21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

के नेपालमा धर्म निरपेक्षता छ ?

छविदीप आले [email protected]

नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । कम्तिमा आजको मितिसम्म नेपालको प्रचलित संविधान र कानून अनुसार यो कुरामा सन्देह गर्नुपर्ने ठाउँ छैन । हिजो नेपालमा गणतान्त्रिक शासन व्यवस्था नआउँदासम्म जतिखेर हामी राजतन्त्रात्मक शासन व्यवस्थामा थियौं नेपाललाई हिन्दुराज्यको रुपमा चिनिन्थ्यो । विश्वको एक मात्र हिन्दु राज्यको रुपमा । आज अवस्था त्यो रहेन । गणतान्त्रिक शासन व्यवस्थाको अभ्यासको शुरुवातसँगै नेपालले विश्वको एकमात्र हिन्दु राज्यको चिनारी गुमायो र नेपाललाई धर्म निरपेक्ष मुलुकको रुपमा नयाँ पहिचान प्रदान गरियो । धर्म निरपेक्षता गण्तन्त्र प्राप्तिको लागि गरिएको आन्दोलनको हिस्सा थियो या थिएन ? गण्तान्त्रिक शासन व्यवस्थामा धर्म निरपेक्षता आवश्यक नै हो या होइन ? स्वयम् नेपालकै मात्र कुरा गर्ने हो भनेपनि धर्म निरपेक्षता आवश्यक थियो या थिएन ? धर्म निरपेक्षता स्वयम् नेपाली जनमनको माग हो या कुनै शक्ति समुहको स्वार्थ सिद्ध गर्ने माध्यम ? यी सबै बहस गर्न सकिने र बहस गर्न आवश्यक विषयहरु हुन् । तर आजको यो लेखमा यी प्रश्नहरु माथि भन्दा पनि धर्म निरपेक्षता र नेपालको सन्दर्भलाई लिएर अलिक फरक दृष्टिकोणबाट फरक सन्दर्भको बारेमा चर्चा गर्ने प्रयास गर्दैेछु ।
धर्म निरपेक्षता अर्थात् कुनै पनि धर्मको थिचोमिचो नभएको अवस्था । कुनै धर्म ठूलो कुनै धर्म सानो भन्ने भेदभाव नरहेको अवस्था । मानिसहरुले स्वइच्छाले आफुले चाहेको धर्म मान्न पाउने धार्मिक स्वतन्त्रता भएको अवस्था । त्यसो हो भने हिजो राजतन्त्र रहँदाको अवस्थामा नेपालमा धार्मिक स्वतन्त्रता थिएन र ? नेपाललाई हिन्दु राज्य भनेर चिनिए पनि अरु धार्मिक आस्था र समुदायहरु अस्तित्वमा थिएनन् र ? के हिन्दु धार्मिक आस्थाले अरु धार्मिक आस्थालाई थिचोमिचो गरेको अवस्था थियो र ? पक्कै थिएन । यो परिपेक्षमा के हामीलाई साच्चै नै धर्म निरपेक्षताको आवश्यकता थियो त ? वहस गर्नु जरुरी छ । धर्म निरपेक्षताको कुरा गर्दै गर्दा आदिवासी जनजातिहरुको प्रसँग सँगै जोडिएर आउँछ । हिन्दु धर्मले नेपालको आदिवासी जनजातीहरुको धर्म र संस्कृतिलाई मौलाउन र फस्टाउन नदिएको आरोप सँगै जोठिएर आउँछ । मलाई यहाँनेर प्रश्न गर्न मन लाग्छ । यदि नेपालको आन्तरीम संविधान २०७२ देखि नै मान्ने हो भने पनि ६ वर्ष भईसक्यो नेपाल धर्मनिरपेक्ष मुलुक भएको । यो समयअवधिमा आदिवासी जनतातीहरुको धमं र संस्कृति कति प्रतिशतका दरले फस्टायो त ? या झन् हराउँदै छ ? या अरु कुनै धर्म फस्टाएको अवस्था छ ? कुरा विचार गर्नुपर्ने खालको छ । धर्म निरपेक्षताको नाममा आफ्नो पहिचान गुमाएर कतै हामी अरुको शरणमा त गईरहेका छैनौं ? धर्म निरपेक्षताको वकालत गर्नेहरुले यो पनि बुझ्नु जरुरी छ ।
