Tanahun Awaj
विचार/दृष्टिकोण

के पहरै थर्किएला त ?

‘लहरो तान्दा पहरो थर्कन्छ’ नेपाली भाषामा प्रयोग हुने विभिन्न उखान टुक्काहरु मध्येको एउटा मिठो उखान टुक्का हो, जसको सिधा अर्थ हुन्छ– एउटा सानो लहरा तान्दा त्यससंगै जेलिएका अन्य लहरा पनि तानिएर सिंगो पहाड नै थर्कनु । व्यहारिक रुपमा यसलाई अर्थ लगाउने प्रयास गर्ने हो भने यसको अर्थ हुन्छ – एउटा सानो पदमा बसेको व्यक्तिलाई कुनै आरोपमा केरकार गर्दा पोल खुल्दै खुल्दै गएर ठूलठूला हस्तीहरुसम्म मुछिनु । कहिलेकाही हामी हाम्रो आँखाले सत्य जतिसम्म हो भनेर देख्छौं वा जे लाई सत्य देख्छौं, सत्य त्यतिसम्म वा त्यो मात्र नहुन सक्छ । खोतल्दै जानेहो भने पर्दा पछाडि जहाँ हाम्रा दृष्टि पुगेको हुँदैन, त्यहाँ अरु ठूलो रहस्य हुन्छ । अनि हामी त्यस्तो पो रहेछ, मैले त कहिल्यै पनि यस्तो होला भनेर सोचेकै थिइन भनेर अचम्ममा पर्नुको विकल्प हुँदैन । व्यवहारिक जिवनमा आईपर्ने यस्तै अवस्थामा अक्सर हामी प्रयोग गर्ने गर्छौ– लहरो तान्दा पहरो थर्कन्छ भन्ने उखानलाई । यो उखान नकारात्मक अवस्थामा मात्रै प्रयोग गर्नुपर्दछ भन्ने त होइन । तर परिणाम नकारात्मक रुपमा नसोंचेको पाउँदा यो उखानको प्रयोगको जति मिठास हुन्छ, सकारात्मक अवस्थामा त्यति मिठास आउँदैन । आजको आलेखमा यही उखान टुक्कासंग जोडघटाउ गर्दै नेपालमा ठ्याक्कै अहिले चलिरहेको एउटा तरंग पत्रकारिताको भाषामा भन्दा हट न्यूजको बारेमा केही चियो चर्चो गर्ने प्रयास गर्दैछु ।
प्रसंग हो नारायहिटी दरबार संग्रालयभित्र बन्दै गरेको र हाल रोक लगाएर भौतिक संरचना भत्काउन शुरु गरिएको रेष्टुरेण्टको । नाराणहिटी दरबार संग्रालय नेपालको एक अतिनै महत्वपूर्ण ऐतिहासिक धरोहर हो । नेपालको शासन इतिहासमा झण्डै साढे दुई शताब्दी राज गरेको शाहबंशीय राजाहरु मध्ये अन्तिम राजा ज्ञानेन्द्र शाहले राजकाज चलाउनका लागि प्रयोग गरेको दरबार हो– नारायणहिटी । नेपाली शाहबंसिय राजाहरु मध्ये पछिल्लो पुस्ताको राजाहरुको जिवनशैली, शानशौकत र विलाशिता, राजकाज र शासकीय स्वरुपको झल्को दिने अन्तिम निशानी हो नारायणहिटी । राज्य गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश नगर्दासम्मको नेपाली जनताको आस्था र भरोसाको केन्द्र हो नारायणहिटी । नारायणहिटी केबल राजा बस्ने घर थिएन, अहिलेको सिंह दरबारभन्दा दशौंगुणा ज्यादा थियो–नारायणहिटी । ऐतिहासिक महत्वको दृष्टिले हेर्ने हो भने यस्तै धेरै विशेषण लगाएर नारायणहिटीको व्याख्या गर्न सकिन्छ । त्यस कारण पनि यो धरोहर आफैमा अतुलनीय छ । यो कुरा सत्य हो कि नेपालमा राजतन्त्र रहँदासम्म नारायणहिर्टीले राजदरबारको पगरी नगुमाउँदासम्म आमप्रजाको लागि नारायणहिटी एउटा कल्पानाको महल मात्र थियो । राजदरबारका सदस्यहरु, आफन्तहरु, दरबारीयाहरु, मन्त्रीहरु, त्यहाँ तैनाथ सुरक्षाकर्मिहरु र विदेशी राष्ट्रप्रमुखहरुले मात्र नारायणहिटी भित्र के छ, वा भनौं भित्रबाट नारायणहिटी कस्तो छ, भनेर महसुस गर्न पाउँथे । अन्य साधारण मानिसको लागि त राजा बस्ने घर भनेपछि कस्तो हुन्छ होला है, भनेर कौतुहलतामा डुब्नु बाहेक अर्को विकल्प थिएन । हुन त आज मानिसले राजा बस्ने गोरखाको दरबार