30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

बृद्धआश्रम पनि खुसी खुसी जाऔं

प्रभात पाेख्रेल घिरिङ-१, तनहुँ

अहिले देशै भर बर्षे बिदाको माहोल छ । निजी विद्यालय छाडेर अधिकांश सार्वजनिक विद्यालयले पनि सरकारले नै दिएको बर्षे बिदाको अवलम्बन गर्दै आएका छन् । बिदा भन्ने बित्तिकै आम सोच के हुन्छ भने बच्चा बच्ची घरमा/टोलमा चकचक/होहल्ला गरेर ठुला बडाको दैनिकिमा असर पार्छन् । २०–२२ वर्ष पार गर्दै गर्दा मलाई पनि बच्चा बच्चीहरुको स्वर सुनेपछि झिज्याट नलाग्ने त पक्कै होईन । तर बेलाबेलामा आफ्नै बाल्यकाल सम्झिएर बढो लाज र हाँसो लाग्छ । म सानै देखि तनहुँ जिल्ला दमौली मै बसे, हुर्किए । दमौली कै एक बिद्यालयमा आफ्नो १२ पनि सके । आज त्यहि बिद्यालयमा बिदाको घण्टी बजेपछि होहल्ला गर्दै बिद्यालयबाट निस्किएका बिद्यार्थी देखेर खुब रिस उठ्छ, तर एकैछिनमा सम्झन्छु मेरो पनि त बाल्यकाल यस्तै थियो । परिक्षाको बेला समय भन्दा घण्टौ पहिले बिद्यालय क्षेत्रमा आएर टोलै थर्किने गरि साथि भाईसँग कुरा गर्नु हाँस्नु, दैनिक ६–७ घण्टा सँगै बिताउने साथीसँग बिदा भएपछि ठुलो ठुलो स्वरमा कुरा गर्दै निस्किनु लगायतका याद अझै जिवितै छन् ।
बिदाको कुरा गर्दा गर्दै कुराले अर्कै मोड लिएछ क्यारे । अब फर्कौ बिदा तिरै । बिदा भन्ने चिजनै साह्रै प्यारो लाग्ने र महत्वपूर्ण हुने उमेर हो भन्छु म बाल्यकाललाई । बाल्यकालको कुरा गर्दा आफ्नो यादहरु ताजा नहुने त कुरै भएन । बिहानको १० बजे बाट स्कुल शुरु हुन्थ्यो बिहान सबेरै उठेर हात मुख धुँदै टोलाका सबै आफ्नो उमेरका साथीहरू जम्मा भएर कहिले गुज्चा त कहिले रेस्लिङकार्ड खेलिन्थ्यो । यो कुरामा गुच्चा र रेस्लिङ कार्ड खेल्नुको फाइदा त नकेलाऔ तर त्यो बालकलाई बिहान सबेरै उठ्दा शरिर फुर्तिलो हुन्छ भनेर कसैले सिकाउनै परेन । साथित्व र खेलको टडपले सिकाईदियो । बेलुका ४ बजे छुट्टी हुन्थ्यो, खाजा खाएर फेरि साथीहरु जम्मा भएर बीपि बनवाटीकामा फुटबल लगायतका खेल खेल्न गयो । फुटबल खेल्दा मलाई कस्तो गाह्रो भयो भनेर मैदानमा लड्दा चिने÷नचिनेका साथीहरु सबै जम्मा भएर के भयो के भयो पानी ले त, हस्पिटल लान पर्छ क्याहो । जस्ता शब्दहरु सुन्दा आत्मियता र अरुको चिन्ता गर्नु के हो उस्ले बुझ्यो । आत्मियताको कुरा उस्ले बिद्यालयमा किताबमा पढिसकेको थियो होला तर त्यो मैदानमा उस्ले त्यो भोग्ने मौंका पायो । बिद्यालयको पाठ्यक्रममा आमा बुबा हाम्रा लागि भगवान हुन् भनेर पढ्ने बच्चाले घरमा आमा बुबालाई भगवान नै मान्छ ? किताबी सिकाई र भोगाईको सिकाईमा आकाश पातालको फरक छ जस्तो लाग्छ ।
