22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

बद्नाम संसदको छायँमा न्यायालय

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमि
प्रतिनिधि सभा सदस्यको योग्यता भनेको कर्तब्य ज्यान मुद्दामा अदालतले थुनामा राख्ने आदेश दिएपछि थुनाबाट बच्न पार्टीको टिकट किनेर साँसद बन्न सक्ने, भ्रष्टाचारमा अभियोग लागेका, नागरिकता विवादमा फसेका समेतका फौजदारी कसूरका अभियुक्त हुनुपर्ने सन्देश गएको छ । विधायिका बद्नाम हुँदा कार्यपालिका पनि स्वभाविक रुपमा बद्नाम हुने भयो । बद्नाम विधायिका र कार्यपालिकाले महत्वपूर्ण हुने नियुक्तिमा परेको न्यायालयमाथि त्यसको धब्वा लाग्नु स्वभाविक बनेको छ ।
बद्नाम संसदः
अपराध गर्दै समाजवादी फोरम, जनता समाजवादी हुँदै एमालेको टिकट किनेर प्रतिनिधि सभा सदस्य निर्वाचित हुन सफल लक्ष्मी महतो कोइरीलाइ कर्तब्य ज्यान मुद्दामा जनकपुर उच्च अदालत जनकपुरले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको छ । तर लक्ष्मी महतो कोईरी वारेस मार्फत मनोनयन दर्ता गरी प्रतिनिधि सभा २०७९ मा निर्वाचित भए । वारेश मार्फत नै प्रमाण पत्र लिएर सपथ ग्रहण गरे । प्रधानमन्त्रीलाइ विश्वासको मत दिन गए । मतदान पछि विवादित बने । एमाले र नेपाली काँग्रेस प्रधानमन्त्रीलाई विश्वासको मत दिने संसदको पहिलो र दोस्रो ठूलो दल हुन् । नेपाली काँग्रेसले पनि जग्गा भाडा अनियमिततामा अभियोगमा विशेष अदालतमा मुद्धा खेपिरहेका टेकबहादुर गुरुङ्गलाई टिकट दिएर सांसद बनाएर संसदको बद्नाम गराएको छ । अझ अगाडि बढेर प्रतिनिधि सभामा प्रतिपक्ष विहिन बनाउने पनि काँग्रेस नै हो ।
छायाँमा न्यायालयः
हत्या हिंसा, भ्रष्ट्राचार, किर्ते, समेतका फौजदारी कसूरमा सम्लग्न व्यक्तिहरुलाइ टिकट दिएर संसद सदस्य जिताएर सुरक्षण प्रदान गर्ने एमाले र काँग्रेस समेतका दलहरुको भागबण्डामा पर्ने प्रधानमन्त्री, कानुन मन्त्री, विपक्षी दलको नेता र न्याय परिषद समेतको निर्णायक भूमिका रहने हरेक नियुक्तिले हरेक अपराध, विकृति, विसंगतिलाइ राजनीतिक संरक्षण प्रदान गर्ने अभिष्ट रहनेहुँदा त्यसको छायाँमा न्यायालय स्वभाविक रुपमा पर्ने अवस्थामा पुग्यो । राजनीतिक दलका सांसद भन्दा उदण्ड, जनसरोकारका विषयमा उदासिन, अनुदार व्यक्तिहरुको प्रवेशले न्यायालयले आफ्नो गरिमा, पहिचान र विश्वासनीयताको संरक्षण गर्न सक्दैन । त्यो अवस्थाले राज्यको पहिचान पनि धरापमा पर्दछ ।
लाचारी कस्को ?
हामीले प्रत्यक्ष रुपमा भन्दा निर्वाचन आयोग, संसद सचिवालयको लाचारी देख्न सकिएला । तर विधि, प्रक्रिया र कानुनलाई मिच्ने काम देशका प्रमुख राजनीतिक दलहरुले गरेकै कारण यो अवस्था आएको हो ।
निष्कर्षः
देशका प्रमुख राजनीतिक दलहरुले कानुन, विधि र प्रक्रियालाइ स्थापित गरेर शासन सञ्चालन गर्न नसक्दा देशका तीन अंग असफल देखिएको छ । दलहरुले नेपाल राज्यको पहिचान धरापमा पारेका छन् ।

Related posts

छाता प्रजातिको संरक्षण-सम्पादकीय

admin

रविको रन्को -सम्पादकीय

admin

प्रतिवेदन सार्वजनिक गर-सम्पादकीय

Deepak Joshi