23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

ढलान गरेको घर

छविदीप आले [email protected]

देशमा बेग्लै आँधीबेरी चलेको छ । मनमा बेग्लै । एकातिर लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ भने अर्कोतिर अमेरीकि सेनाको भ्रमणले देश तरङ्गित भएको छ । एकातिर न्यायको माग गर्दै एक अविवाहित आमा अनसनमा बसेकी छन् भने अर्कोतिर प्रेमि खोज्दै मन्त्रीहरु अरुको घर पसेका छन् । धरानतिर हर्क साम्पाङको चर्चा छ भने काठमाण्डौं तिर बालेन शाहको । राजनीतिक, सामाजिक प्राकृतिक रुपमा देशको भिन्न भिन्न ठाउँको मौसम भिन्दा भिन्दै छ । त्यसरी नै भिन्न छ, तीन करोड नेपाली जनताको मनको हाल । देशको वर्तमान अवस्था, राजनीतिको बारेमा सबैलाई चासो होला, तर कहि न कहि कतै न कतै मनमा एउटा छुट्टै खालको जिज्ञासा गडेर बसेकै हुन्छ हरेको मनमा । पंक्तिकार पनि त्यही बर्गको एउटा आमनेपाली नागरिक हो ।
अब आलेखलाई अगाडि बढाउन चाहन्छु, केही प्रश्नहरुबाट । मानिसको सभ्यता र सम्पन्नताको परिचायक के
हो ? मानिस वास्तवमै सभ्य र सम्पन्न हुनु आवश्यक हो कि सभ्य र सम्पन्न भएको देखाउनु आवश्यक हो ।
मेरो दोस्रो प्रश्नको उत्तर निसन्देह मानिस सभ्य र सम्पन्न हुनु आवश्यक छ, न कि देखाउन । तर मेरो पहिलो प्रश्नको उत्तर हो वा होइनमा दिनु सम्भव छैन । नत्र कुनै एउटा वाक्य वा शब्दमा नै । किनभने मानिसको सभ्यता र सम्पन्नताको परिचयसंग धेरै कुराहरु जोडिएर आएको हुन्छ । जस्तै उसको शैक्षिक स्तर, व्यक्तगत सामाजिक जीवन, आनीवानी, रहनसहन, खानपान, चालचलन आदि इत्यादी । यिनै कुराहरु संगै जोडिएर आउँछ, आवास अर्थात घर । कुटी, झुप्रो, छाप्रोदेखि दरबार, महल, बंगला यी सबै घरकै प्रकारहरु हुन् । मानिस कतिको सम्पन्न छ, कतिको सभ्य छ भन्ने कुराको केही न केही छनक पक्कै पनि घरले दिन्छ । तर घरको आकार प्रकार र बनावटकै आधारमा मात्रै मानिसको सभ्यता र सम्पन्नता मापन गर्नु कत्तिको जायज प्रबृत्ति हो ? आफू सभ्य र सम्पन्न छु भनेर देखाउन कै लागि मात्र पनि जे जस्तो गरेर भएपनि एउटा आधुनिक घर आमभाषामा भन्नु पर्दा, ढलान गरेको घर बनाउन आशक्त हुनु, कत्तिको तर्कसंगत कुरा हो ? मेरो जिज्ञासा र प्रश्न यही नेर हो ।
आवासकै सन्दर्भमा पंक्तिकारले यो भन्दा पनि पहिले पनि कलम चलाई सकेको छ । उक्त लेखमा मेरो आशय वैदेशिक रेमिट्यान्सबाट प्राप्त रकम आवास निर्माणमा मात्र खर्च हुँदा उत्पादन मूलक क्षेत्रमा लगानी हुन सकेन, रेमिट्यान्स कंक्रिटमा परिणत भयो । यसले दिर्घघकालिन रुपमा देशलाई फाईदा हुँदैन भन्ने थियो । आज पनि म आवासकै विषयमा लेख्ने जमर्को गरिरहेको छु । तर मेरो यो आलेखको आषय ठूला ठूला आधुनिक मोडेलको घर बनाएर देशलाई घाटा हुन्छ कि नाफा भनेर हिसाब किताब गर्नु होइन । तर आधुनिक घर, आमभाषामा ढलान गरिएको घरलाई नै मानिसको सभ्यता र सम्पन्नताको प्रतिक मान्ने एक खालको लहर जुन अहिलेको वर्तमान समाजमा चलिरहेको छ । त्यसप्रति आपत्ती भने जरुर हो ।
