22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

मानुङमा बतास

नारायणहिटी दरबार संग्राहलय परिसरमा अवैधानिक संरचना बनाएको भन्दै विवादमा आएको वतास अर्गनाईजेसन अन्तर्गतको व्यास हिल्सलाई तनहुँको पर्यटकिय थलो मानुङकोट ५० वर्षका लागि लिजमा दिने हल्लाले यतिबेला निकै चर्चा पाएको छ । पुष २२ को नगरपालिकाको वैठकले मानहुँकोट पर्यटन प्रवद्र्धनका लागि निजी साझेदारी ऐन अनुसार व्यास हिल्स प्रा.लि. बाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसंग आवश्यक परामर्श गरी सम्बन्धित प्रस्तावकलाई थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाई सम्झौताको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेसंगै बतासलाई मानहुँकोट लिजमा दिन लागिएको भन्ने हल्लामा बल मिल्यो । यद्यपि नगर प्रमुख बैकुण्ठ न्यौपनेले पर्याप्त छलफल नगरी लिजमा दिने निर्णय नगर्ने बताएका छन् ।
पोखरामा अवस्थित गण्डकी संग्राहलयको  अगाडिको भवन र जग्गा १० वर्षका लागि भाडामा लिएको बतासले सम्झौता अवधि सकिएको एक वर्ष भैसक्दा पनि भवन र जग्गा छोडेको छैन । पोखरामा अक्सिजन प्लान्ट ल्याउने भनेर सर्वसाधारणबाट समेत पैसा उठाएको उसले झण्डै डेढ वर्ष भैसक्दा समेत प्लान्ट जडान गरेको छैन । यतिमात्र होइन, पोखराको पृथ्वीचोक र दमौलीको कृषि सामग्री कम्पनी लिमिटेडको जग्गाको भाडामात्र ७३ लाख दिन बाँकी छ ।
जताततै विवादै विवादमा मुछिएको बतास समूहलाई मानुङ डाँडाको चालिस रोपनी जग्गा ५० वर्षका लागि लिजमा दिन लागिएको भन्ने कुराले तनहुँबासीमा चिन्ता उत्पन्न हुनु स्वाभाविक हो । माथिका उदाहरणहरुले बतास समूह सम्झौता अवधि सकिएर पनि जग्गा र संरचना नछोडने तथा भाडा नतिर्ने कुरामा अब्बल देखाएको छ । यस्तो अवस्थामा सोही समूहलाई जग्गा लिजमा दिनु कति उपयुक्त हुन्छ ? भनेर सोच्नु पर्ने हुन्छ । यसका साथै सामान्य नागरिकको दृष्टीबाट पनि के अस्वाभाविक हो भने पर्यटकिय दृष्टिले महत्वपूर्ण कुनै स्थान एक समूहलाई पाँच दशकका लागि भाडामा दिनु । कल्पना गरौं त अबको ५ दशक पछिको नेपाल । आन्तरिक पर्यटनको विकास हुँदै गएको बेला हुने मुनाफा स्थानीय सरकार र नागरिकले लिने कि एक व्यक्ति वा समूहले ? त्यस्ता कुराको ख्याल नगरी कसरी यति लामो समयका लागि लिनमा दिन सकिन्छ ? यो स्वाभाविक जनजिज्ञासा हो । मानुङमा पर्यटकलाई सितल प्रदान गर्ने बतास चल्न दिने हो, त्यसको दोहन गर्ने होइन । 

Related posts

महाभियोग निस्कृय र असंबैधानिक ? -सम्पादकीय

admin

मोजेइक

admin

पालना गर्ने निर्देशिका मात्रै बनाऊ

admin