नदेखेको होइन । ऐतिहासिक दृष्टिकोणले गोरखाको दरबार पनि आफैमा अद्वितिय छ । तर गोरखाको राजदरबार र नारायणहिटीको राजदरबारको तुलना गर्नै मिल्दैन । राजा बस्ने घर कस्तो हुन्छ, होला भन्ने आममानिसको कौतुहलताले गणतान्त्रिक शासन व्यवस्थाले मेटाई दिएको छ । निश्चित रकम तिरेपछि राजाको घर मात्रै होइन, राजा सुत्ने खाट, खाने थाल चम्जादेखि लिएर धेरै कुराहरु हेर्न पाईन्छ अहिले । अर्थात नारायणहिटीमा आममानिस पनि प्रवेश पाउँछन् । त्यही आममानिसको स्वरुपमा अहिले नारायणहिटी भित्र बतास छिरेको छ । जसको सर्वत्र चर्चा भैरहेको छ ।
ऐतिहासिक महत्वको धरोहरलाई यथास्थितिमा संरक्षण गरेर राख्नु पर्दछ वा परिमार्जन गर्न सकिन्छ ? यो बहसको लागि अर्को विषय हुन सक्दछ । यस आलेखमा उठान उठान गर्न खोजिएको विषय चाही नारायणहिटी भित्र बतास छि¥यो कसरी भन्ने हो । यो आलेखले म आफैले उठान गरेको विषयको उत्तर पनि दिंदैन किनभने यो लेख आफैमा स्वयम् पंक्तिकारकै जिज्ञासाको पोको हो ।
बतास समूह नेपालको गर्ने चुनिएका व्यापारिक समूह मध्ये एक हो । विभिन्न क्षेत्रमा लगानि गरेर यो समूहले व्यापारको दुनियामा आफ्नो छुट्टै साम्राज्य खडा गरेको छ । समूहका अध्यक्ष आनन्दराज बतासका अन्तरवार्ताहरु सुन्ने र उनको बारेमा अध्ययन गर्दै जाने हो भने आजको स्थानसम्म आईपुग्न उनले निकैनै मिहनेत गरेको देखिन्छ । हुुन पनि अरुको पसलमा काम गर्ने एउटा सामान्य कामदारको छोरो बतास गुरुप अब इन्डस्ट्रीजको मालिकको हैसियतसम्म आउन कुनै चानचुने कुरा होइन । तर के उनको यो मेहनत र लगनमात्रै बतास समूह नारायणहिटीभित्र छिर्नका लागि प्रयाप्त थियो त ? वा उनले कसैको आर्शिवाद पाए छ । फेरी आफूले कमाएको सम्पत्तिको अलिकति छिटा पैसा भनेपछि ¥याल काढेर भुतुक्कै हुने हाम्रा नेताहरु, मन्त्रीहरु र उच्च अधिकारीहरुलाई बर्षाइदिए । कसरी छि¥यो त बतास समूह, यति सजिलै नारायणहिटी भित्र ? सबैभन्दा ठूलो रहस्य र जिज्ञासा यही हो । बतास समूहको अध्यक्ष आनन्दराज बतासको भाषामा भन्दा उनि कानुनी प्रक्रियामै नारायणहिटी छिरेका हुन् । दरबार संग्राहलयले जारी गरेको टेण्डर र प्रक्रियाबाटै उनि रेण्टुरेण्ट सञ्चालकको लागि नारायणहिटी छिरेका हुन । उनकै शब्दमा भन्नु पर्दा पहिलो टेण्डरमा कोही आएनन् । दोस्रो पटक म र अर्को एक कम्पनी मात्रै भयौं । दुईवटा मात्र कम्पनीको टेण्डर पर्दा सेटिङ्गको शंका हुन्छ भनेर मैले नै आफ्नो लगानी रहेको अरु कम्पनीलाई पनि टेण्डर हाल्न भनेको हुँ र प्रक्रियागत रुपमा म छानिएको हुँ । यहाँनेर मैले नबुझेको कुरा चाही सेटिङ्गको शंका हुन्छ भन्ने डर बतास समूहलाई मात्रै किन ? एकातिर एउटा अलग समूहको लगानी रहेको कम्पनी अर्कोतिर कम्पनी फरक फरक तर लगानी बतासकै, चिनजान बतासकै । यस्तो त्यो टेण्डर प्रक्रिया निष्पक्ष भयो भनेर विश्वास गर्ने आधार के ? अर्को कुरा नारायणहिटी जस्तो ठाउँको जग्गा त्यति सस्तो भाडामा कसरी ? जति भाडा तिर्ने सम्झौता गरेर बतास समूह नारायणहिटी छि¥यो, त्यतिमा त अहिले काठमाण्डौमा एउटा सटर भाडा पाउन पनि मुस्किल छ । अनि फेरी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्रजति सबै बतासकै पोल्टामा मात्रै