लगाउन सक्ने व्यवस्था गरेको छ । त्यो काम कारवाही भनेको धारा १७ को उपधारा ३ को बमोजिम रहेछ भने मात्रै रोक लगाउन पाउने हो । यहाँ राजनीतिक दल खोल्न पाउने स्वतन्त्रताको संवधानिक हकको प्रयोग गर्दा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पर्ने लगायतका गतिविधि गर्ने गरी दल खोल्न पाईदैन । त्यसरी खोलिएको दलका कामकारवाहीलाई रोक लगाउन सकिने हो । अब यहाँ संविधानको धारा २ ले सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनातामा निहित रहेको स्पष्ट गरेको छ । यो व्यवस्थाले नेपाली जनताको कुरा गरेको छ भने धारा ४८ ले नागरिकको कर्तब्यको व्यवस्था गरेको छ । सो धाराको ख ले संविधान र कानुनको पालना गर्नु नागरिकको कर्तब्य भनेको छ । त्यसैले संविधान विरुद्धका राजनीतिक दलका गतिविधिलाइ रोक लगाउने सक्ने भाव संविधान र कानुनमा भेटिदैन ।
विवादित अभिव्यक्तिः
प्रधानमन्त्री खड्गप्रसाद ओलीले जेठ ११ गते आईतवार ललितपुरमा एमालेले अयोजना गरेको वडाध्यक्षहरुको प्रशिक्षणमा जेठ १५ गते विहान ११ बजेदेखि २ बजेसम्म काठमाण्डौ एमालेको नियन्त्रणमा हुनुपर्दछ’ भनेर दिएको अभिव्यक्तिलाई राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोख्रेलले जेठ १२ गते एक विज्ञप्ति निकालेर उत्तेजनात्मक भनाइ भनेको छ । साथै त्यस्तो उत्तेजनात्मक अभिव्यक्तिले लोकतान्त्रिक मूल्य र मानव अधिकारको सूचकलाई कमजोर पार्ने मात्रै बताएन, विधिको शासन विपरित हुन जाने भनेर टिप्पणी समेत गरेको छ । प्रतिपक्ष दलहरुले खरो रुपमा विरोध जनाएकै छन् । सत्ताधारी नेपाली काँग्रेस भित्रैबाट पनि विभिन्न तप्काबाट विरोध भएको छ ।
निष्कर्षः
शासकीय अधिकारको जिम्मेवारी पाएको व्यक्तिका अभिव्यक्ति संविधान, ऐन, नियम र कानुन प्रतिकूल हुनुहुँदैन । विधिको शासनलाइ निस्तेज पार्ने खालका हुनुहुँदैन । लोकतान्त्रिक मूल्य र मान्यता अनुकुल हुनुपर्दछ । राजनीतिक गतिविधि गर्न पाउनु नै यो संविधानको मूल मर्म हो ।

Related posts

संवेदनशील महिला स्वास्थ्य

admin

जनताले बनाएको संविधान–आइसियुमा

admin

आज आकाशमा उड्ने कुरा -सम्पादकीय

admin