यो त भयो बच्चाको कुरा अब लागौं अभिभावक तर्फ । सरकारले १ दिन सार्वजनिक बिदा दिँदा बच्चा समाल्न नसकेर भोलि कहिले होला भन्ने सोच अधिकांश अभिभावकको हुन्छ । मानौं स्कुल बच्चाबच्ची थुन्ने खोर हो । अभिभावकको सोच हुन्छ यत्रो फि तिरेका छौं सबै त्यहि बिद्यालयले गर्नुपर्छ ।
यति भन्दा भन्दै मलाई दुईवटा घटनाको याद आयो । एउटा बिद्यालयमा अभिभावकको भेला बोलाएर वर्षे बिदा गर्ने कि नगर्ने विषयमा छलफल भएछ । सबै अभिभावक एकमत भएर पढाउनु पर्छ भन्नुभयो । किन त भन्दा बिदा भयो भने बच्चा घरमा बस्छन्, तिनिहरुले गर्दा हाम्रो काममा बाधा पुग्छ, समाल्न सकिन्न । पढाई महत्वपूर्ण हो भन्ने आवाज सायदै थियो होला । अब अभिभावकलाई मेरो प्रश्न त्यो बच्चा ठुलो भएर कामकाजमा लागेपछि तपाईंलाई समय दिन÷समाल्न मलाई गाह्रो भयो तपाइँ बृद्धआश्रम गएर बस्नुस् भन्दा तपाईं सरक्क खुसी हुँदै बृद्धआश्रम जाने कि नजाने ?
अब सुनौं अर्को घटना–जिबब भन्ने एउटा र्यापरले आफ्नो आमा बाबुसँग अलग हुन चाहेको कुरा गरे । जिबब गलत थिए कि सहि त्यो निर्णय अदालतले गरिसक्यो । तर त्यहि बिषयमा एक जना ३०–४० वर्षकि महिलाले भन्नुभयो,’के गर्या के बोल्या त्यसले, बाबुआमाले पढाउन÷बढाउन कति मिहिनेत गरेर कमाए होला । आखिर छोरो त्यस्तो निस्कियो सबै खर्च बेकार भयो ।’ सायद बाबुआमाले संस्कार दिन चुके कि, आफुले समय दिन नभ्याउँदा कुलतमा फस्यो कि जस्ता कुनै तर्क सुनियन । सुनियो त सम्पत्ति र पैसाका कुरा । अब मेरो प्रश्न चाहिः स्कुल पठाए बापत मासिक पैसा भर्न पर्छ त्यो स्वभाविक कुरा हो । खर्च त बृद्धआश्रममा पनि भर्न पर्छ क्यारे । अनि आफ्नो अभिभावकको महत्वनै बुझ्न नसकेको बच्चाले ठुलो भएपछि तपाई बृद्धआश्रम गएर बस्नुस् भन्दा अभिभावक खुसी खुसी बृद्धआश्रम जाने कि नजाने ?
बिद्यालय पछिको समयमा त हामी सँगै हुन्छौ भन्ने कतिको सोँच होला तर बिद्यालय पछिको समय भन्नाले ? बच्चा हो खेलकुद गर्नै पर्यो, जबरजस्ती खाए खा नखाए घिच भन्ने जसरी बिद्यालयले दिएको गृहकार्य गर्नै पर्यो । समय आखिर कतिबेला ?
बिदाको सहि सदुपयोग गर्दै आफ्ना बच्चाहरूलाई केहि नयाँ, केहि रचनात्मक कुरा सिकाऔं । उ र उस्का लागि अभिभावक र परिवारको कति महत्व छ बुँझाऔं । विद्यालयले दिने भनेको सैद्धान्तिक ज्ञान हो बिदाको समयमा उस्ले पाएको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा सिकाउने प्रयास गरौं । आफु र आफ्नो बच्चा बीचको दुरीलाई बढ्न नदिउँ । भरपुर समय दिउँ । यदि सकिदैन भने बुढेसकालमा बृद्धआश्रम पनि खुसी खुसी
जाऔं । बच्चा हुँदा हामीले बिद्यालय लखेट्यौ, अहिले उनिहरुले बृद्धआश्रम लखेटे भनेर चित्त बुझाऔं । भुल चुक माफ ।

Related posts

महिला आन्दोलनका आयाम

admin

न्याय सम्पादन, वकालत र अवहेलना

admin

ढलान गरेको घर

admin