22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

राष्ट्रिय सभा निर्वाचन–२०८० माओवादी उत्साही, वेचैन एमाले

रमेश विकल
प्रतिनिधि सभामा तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र माघ ११ मा हुने निर्वाचनबाट राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्ने भएसंगै उत्साही छ । उता १७ सदस्य सहित सबैभन्दा ठूलो दलको रुपमा रहेको एमाले भने तेस्रो वा चौथो ठूलो दलको रुपमा घटुवा हुने बुझेर वेचैन छ ।
माघ ११ मा राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ । फागुन २० मा यस सभाका १९ निर्वाचित तथा १ राष्ट्रपतिबाट मनोनित गरी २० सांसदले ६ वर्षे कार्यकाल सकेर विदा लिने भएकाले निर्वाचन हुन लागेको हो ।
यो निर्वाचनमा सातै प्रदेशका प्रदेश सभा सदस्य र देशभरका ७५३ स्थानीय निकायका प्रमुख तथा उपप्रमुख मतदाता रहने छन् । कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । यो प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१० रहेको छ । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन रहेको र उनीहरुको मतभार ५ हजार ४७४ छ ।
यस्तै मधेस प्रदेशमा १० हजार ८३९ मत रहेको छ । यहाँ एमालेको कूल २ हजार ३०२ मत रहँदा गठबन्धनसँग ७ हजार ९९९ मत देखिन्छ ।
बागमती प्रदेशमा कूल १० हजार ३५२ मतभार रहेको छ । यो प्रदेशमा एमालको २ हजार ५७१ तथा गठबन्धन सम्बद्ध दलसँग ६ हजार ७५१ मत देखिन्छ । गण्डकी प्रदेशमा कूल ६ हजार ४१० मत रहेको छ । यहाँ एमालेको २ हजार ४५८ तथा गठबन्धनसँग ३ हजार ७७४ मतभार रहेको छ ।
लुम्बिनी प्रदेशमा कूल ८ हजार ७५३ मतभार रहेको छ । यो प्रदेशमा एमालेसंग २ हजार ८१० मतभार छ भने गठबन्धनसँग ५ हजार ४७७ मतभार छ । कर्णाली प्रदेशमा पनि अवस्था भिन्न छैन । यहा कूल ५ हजार १२२ मतभार रहेको छ । यो प्रदेशमा एमालेको १ हजार १४२ तर गठबन्धनको मत जोड्दा ३ हजार ७०७ मत पुग्छ ।
६ हजार २५३ मतभार कूल मतभार रहेको सुदूरपश्चिम प्रदेशमा , एमालेको १ हजार ४८० मतभार रहेको छ । उता गठबन्धनसंग भने ४ हजार ५१० भतभार रहेको छ ।
प्रदेशगत प्रतिनिधित्व हुने गरी निर्वाचन हुने र सातै प्रदेशमा सत्ता गठबन्धन बहुमतमा रहेकोले एमालेका उम्मेदबार विजयी हुने सम्भावना छैन । हालसम्म ठूलो दलको रुपमा रहेको एमालेका निर्वाचित ८ र राष्ट्रिपतिबाट मनोनित एक गरी ९ सदस्य विदा हुनेछन् तर गठबन्धन कायम रहेको खण्डमा एकजना पनि एमाले उम्मेदबार विजयी हुने छैनन् ।
सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गरेर जाने सहमति भएको यथार्थ बीच एमालेको वेचैनी स्वाभाविक बनेको छ । १९ सदस्यका लागि हुने निर्वाचनमा कांग्रेसको भागमा ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीको भागमा ३, तथा जनता समाजवादीको भागमा एक सिट पर्ने लगभग सहमती भएको समाचार आएका छन् । यदि यसो भएमा माओवादी १९ सदस्य सहित राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्नेछ । यसैगरी राष्ट्रपतिबाट मनोनित हुने एक सदस्य समेत पाएमा कांग्रेसको सदस्य संख्या १६ पुग्ने छ र दोस्रो ठूलो दल बन्ने छ ।
नेकपा एमालेका ९ सदस्यमात्र बाँकी रहने छन् । उता एकिकृत समाजवादीका पनि ९ सदस्य हुनेछन् । एमाले वा एकिकृत समाजवादीको स्थान भने बामदेवको भूमिकामा निर्भर हुनेछ । बामदेव जता जान्छन् उहि तेस्रो ठूलो दल बन्नेछ । प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमाले बामदेव गौतमले साथ छोडेको खण्डमा राष्ट्रिय सभामा भने पहिलो ठूलो दलबाट चौथो ठूलो दलको रुपमा
झर्नेछ ।

Related posts

सन्दर्भ–तनहु–१, उपनिर्वाचन
अवसर र चुनौतिको चाङमा पुराना दल

admin

आदिकविको प्रतिमा निर्माण हुने

admin

सरकारको नीति तथा कार्यक्रम-बजेट मार्फत इमान्दार कार्यान्वयनको जनअपेक्षा

Deepak Joshi