Tanahun Awaj
समाचार

उपनिर्वाचनका लागि तनहुँमा ९ को उम्मेदबारी
कांग्रेस एमाले र रास्वपाबिच मुख्य प्रतिस्पर्धा

वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँमा ९ जनाको उम्मेदबारी दार्ता भएको छ ।
 तनहुँ क्षेत्र नं १ मा हुने उक्त निर्वाचनका लागि निर्वाचन विभिन्न ९ दलका उम्मेदबारले उम्मेदबारी दर्ता गराएका छन् । 
निर्वाचन आयोगका अनुसार सोमबार सम्पन्न उम्मेदबारी दर्ता कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदबारी दर्ता गराएको छन् । नेकपा एमालेको तर्फबाट सर्वेन्द्र खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भर्खर कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेले उम्मेदबारी दर्ता गराएका            छन् । 
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीको तर्फबाट रामप्रसाद प्रजापती, राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट प्रेमबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भीमबहादुर सुनार तथा नेपाल कम्युनिस्ट पार्टी समाजवादीको तर्फबाट गणेश श्रेष्ठले उम्मेदबारी दिएका छन् । तनहुँमा कुनै पनि स्वतन्त्र उम्मेदबारी नपरेको निर्वाचन आयोगले जनाएको           छ । 
पुराना दलका उम्मेदबार भएकाले भट्टराई र खनालको चर्चा त हुने नै भयो, स्वर्णिम वाग्लेको चर्चा पनि यो उपनिर्वाचनमा कम छैन । त्यसैले यो उपनिर्वाचनमा भट्टराई, खनाल र वाग्लेबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणामलाई हेर्ने हो भने पनि यिनै तीन उम्मेदबारबिच प्रतिस्पर्धा हुने देखिन्छ ।    मंसिर ४ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए भने एमालेका एकबहादुर राना १९ हजार ९८१ मत सहित उपविजेता भएका थिए । उता रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । यो मत परिणाम हेर्दा कांग्रेस उम्मेदबार भट्टराईका जित सहज देखिन्छ । तर कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको साथले मत परिणाममा फेरबदल हुन सक्ने देखिन्छ । किनभने जोशीले मंसिर ४ को निर्वाचनमा ६ हजार ८८६ मत ल्याएका थिए । जोशीको समर्थन पाएमा एमालेका उम्मेदबार खनालको जितको सम्भावना रहन्छ भने जोशीको समर्थन वाग्ललाई रहँदा पनि भट्टराईलाई जित निकाल्न कठिन हुने आँकलन गरिएको छ । विजयी उम्मेदबारको एक चौथाई तथा उपविजेताको एक तिहाई मत ल्याएको रास्वपाले जित हात पार्ने सम्भावना भने अलि           टाढैछ । 

तर कुशल अर्थशास्त्रीको रुपमा आफ्नो परिचय बनाएका वाग्ले प्रति युवाको आकर्षणका कारण जित हात पारिहाल्छन् कि भन्नेहरु पनि छन् ।

Related posts

सचिन स्मृति दौडः उपाधि बोगटीलाई

admin

चारदिने घुम्ती शिविर सम्पन्न

admin

जोखिम पूर्ण यात्रा

admin