19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

सकारात्मक विचारको खोजी

रमेश विकल
आजबाट खासगरी हिन्दु सभ्यताका अुनयायीहरुका घर घरमा स्वस्थानी ब्रतकथाको चर्चा हुने गर्दछ । धर्मानुरागी  हिन्दु महिलाहरु सके  स्वस्थानी ब्रत लिने र पुजा आराधना गर्ने गर्दछने नसकेको खण्डमा भने  सांझ स्वस्थानीको कथा सुनेर देवीको स्मरण गर्नेछन् ।  नारी शक्तिको चर्चा गरिएको र नारी पुजनिय भएको उल्लेख गरेको यो कथा पठनिय त छँदैछ, ग्रहण गर्न सकिने धेरै कुरा छन्, जसले हामीलाई आफ्नो क्षमता पहिचान गरेर जीवनलाई सहज अगाडि बढाउन प्रेरित गर्नेछ ।  यो वर्ष माघ ११ गते पूर्णिमाको दिनबाट एक महिने स्वस्थानी ब्रत प्रारम्भ भएको छ र माघ शुक्ल पूर्णिमाको दिन फागुन १२ गते गएर यो ब्रत समाप्त हुनेछ ।
स्कन्द पुराण अन्तर्गत माघ माहत्म्यको रुपमा उल्लेखित महिना लामो स्वस्थानीको यो ब्रतले आफ्ना मानोकांक्षा पूर्ण हुन्छन् भन्ने विश्वास रहेको छ । त्यसैले हिन्दु सभ्यताका अनुयायी खासगरी महिलाहरु यो ब्रत बस्ने गर्दछन्  । हात गोडाका नङ काटेर, तन– मन शुद्ध पारेर गर्नु पर्ने भनिएको यो ब्रतलाई दक्षिण एशियाकै उत्कृष्ट ब्रत भनेर चर्चा गर्ने पश्चिमा विद्वानहरु पनि भेटिन थालेका छन् । तर हिन्दु सभ्यताका अुनयायीहरु नै प्रगतिशिल कहलाउने नाममा यसको गुढ अर्थलाई बुझ्ने कोशिस गर्नु साटो सतही अध्ययनका आधारमा यसमा दोष देखाउने कार्यमा प्रवृत्त देखिएका छन् । सफा सेतो कागजको कुनै कुनामा भएको सानो कालो धब्बा मात्र देख्ने र त्यसैको चर्चा गर्ने चरित्रका हामीले स्वस्थानीमा पनि नराम्रा कुरामात्र देख्नु कुनै आश्चर्यको कुरा भएन । तर  यस्तो प्रवृत्तिले हामीलाई प्रगतिशिल होइन बरु संकिर्ण  मानसिकताको मानिस प्रमाणित गर्नेछ । खासगरी हिन्दु धर्म ग्रन्थहरुमा महिलालाई अपमानित गर्ने, उनीहरुका प्रति हिंसा गर्न उक्साउने, समाजमा उनीहरुलाई अगाडि बढ्न दिनु हुँदैन भन्ने कुरामा बल दिइन्छ भन्ने आरोप लगाउने गरेको पाईन्छ, त्यो पनि यहि धर्मका अनुयायीहरु बाट । तर कुरा के हो भने हामी कसैले गिलास आधा खाली देख्छौं त कसैले आधा भरिएको । ति धर्म ग्रन्थहरुमा पनि कसैले गिलास आधा भरिएको देख्छन् त कसैले सोही गिलास आधा खाली । कुरा,सकारात्मकताको खोजी वा नकारात्मकताको भन्ने हो अनि कसरी ग्रहण गरिन्छ वा दृष्टिकोण कस्तो छ भन्ने हो । आनी छोइङ डोल्माले गीतमा भने जस्तै “वस्तु हुन्छ है दृष्टि अन्सार ।”  
शिक्षा र चेतनाको पर्याप्त विकासित मानिएको वर्तमानमा त नारीप्रतिको दृष्टिकोण र आज भन्दा सयौं वर्ष अगाडि  रचना गरिएको स्वस्थानी कथामा सर्वगुण सम्पन्नता खोज्नु कति जायज हो र यसैका आधारमा हाम्रा धर्मग्रन्थहरु महिला मैत्री भएनन् भनेर एकोहोरो आलोचना गर्नु कति संगत काम हुन आउँछ ? अब मनन गर्नुपर्ने बेला आएको छ ।
स्वस्थानीमा महिलाका विषयमा उल्लेख गरिएका केही सन्दर्भ अहिलेको पुस्ताका हाम्रा लागि नसुहाउँदा लाग्लान् तर यस्ता धेरै सन्दर्भहरु छन् जसले हाम्रो अहिलेको चेतनालाई पनि हल्लाउँछ । चाहे त्यो अनेमेल विवाह होस् या बाल विवाह र त्यसले खासगरी महिला पात्रको जीवनमा आउने असजिला बारेमा गरिएको चित्रण । परस्त्रीमाथि कुदृष्टि लगाउँने पुरुष सजाएको भागिदार हुने कुरा स्वस्थानी कथामा शसक्त ढंगले वयान गरिएको छ । एउटी युवतीले आफ्ना अभिभावकले आफ्नो मञ्जुरी बेगर विवाह गरिदिन लाग्दा कसरी विद्रोह गर्छन र गर्नुपर्छ भन्ने कुराको चित्रण  पनि उत्तिकै सजिव ढंगले गरिएको छ ।
स्वस्थानी अर्थात आफ्नै स्थानमा रहने, मैले यसरी अर्थ लगाएँ । आफ्ना सबलता, दुर्वलताको पहिचान गरेर दुर्वलतालाई हटाउँदै अनि सबल पक्षलाई अंगाल्दै जाने हो भने सफलता मिल्छ भन्ने कुरालाई बल दिने कथा हो स्वस्थानी कथा । यस कथाको अध्याय १२ मा  आफ्नो विवाह बुबाले भगवान विष्णुसंग आफ्नो सहमती बेगर गर्न लागेपछि पार्वतीले विद्रोह गर्दै भागेर लुकेको उल्लेख छ । हामीकहाँ अझैपनि कन्याको रोजाइका वरसंग विवाह गरिदिने परम्परा बस्न सकेको 