किन ? चाहे त्यो पशुपतिको धर्मशाला होस्, या पोखराको प्रादेशिक संग्राहलय, सबै ठाउँमा बतास कसरी छिर्दैछ ? त्यो पनि हरेक ठाउँ कौडीको भाऊमा । उच्च अधिकारीहरुको मिलेमतो र नेता मन्त्रीको आर्सिवाद विना त हमेसा यस्तो नहुनुपर्ने । हैनभने के आपत आईलाग्यो त नि दरबार संग्राहलयलाई । कौडीको भाऊमा जग्गा भाडामा दिन ! मासिक त्यो भन्दा पनि धेरै त टिकट बाटै आउथ्यो । अझ रोचक कुरा के छ भने तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराई, आफूलाई सम्झौताको बारेमा केही थाहा नभएको टिप्पणी दिईरहेका छन् । यस्तो नाटक पनि हुन्छ त कही ? नारायणहिटी संग्राहलय भित्रै कुनै निजी कम्पनीले कौडीको भाऊ तिरेर रेष्टुरण्ट खोलेको कुरा त्यो पनि टेण्डर प्रक्रियाबाट । पर्यटन मन्त्रीलाई थाहा छैन रे । यस्को जवाफ योगेश भट्टराईले मात्र होइन, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिनु पर्दछ । हुन त ओली बा को गफै मिठो छ । म देश विकास गर्न हिडेको मान्छे । कस्ले होटल खोल्यो, कस्ले पसल चलायो, याद गरी बस्छु ? भन्न पनि के बेर । उखान सुनाउँदै जनता भुलाउने केपी बालाई राजनीतिक खिचातानीको गर्मिले औडाहा भएको बेलामा चिसो बतासे राहत दिएको पो थियो कि ? तत्कालिन मात्र किन वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसको बारेमा बोल्न सक्नु पर्दछ । बतास समूहको सल्लाहकारमा त देउवा पत्नि आरजु पनि हुनुहुन्छ क्यारे । उनै आरजु राणा जस्को काठमाण्डौको विद्यालयको एकजनाको मासिक शुल्क कैयौं नेपालीको बार्षिक आम्दानी भन्दा ज्यादा छ । उनै आरजु राणा जसको श्रीमान तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा म जनताको लागि काम गर्ने मान्छे हूँ, देशबाट गरिबी हटाउँछु क्या भनेको, विश्वास गर्दिन प¥यो नि भनिरहनु हुन्छ ।
नारायणहिटीभित्र छिरको बतास तत्कालको लागि रोकिएको छ । पर्यटनमन्त्री प्रेम आले तत्कालको लागि थप भौतिक संरचना निर्माण रोक्ने मात्र होइन, बनेको संरचना समेत भत्काउन लगाएर बर्तमानमा प्रसंसाको पात्र बनिरहेका छन् भने बतास समूह कानुनी प्रक्रियामा अगाडि बढ्ने बताई रहेको छ । पर्यटन मन्त्रीले यो कदम चाल्दै गर्दा के कुरा चाही विचार गर्नै पर्दछ भने हाम्रो विगत अर्कै छ । विगतमा फर्केर हेर्ने हो भने कति ठूला केसहरु या त त्यसै सेलाएका छन् । या त साना माछा बनेका छन् । निर्मला हत्या काण्ड, ३३ किलो सुन काण्ड, ह्वाइट बडी काण्ड, सत्तरी करोड काण्ड, यति र ओम्नीका कुरा यसैक उदाहरण हुन् । सरकारी जग्गामा हस्तक्षेप भएको यहाँ मात्र होइन, अन्त पनि धेरै छ । सम्बन्धित निकाय मन्त्रालयले नजर पु¥याएर कारवाही थाल्नु प¥यो । अहिलेलाई नारायणहिटीको कुरा कुन तहको गर्मिसम्म पुग्छ भन्ने कुरा हो । कतै मन्त्री आलेपनि बतासको चिसोले सेलाउने पो हुन् कि ? खैर पंक्तिकार चाही यति कुरा जान्न आतुर छ कि मन्त्रीले तानेको बतास नामको लहराले पहरा थर्काउँछ या बतास आँधिवेहरी बनेर मन्त्रीलाई नै उडाई दिन्छ । हेर्दै जाउँ न, जय पशुपतिनाथ ।

Related posts

वन्यजन्तु र मानव सम्बन्ध

Deepak Joshi

माध्यम भाषाका सेतु भानुभक्त

Deepak Joshi

प्रेरणा–पुस्तक
ः अन्तर्दृष्टि

admin