Tanahun Awaj
समाचार

बीपीवाद बोकेको काँग्रेस बनाउने अभियानमा धैर्यतापूर्वक संगठित रहन जोशीको आव्हान

दमौली/बीपी विचार राष्ट्रिय समाजका कार्यवहाक सभापति गोविन्दराज जोशीले बिहिबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाइ सम्वोधन गर्नुभएको छ । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री जोशीले बीपीवाद बोकेको नेपाली काँग्रेस बनाउने अभियानमा धैर्यतापूर्वक संगठित रहन आमनेपाली काँग्रेसका कार्यकर्तालाइ आव्हान गर्नुभएको छ ।

नेपाली काँग्रेसको वर्तमान नेतृत्वलाइ माओवादीले लात्ताले हान्दा पनि चेत नआएको चर्चा गर्दै जोशीले सत्तामा सहभागिता पाएमा अझैपनि माओवादीसंग वर्तमान नेपाली काँग्रेस नेतृत्व मिल्न सक्ने बताउनु भयो । कार्यकर्ताहरुले राखेको जिज्ञासा मेटाउँदै नेता जोशीले भन्नुभयो ‘ हामी स्वतन्त्र अस्तित्वमा छौं । हाम्रो छुट्टै पहिचान बनि सकेको छ । तपाइहरु भ्रममा नपर्नुहोस् हामीसंग कसैले एकता समेत कुनै कुराको पहल सम्पर्क गरेको छैन । नहतारिनुहोस्, बनिसकेको आफ्नो पहिचान र अस्तित्व विना कारण गुमाउन हुँदैन । काँग्रेस माओवादी र एमाले जनताको नजरबाट तिरस्कृत भैसकेका छन् ।’ जोशीले अगाडि भन्नुभयो, ‘नेपाली काँग्रेसभित्र व्यापक छलफल गरेर सबैको आत्मस्वाभिमानको कदर हुन सकेन भने अब नेपाली काँग्रेस समाप्त हुन्छ । २०८४ को चुनाव पछि नेपाली काँग्रेसको बेहाल हुन्छ ।’

नेपाली काँग्रेस भनेको एउटा आदर्श हो संस्कार हो संस्कृति हो भन्ने चर्चा गर्दै नेता जोशीले आफ्नो सिद्धान्त छोडेर सत्ताकेन्द्रित भएका बेला नेपाली काँग्रेस निरर्थक हुन्छ भन्ने बीपीवादलाइ लत्त्याएका कारण २०८४ को चुनावसम्म पुग्दा शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेस निरर्थक हुने ठोकुवा गर्नुभयो । नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको चर्चा गर्दै नेता जोशीले जनै फालेर टुप्पी काटेको बाहुनको अस्तित्वसंग मेल खाने काँग्रेसको अस्तित्व बनेको बताउनु भयो । पहिचान गुमाएको काँग्रेसलाइ जय नेपाल भन्ने अधिकार नभएको विवेचना गर्दै जोशीले त्यस्तो नेतृत्वलाइ जय नेपाल भन्दा जय नेपालको इतिहास नै लज्जित हुने बताउनु भयो ।

बीपी विचार समाजको भेलालाइ बी पी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य सुकुमलाल गुरुङ, गण्डकी प्रदेश सचिव परशुराम गिरी, बीपी विचार समाज तनहुँ सभापति हरिशरण पण्डित, नेपाली काँग्रेसका पुराना कार्यकर्ता सुनाराम गुरुङ, नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सदस्य ऋषिराम पोख्रेल, व्यास नगरपालिकाको मेयर पदका उपविजेता इ. दीपकराज जोशी, नेपाली काँग्रेस भानुकी महिला नेतृ लालमति गुरुङ, हेमलाल श्रेष्ठ, कटकबहादुर थापा, क्या. रेशमलाल गुरुङ, वीपी विचार समाज देवघाट संयोजक सूर्यप्रसाद ढकाल, व्यास संयोजक इ. दीर्घबहादुर थापा, भानु संयोजक लिलचन्द्र पाण्डे लगायतले सम्बोधन गर्नु भएको थियो ।

बीपी विचार समाज क्षेत्र नं. १ का सभापति केशरबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपसभापति रुद्रनिधि नैनावस्तीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सदस्य सोलबहादुर चितौरेले गर्नु भएको थियो ।

Related posts

नेकपा एमालेको ११ औं महाधिवेशनओलीको तेस्रो विजय, १९ पदाधिकारीमा ओलीकै वर्चस्व, तनहुँबाट चार केन्द्रीय सदस्य

admin

चन्द्रज्योति माध्यमिक विद्यालयको होष्टेलको गतिविधि –प्रहरी अनुसन्धानमा

admin

फेरी बढ्दै कोरोना संक्रमण

admin