के ढलान गरिएको घरमा बस्ने मानिसहरु मात्र सम्पन्न मानिसहरु हुन् ? के उनिहरु मात्र समाजका सभ्य व्यक्तिहरु हुन् ? अझ गहिरिएर भन्दा के उनिहरु साँच्चिकै सभ्य पनि छन् त ? आफ्नो कमाईमा दुई छाक खाएर झुपडिमै सहि खुशी खुशी जीवनयापन गर्ने एउटा व्यक्ति, के ऊ असभ्य र विपन्न नै हो त ? के उसको सम्पन्नतालाई मापन गर्ने अरु सूचक नै छैन त ?
अथाहा सम्पत्ति भएको मान्छेले २,४ ढलान गरेको घर मात्र कि दरबार, महल जे बनाउँदा पनि भयो । यसले उनिहरुको दैनिकिमा केहि असर गर्दैन । तर उनिहरुकै सिको गर्दै मध्यम वर्गिय र निम्न मध्य वर्गिय परिवारहरुमा ढलान गरेको घरमा बस्ने मोह र इच्छा जुन रुपमा बढ्दै छ, यसले उनिहरुको दैनिकिमा भने पक्कै असर पु¥याएको छ । आफ्नो जीवनभरको कमाईले नपुगेर, ऋणको भारी खेप्दै, पुख्र्यौली सम्पत्ती बेच्दै घर बनाउनु, त्यो पनि किन खाली समाजमा अरुको अगाडि शिर नझुकोस्, आफूलाई समाजलाई सभ्य र सम्पन्न व्यक्तिको दर्जा दियोस् भन्नको लागि यो कुरा आफैमा उत्पादक छ कि प्रत्यूत्पादक, सहजै अनुमान गर्न सकिन्छ ।
मौलिकता र संस्कृति हामी नेपालीहरुको अमूल्य गहना हो । तर अहिले नेपाली समाजमा मौलाई रहेको ढलान गरेको घरमा बस्ने मोहले आवाससंग सम्बन्धित हाम्रो मौलिकता दिनानुदिन हराउँदै गएको छ । हामीलाई नेपाली बोल्दा पाखेको भएको आभाष गर्छौ, अंग्रेजी बोल्दा मोर्डन फिल गर्छौ, नेपाली लोकगीत गाउँन हामीलाई लाज लाग्छ, तर अंग्रेजी पप गीतमा विन्दास भएर झुमी रहेका हुन्छौं, परम्परागत नेपाली घरमा बस्नु आफ्नो सभ्यता माथिको दाग सम्झन्छौं हामी, ढलान गरेको छतमा उभिँदा हामी आफूलाई पश्चिमा भन्दा पनि आधुनिक सम्झन्छौं । अनि त्यही हामी यसो बेला मौकामा फूर्सद निकालेर नेपाली परम्परागत कला संस्कृतिमा रमाउन, नेपाली घरमा बस्न यसो होम स्टे तिर चाहार्छौ । यो कस्तो विरोधाभास पूर्ण मोह हो हाम्रो
आधुनिकताप्रति ? आफू चाँही सकि नसकी पुगि नपुगि आधुनिक बन्नु पर्ने । अनि बेला मौकामा रमाईलो गर्नको लागि संस्कृति र मौलिकता चाही अरुले जोगाईदिई राख्नु पर्ने ? आवासको कुरा गर्दै गर्दा आधुनिकता अपनाउनु हुँदै हुँन्न भन्ने कुरा होइन । तर आधुनिक शैली अपनाई रहँदा हाम्रो नेपाली मौलिकता नहाराओस भन्ने तर्फ पनि त सचेत रहनु पर्छ नि, होइन र ?