धर्म निरपेक्षतालाई सबैले आफ्नो स्वार्थ अनुकुल प्रयोग गरे । कसैले यसलाई राजनीति गर्ने एजेण्डाको रुपमा लिए कसैले यसलाई चुनाव जित्ने भ¥याङको रुपमा प्रयोग गरे । यहाँनेर चाहिँ म धर्म निरपेक्षताको वकालत गर्ने नेतृत्वहरुलाई एउटा प्रश्न गर्न चाहन्छु । के नेपालमा साँच्चै धर्म निरपेक्षता छ त ? तपाईहरु काइदासँग उत्तर दिन सक्नुहुन्छ नेपालको संविधानमै यो कुरा उल्लेख गरीएको छ । तर मैले यहाँ प्रश्न उठाएको संविधानको होइन व्यवहारिकताको हो । संविधानको कुरा गर्दा त नेपालको संविधान विश्वकै उत्कृष्ठ संविधानहरु मध्येको एक हो भनेर अन्तराष्ट्रिय समुदायले पनि भनिरहेकै हो । लेखिएको अक्षर तीनको भाव मात्र गहन भएर भएन व्यवहारिकताको अवस्था के छ भन्ने कुरा पनि मनन गर्नुपर्छ । अब कुरालाई धेरै नघुमाई मैले राख्न खोजेको धारणा स्पष्टसँग भनौं होला । पङ्तिकारको विचारमा संविधानका शब्दहरुमा जे जस्तो सुकै लेखिएको भएपनि नेपालमा धर्म निरपेक्षता छैन । आज पनि नेपाल हिन्दु राज्य नै हो ।
संविधानमै उल्लेख भएको कुरा पनि होइन भन्ने कस्तो खालको मान्छे रहेछ भन्ने पनि लाग्न सक्छ पाठक वर्गलाई जुन स्वभाविक हो तर मैले नेपालमा धर्मनिरपेक्षता छैन वा भनौ शब्दमा मात्र छ, नेपाल आज पनि हिन्दु राज्य नै हो भन्नुको पछाडि केहि कारणहरु छन् । जसको बारेमा अब छलफल गर्ने प्रयास गर्दैछु ।
वर्तमानकै एउटा घटनाको बारेमा छलफल गरौं । महाशिवरात्री पर्व आउँदैछ । हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र पशुपतीनाथ नेपालमै पर्छ । हिन्दुहरुको आराध्यदेव पशुपतिमा शिवरात्रीको दिन वर्षेनी ठूलो मेला लाग्छ । त्यसकारण पनि शिवरात्रीको आगमनसँगै पशुपतिको सिंगारपटार र चमकधमक बढ्नु नौलो कुरा
भएन । त्यसको लागि पशुपतिक्षेत्र विकास कोषले व्यवस्थापन गर्ने गर्छ । यस पटक त झन् स्वयम् पर्यटन मन्त्रीले नै पशुपतिको श्रृगारपटारको लागि निर्देशन दिनुभएछ र आफैंले अवलोकन पनि गर्नुभएछ । यसलाई धार्मिक सहिष्णुताको दृष्टिकोणाबाट हेर्ने हो भने धर्म निरपेक्षता भएको मुलुकमा कुनै एउटा धार्मिक समुदायको पर्व विशेषमा राज्यको ढुकुटिबाट रकम खर्चिनु कत्तिको जायज कुरा हो ? फेरी अर्को कुरा आउन सक्छ पशुपतिनाथ नेपाललाई चिनाउने कुराहरु मध्ये एक हो यदि यसो हो भने पशुपतिनाथले नेपाललाई चिनाउँछ भने हिन्दु राज्यको रुपमा नेपाललाई स्विकार्न हामीलाई कि अप्ठेरो । शिवरात्रीको लागि राज्यको ढुकुटिबाट खर्च गरिएझै बुद्ध जयन्तिमा लुम्बिनीमा खर्च गर्ने कि नगर्ने ? क्रिसमस, इदमा खर्च गर्ने कि नगर्ने । किरातको उभौली उधौलीमा कहाँ खर्च गर्ने के कसरी गर्ने ? प्रश्नै गर्ने हो भने त यसरी पनि गर्न सकिएला ।