छैन । आमा बाबुले छोराछोरीको भलो नै चाहन्छन् त्यसैले उनीहरुलाई राम्रो लागेको केटासंग छोरीले विवाह गर्नु नै असल छोरीको कर्तव्य हुन आउँछ भन्ने कुराले राम्रै घर गरेको छ । जोसंग जीवन विताउने हो उसका बारेमा जानकारी राख्ने अधिकार हामीले छोरीलाई दिनु पर्ने होइन र ? अनि यसलाई स्वस्थानी कथाको सकारात्मक पक्षका रुपमा हामीले किन ग्रहण नगर्ने ?
स्वस्थानीमा अर्काे पनि प्रसंग छ, अध्याय १७ मा । उक्त अध्यायमा पहिले जालन्धरले पार्वतीलाई छल गर्न खोेजेको अर्थात यौन सम्बन्ध राख्न खोजेको तर असफल भएको तथा पछि विष्णुले जालन्धरकी पत्नी वृन्दालाई छल गरेको सन्दर्भ उल्लेख छ । यसैलाई कतिपयले छाडाहुन प्रेरित गरेको भनेर अथ्र्याउने गरेको पाइन्छ । तर परस्त्रीसंग अवैध यौन सम्बन्ध राख्ने कुचेष्टा गरेका कारण जालन्धरले ज्यान गुमाउनु परेको छ । अनि भगवान भनिएका विष्णुले पनि श्रापित भएर ढुङ्गा, झार, घाँस र रुख भएर बस्न परेको त्यहाँ उल्लेख गरिएको छ । यसलाई परस्त्री माथी कुदृष्टि लगाउने जोकोही भएपनि सजाएको भागिदार हुनु पर्छ भन्ने कुराको सन्देश दिएको छ, स्वस्थानीले भनेर किन नभन्ने ?
कुल ३१ अध्याय भएको स्वस्थानी कथामा अध्याय २१ मा सात वर्षिय बालिका गोमा र ७० वर्षका शिव शर्माका बीच विवाह भएको कुरा उल्लेख छ । यस पछिका सबै अध्यायहरु गोमाको जीवनका आरोह अवरोहको वर्णनमा सकिएको
छ । बाल विवाह र अनमेल विवाह अक्षम्य अपराध हुन भन्ने कुरामा दुइमत छैन ।
मैलै माथि नै भनें स्वस्थानीमा भएका सबै कथा आलोचनाबाट मुक्त छैनन् । तर एउटी नारीले आफ्नो जीवनमा आएका आरोह अवरोहलाई दृढ आत्मविश्वास र साहसका साथ कसरी पार लगाउँछन् भन्ने कुराको उदाहरणका रुपमा हामीले यसका कथालाई लिन सक्छांै। छोरा गर्भमै हुँदा जीवनसंगी गुमाएकी गोमाले जुन कष्ट सहेर छोरालाई हुर्काएको वर्णन गरिएको छ, त्यो केवल एउटी नारीले मात्र गर्न सक्छे । त्यसैले स्वस्थानीमा महिलाको अपमान होइन बरु सम्मान गरिएको कुरा उल्लेख गर्न र धर्म ग्रन्थहरुमा भएका सकारात्मक पक्षको पहिचान गरी चर्चा गर्नु श्रेयष्कर हुनेछ ।

Related posts

कानून, व्यबहार र अस्थिरता

admin

स्थानीय तहमा चुलिँदो बेरुजु र हराउँदै वित्तीय सुशासन-सम्पादकीय

Deepak Joshi

ख्रीष्टमस

admin