प्रायः मानिसहरु गफगाफ गर्दा भनेको सुन्ने गरेको छु, फलानाको छोराले त टन्नै प्रगति गरेछ, यति ढलानको घर बनाएछ, उति ढलानको घर बनाएछ । फलानो चाही के भा’को एउटा घर पनि उभ्याउन सकेको छैन । कुरा सुन्छु, सोच्दा अचम्म लाग्छ, के दुई चार ढलानको घर बनाउन सक्नु मात्रै मानिसको प्रगतिको सूचक हो
र ?
अलिक समय पहिले मेरै एकजना आफन्तले सल्लाह दिंदै हुनुहुन्थ्यो, अब झ्याप्प एउटा साढे दुई ढलान जतिको घर बनाउनु प¥यो के ? कति बस्नु पुरानो घरमा । सबैले बनाई सके । हामीलाई यो मेरो फलानोको घर हो भन्दा खुशी लागोस् न । उहाँले मलाई आवश्यकता विनै दिनु भएको सल्लाहले म अवाक भएँ ।
नयाँ घर बनाउनु मेरो आवश्यकता हो कि होइन । त्यति पूँजि मसंग छ कि छैन, केही सोध खोजै नगरी सल्लाह दिनु भो । अरुले नयाँ घर बनाए भन्दैमा मैले पनि बनाई हाल्नु पर्छ भन्ने छ र ? मेरो घर पुरानो सानो भएकै कारणले मसंग नाता साईनो लगाउन अप्ठ्यारो लाग्छ भने ठिकै छ, नलगाउँदा हुन्छ । मेरोमा नआउँदा हुन्छ भनौं भनौं पनि लागेको थियो । तर कुरा मन मै दवाए । यत्ति कुरा बुझे मेरा ती आफन्तको नजरमा पनि सम्पन्नता र सभ्याताको सूचक भनेको ढलान गरेको घर नै रहेछ ।
ढालन गरेको घरसंग जोडिएको, यस्तै दुईचारवटा व्यक्तिगत अनुभवहरु अरु पनि छन् । ती कुराको बहस खाली एउटै विन्दुमा पुगेर सकिएका छन् ः होइन जे भएनि एउटा ढलान गरेको घर त बनाउनु पर्दछ अहिलको जमानामा । घर कस्तो बनाउने, कत्रो बनाउने, किन बनाउने, आवश्यकता र उपयोगिता के कति हो ? यी प्रश्नहरु प्रायः छायाँमा पर्दछन् । जिकिर हुन्छ त खाली एउटै कुराको । एउटा ढलान गरेको घर त बनाउनु पर्दछ ।
आधुनिक शैलीको आवाज निर्माणप्रति खास मेरो विमती होइन । पुगिसरी आईसकेपछि बनाउँदा पनि हुन्छ तर दुई चार पैसा हुनेवित्तिकै घर बनाए पछि त सबै कुरा पुग्छ, घर बनाउनु भनेको नै सबै कुरा हो भन्ने सोंचेर ऋण काढी काढी अरुको अगाडि देखिन र देखाउन घर बनाउने प्रबृत्ति चाही गलत हो । आवास भनेको प्रथमतः आफ्नो आवश्यकता र सकिन्छ भने बल्ल इच्छा अनुसारको घर बनाउनु पर्दछ । अरुको अगाडि ठाँट देखाउन जिन्दगीभरि ऋणको भारी बोक्ने मेसो गर्नु चाही किमार्थ बुद्धिमता होइन ।
धन्न आजसम्म हाम्रो परिवारको सदस्यलाई चाही ढलान गरेको घरमा बस्ने रहर पलाएको छैन । भन्न सकिदैन, अरुलाई देखाउनकै लागि भएपनि ऋणको भारी बोक्ने मेसो कहिले जुर्ने हो ? के गर्नु जस्तो देश उस्तै भेष भन्छन् ।

Related posts

टुँडीखेलको सन्देश: सच्चिने कि सक्किने ?

admin

अस्तित्वको साझेदारी

admin

पराईको आश, संधैंको उपवास

admin