अर्को एउटा उदाहरण हेरौं नेपालमा वार्षिक रुपमा हुने चाडबाडको सार्वजनिक बिदा मध्ये अधिकांश बिदाहरु हिन्द ुधर्मालम्बीहरुको चाडसँग सम्बन्धित छन् । दशैं र तिहारको त झन् कुरै गर्नु परेन । अनि हिन्दु धर्मसँग सम्बन्धित अधिकांश चाडमा सरकारले बिदा दिने अरुका बिचरा फाट्ट फुट्ट १, २ दिन मात्र । यस्तो दबदबा हुँदा हुँदै पनि नेपाल धर्म निरपेक्ष राष्ट्र हो भनेर अरु मख्ख परिरहने । नेपाललाई हिन्दु राज्यको रुपमा स्विकार्न नसक्ने । धर्म निरपेक्ष राष्ट्र हो भन्ने महोदयहरु के तपाईहरु सरकार दशैंमा १० दिन छुट्टि नदे अरु चाडमा जस्तै एक दिन भए पनि पुग्छ हामी काम गर्न तयार छौं भन्न सक्नुहुन्छ ? हिन्दु धर्मको आडमा राज्येले दिएको सुविधा चाहिँ लिने अनि धर्म निरपेक्षता धर्म निरपेक्षता भनेर हिड्नु त अलि दोहोरो चरित्र भएन र ?
नेपालमा कर्मचारी शिक्षक सबैलाई चाडबाड खर्च भनेर एक महिनाको तलब बराबरको रकम दशैं ताकाको तलब निकासा गर्दा दिइन्छ । एउटा मुस्लिमलाई, एउटा क्रिश्चियनलाई जो दशै नै मनाउँदैन उसलाई दशैंमा चाडबाड खर्च किन ? इदकै समयमा दिंदा हुन्छ । क्रिसमसकै बेलामा दिंदा हुन्छ । तर त्यति झ्याउ गर्न न सरकार तयार छ न विद्यालय प्रशासन । स्वयम् शिक्षक वा कर्मचारी पनि दशैंमा नै चाडवाड खर्च बुझ्न खुशी छन् तर पनि नेपाल हिन्दु राज्य भने होइन । धर्म निरपेक्ष राज्य नैहो ।
धर्म निरपेक्षताको वकालत गर्नेहरुले के बुझ्नु जरुरी छ भने के यो विषय वास्तवमै नेपाली जनताको चाहनाको विषय हो या बीचमा घुसाइएको हो ? नेपाल धर्म निरपेक्ष राज्य भएपछि आदिवासी जनजातीका कति चण्डी थान बने, कति देवी थान बने, कति मयर थान बने कि उल्टो घटेको छ ? कति चर्चका संख्या थपिए यतातिरको पनि लेखाजोखा गर्नु आवश्यक छ धर्म निरपेक्षताका वकालत गर्नेहरुले । हिजो गण्तन्त्रप्राप्तिको लागि आन्दोलन हुँदै गर्दा धर्म निरपेक्षता आन्दोलनको एजेण्डा र विषय नै थिएन ।
नेपाल हिन्दु राज्य भएकोमा न त नेपालको मुस्लिमहरुलाई आपत्ति थियो, न त बौद्ध धर्म मान्नेहरुलाई न त क्रिश्चियनलाई न त अन्य समुदायलाई नै । स्वयम् उत्पिडित भनिएका आदिवासीहरुमा पनि यसको खासै आपत्ति थिएन । अनि आफुले खोज्दै नखोजेको कुरा अरुले जबरजस्ती यो पनि तिम्रै प्राप्ति हो भनेसी खुरुखुरु स्वीकारर्ने हामी ।
वास्तवमा जुन उत्पिडित जाती र समुदाय विशेषको नाम जोडेर धर्म निरपेक्षताको कुरा गरिन्छ नि धर्म निरपेक्षताले तीनलाई खासै फरक पारेको छैन । स्वार्थ समुहलाई भने सजिलो भएको छ । हिन्दु धर्मको प्रभाव र अनुशरण हिजो जस्तो थियो आज पनि उस्तै छ । खाली संविधानबाट हिन्दु राज्य भन्ने शब्द हटेको मात्र हो । अतः मेरो व्यक्तिगत बुझाई चाहिँ के हो भने संविधानबाट हिन्दु राज्य हटाएर धर्म निरपेक्षता लेखिए पनि व्यवहारिक रुपमा आजको मितिसम्म नेपाल हिन्दुराज्य नै छ तर धर्म निरपेक्षताको आडमा । कुनै दिन धर्म निरपेक्ष भन्ने शब्द नै हटाएर अर्को नयाँ शब्दसहित ……… राज्य भनेर लेखिन बेर छैन त्यो कुराको चाहि बेला छँदै विचार पु¥याउनु बेस होला कि ?

Related posts

गणतन्त्रको डेढ दशक
आशा कम निराशा धेर

admin

सम्पत्तीको उपभोग सम्बन्धी व्यवस्था

admin

नयाँ सरकारसंगको अपेक्षा-सम्पादकीय

admin