Tanahun Awaj
विचार/दृष्टिकोण

आज वसन्त पञ्चमी -सम्पादकीय

मानिसले आफु भित्रका अज्ञानता रुपि अन्धकारलाई चिर्दै ज्ञान रुपि दिप प्रदान गर्नु हुने सेतो वस्त्र धारण गर्न तथा हातमा वीणा लिने विद्याकी देवी माता सरस्वतीको पुजा आराधना गर्ने दिन आज । वसन्त पञ्चमी तथा श्रीपञ्चमी नामले पुकारिने आजको दिन सरस्वतीको पुजा आराधना गर्नाले हामीलाई विद्यारुपि धन प्राप्त हुने विश्वास रहेको छ र मानिसहरु सरस्वतीको पुजा आराधना गर्दछन् । आफ्ना पुस्तक, कलम र मसीको तथा संगीत साधकले बाध्यबादन सामग्री, मुर्तिकारले आफ्ना औजार, चित्रकारले आफ्नो कुची अनि गायकले आफ्नो गायन सामग्री आदिको पनि आज पुजा गर्ने चलन छ । समग्रमा आजको दिन र्सिजनाका साधनको पुजा आराधना गर्ने दिन हो ।
आज साना बालबालिकाको अक्षरारम्भ गर्ने दिन पनि हो । यस दिन अक्षरारम्भ गराउँदा बालबालिका पढ्नमा तेज हुन्छन् भन्ने विश्वास रहेको छ । यति मात्र होइन आजबाट वसन्त ऋतुको प्रारम्भ हुन्छ । मुटु छेड्ने जाडो कम हुँदै गएर घमाइलो दिन सुरु हुने तथा वातावरणमा हरियाली छाउने भएकाले मानिसको मन प्रफुल्ल हुन प्रारम्भ आजैबाट हुन्छ ।
आज राष्ट्रिय पुस्तक दिवस पनि हो । पुस्तकको महत्व बझेर होला, थोरोले भनेका छन् “ परानो कोट लगाऊ, नयाँ पुस्तक किन ।” पुस्तक ज्ञानको भण्डार हो । पुस्तक विनम्र साथी हो । पुस्तकको महत्वका विषयमा धेरैले धेरै कुरा भनेका छन् । पछिल्लो समय पठन संस्कृति हराउँदै गएकाले पुस्तकको महत्व कम भएको जस्तो देखिँदै गएको छ । तर हामीले बुझ्नु पर्ने के हो भने पुस्तकको महत्व क्षणिक रुपमा कम भएजस्तो दखिए पनि यथार्थ फरक छ । पुस्तकको महत्व कहिल्यै कम हुँदैन र हुनपनि हुँदैन ।
सरस्वती पुजा, श्रीपञ्चमी तथा वसन्त पञ्चमीको अवसरमा सबैलाई शुभकामना । किताबका हरेक पानामा, हरेक अक्षरमा सरस्वतीको वास होस् र हाम्रा साना बाबुनानीहरु हामीले विश्वास गरेजस्तै पढ्नमा तेज बनुन् । संगीतकारलाई मिठो संगीत सिर्जना गर्ने क्षमता प्राप्त होस् अनि सबैलाई आफ्नो कार्यक्षेत्रमा सफलता प्राप्त होस् ।

Related posts

जनसंख्या र समुन्नति साइना

admin

MCC राष्ट्रिय हित अनुकुल कि प्रतिकूल ?

admin

नैतिकता बोधित आचारसंहिता

admin