Tanahun Awaj
समाचार

शरणार्थी दिवस, नक्कली शरणार्थी काण्ड र जागेको आशा

विशेष सम्वाददाता
अन्तर्राष्ट्रिय शरणार्थी दिवसको संघारमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका १६ अभियुक्त पुर्पक्षका लागि थुनामा पुगेको समाचार पढ्न र सुन्न पाइयो ।
हरेक वर्ष जनु २० तारिखमा संसारभरका शरणार्थीको समानता सहित स्वतन्त्रताको पक्षमा पैरवी गर्न यो दिवस मनाउने गरिन्छ । तर हाम्रोमा आफ्ना नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने र उनीहरुबाट पैसा असुलेर धनी हुने धन्दामा उच्च पदस्तहरु नै लागेको भेटिने जस्तो दुर्भाग्यपूर्ण अवस्था रह्यो ।
सन् २००१ बाट मनाउन थालिएको शरणार्थी दिवसको उद्देश्य विभिन्न कारणले अन्य देशमा मानिसहरु शरणार्थी बन्न जाने र उनीहरुको घर फर्कन वा सम्मानित वसोवासमा रहन पाउने अधिकारलाई उठाउनु रहेको छ । यता भने सम्मानित जीवन बाँचि रहेका र विस्थापित हुनु पर्ने कुनै कारण नभएका नागरिकलाई अधिकारको दुरुपयोग गर्दै नक्कली शरणार्थी बनाएर पठाउने धन्दा मौलाएको घटनाले सबै नेपालीको शीर झुकेको छ ।
तर जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशले आम नागरिकमा न्यायका आशा जगाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत शुक्रबार २८ पृष्ठ लामो आदेश जारी गर्दै

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ र हरिभक्त महर्जनलाई थुनामा राख्न आदेश दिएसंगै न्यायालय प्रतिको विश्वास र न्याया प्राप्तीको आशा जागेको हो ।
पछि ‘प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी’ हालका लागि कारागार चलान गर्नू भन्ने आदेशमा उल्लेखीत भाषाले न्यायालयलाई प्रभावमा पारेर ठूला माछाहरु उम्कन सकने आशंका रहेका भएपनि हालको आदेशले न्यायको आशा भने अवश्य जगाएको छ ।

Related posts

६१औं स्थापना दिवस

admin

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin

धानको वीउ रोप्दै

Deepak Joshi